विकासन्युज

भारत जाने नेपालीलाई भिसा अनिवार्य !

काठमाडौं । तेश्रो मुलुकबाट भारतीय विमानस्थलहरुमा अवतरण गर्ने नेपालीहरुलाई भारतले भिसा अनिवार्य गरेको छ । भारतीय गृहमन्त्रालयको पछिल्लो निर्णय भन्दै भारतीय अध्यागमन विभागले तेश्रो मुलुकहरुबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेको हो । अब चीन, मकाउ, हङकङ, माल्दिभ्स र पाकिस्तनबाट भारतका बिभिन्न विमानस्थलहरुमा ओर्लने नेपालीहरुले भारतीय भिसा बोक्नुपर्नेछ । नेपाल र भारतबिच एक अर्को मुलुकका नागरिकले आफ्नो पासपोर्ट बोकेको अवस्थामा तेश्रो मुलुकबाट आउन/जान पाउने व्यवस्था गरेका थिए । भारतीय अध्यागमन विभागले सन २०१८ अप्रिल १७ तारिखका दिन भारत आउने सबै विमान कम्पनीहरुलाई भारतीय भिसा नभएका नेपाली र भुटानीहरुलाई नबोक्न पत्राचार गरेको हो । अध्यागमन विभागका कानुन अधिकृत रामचन्द्र काफ्लेले तेश्रो मुलुकबाट भारत ओर्लने नेपालीहरुलाई भारतीय भिसा अनिवार्य गरिएको स्विकार गरे । ‘तेश्रो मुलुकबाट भारत ओर्लने नेपाली नागरिकहरुलाई भिसा अनिवार्य गरिएको अनौपचारिक खबर आएको छ, हामी पुष्टि गर्ने प्रयासमा छौं’, अध्यागमन विभागका कानुन अधिकृत काफ्लेले विकासन्युजसँग भने । भारतीय अध्यागमन विभागले ईण्डियन एयरलाइन्सलाई पत्र लेखेर नेपाली र भुटानी नागरिकहरुलाई भारतीय भिसा बिना नबोक्न निर्देशन दिएको पत्र प्राप्त भएको छ । अध्यागमनले भारतमा अन्तराष्ट्रिय उडान भर्ने सबै विमान कम्पनीहरुलाई भिसा बिना भारत आउन खोज्ने नेपाली र भुटानीहरुलाई नबोक्न भनिसकेको छ । नेपालको अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले पनि तेश्रो मुलुकबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरिएको खबर आएको तर पुष्टि गर्ने प्रयास भैरहेको बताए ।

नेपाल फाइनान्स समस्याग्रस्तबाट मुक्त हुदै, संस्थापक सेयरधनीले अग्रिम रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) समस्याग्रस्त अवस्थाबाट मुक्त हुने भएको छ । समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्न फाइनान्सका संस्थापक सेयरधनीले १२५ प्रतिशत बराबरको हकप्रद सेयरवापतको रकम अग्रिम जम्मा (कल इन एडभान्स) गर्नुपर्ने भएको छ । फाइनान्सले आउदो ७ दिनभित्र सो रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैैंकले आवश्यक पुँजी पर्याप्तता अनुपात पुरा गरेर फुकुवाका लागि निवेदन पेश गर्न निर्देशन दिएपछि फाइनान्सले संस्थापकबाट हकप्रद सेयरवापत अग्रिम पुँजी जम्मा गर्न लागेको हो । राष्ट्र बैंकले पुँजी पर्याप्तता पुरयाएर निवेदन दिन भनेपछि तत्कालका लागि अग्रिम रुपमा हकप्रद सेयर वापतको रकम मागेको फाइनान्सले जानकारी दिएको छ । फाइनान्सको गत फागुनमा २९ गते बसेको विशेष साधारणसभाले पुँजीवृद्धि गरी १२५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । मंगलबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले समस्याग्रस्त मुक्त हुन सेयरधनीबाट हकप्रदबाट थप रकम माग गर्ने निर्णय गरेपछि १ साताभित्र रकम जम्मा गर्न भनिएको हो । हकप्रद सेयर जारी गर्न समय लाग्ने भएपछि फाइनान्सले तत्काल समस्याग्रस्तबाट पुृmकुवा हुन र पछि हकप्रदको हिसावमा समायोजन हुने गरी अग्रिम रकम जम्मा गर्न मागेको जानकारी दिएको छ । संस्थागत सुशासन कमजोर भई संकट आएपछि राष्ट्र बैंकले २०७१ मंसिर १७ गतेदेखि फाइनान्सलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालनलगायत अन्य वित्तीय कारोबार गर्न प्रतिवन्ध लगाएको थियो । राष्ट्र बैंकले त्यसबेला फाइनान्सलाई ६ महिनामा सुध्रिने मौका दिदा पनि संस्था सुधारमा नआएपछि समस्याग्रस्त घोषणा गरेको हो । सो प्रतिवन्ध हालसम्म कायम छ । त्यसबेला फाइनान्सको खराब कर्जा ५४ प्रतिशत पुगेको थियो । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वित्तीय संस्थालाई राम्रो मानिन्दैन । कम खराब कर्जा भएको संस्थालाई मात्रै राम्रो मानिन्छ । केन्द्रीय बैंकले फाइनान्सलाई ६ महिनाभित्र खराब कर्जा ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । फाइनान्सको चुक्तापूँजी १३ करोड ५८ लाख रुपैयाँ छ । फाइनान्सले निक्षेप संकलन गर्न कर्जा प्रवाह गर्न प्रतिवन्ध लाग्दै आएको छ । निक्षेपकर्तालाई दुई लाख रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था छ । स्थिर सम्पति खरीद तथा बिक्री, शाखा विस्तार र नयाँ कर्मचारी भर्ना गर्न पनि रोक लगाइएको छ । फाइनान्सका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रविन्द्रमान प्रधान र उनको परिवारसंग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा कम्पनीको ३६ प्रतिशतभन्दा बढी स्वामित्व छ । प्रधान लामो समयसम्म फाइनान्सको सीईओ भएका थिए । एउटै ग्राहक, र्फम तथा कम्पनीलाई राष्ट्र बैंकको निर्देशन विपरित प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा वढी लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

बीमा समितिको प्रस्तावः सबै खाले बीमा सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी चाहियो

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । बीमा समितिले सबै खाले बीमाहरु सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी पाउनुपर्ने बताएको छ । हालसम्म समितिले जीवन, निर्जिवन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको मात्रै नियमन गर्दै आएको छ । यतिबेला समितिको नियमन दायरा भन्दा बाहिरैबाट सरकारले स्वास्थ्य बीमा, सहकारी कम्पनीहरु, कर्जा तथा निक्षेप सुरक्षण निगम, लघु वित्त कम्पनी, सहकारी र कर्मचारी सञ्चय कोषले बीमा सेवा सञ्चालन गरिरहेका छन् । समितिले नयाँ बजेटमा सुझाव दिँदै सबै खाले बीमा सेवा प्रदायकहरुको नियमन गर्ने अख्तियारी मागेको हो । ‘सहकारीले आफ्नो बीमा गर्ने, माइक्रोफाइनान्सहरुले आफ्नो बीमा गर्ने, कर्र्जा तथा निक्षेप सुरक्षण निगमले पनि आफ्नो बीमा आफैं गर्ने, स्वास्थ्य बीमा नेपाल सरकारले चलाउने ? त्यसकारण बजेटमा यी सबै चिजहरुलाई एकत्रित गरेर एउटै छानाभित्रबाट सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ ।’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपालले भने । उनले सहकारी, लघुवित्त, कर्जा तथा निक्षेप सुरक्षण निगम, कर्मचारी सञ्चय कोष लगायतले बीमा सेवा उपलब्ध गराईरहेकोमा घुमाउरो शैलीले असन्तुष्ठि पनि पोखे । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा समितिका अध्यक्ष चापागाईँले बिभिन्न निकायले आ आफ्नै बीमा सञ्चालन गर्नु उपयुक्त नहुने धारणा राखेका हुन् । उनले सबै खाले बीमा सेवा प्रदायकहरुलाई एउटै छाताभित्र राखेर नियमन गर्नुपर्नेमा जोड दिए । यस अघि पनि बीमा समितिले बीमा कम्पनीबाट मात्रै बीमा सेवा प्रदान गर्नुपर्ने अडान राख्दै आएको थियो । समितिले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि वेदर इन्डेक्स बीमा सुरु गरेको पनि उनले जानकारी गराएका थिए । आवश्यक मात्रा भन्दा कम वा बढि पानी पर्ने वा असिनाले बालीनालीमा उत्पादन नभएमा क्षतिपुर्ति दिने गरि वेदर इन्डेक्स इन्स्योरेन्स सुरु गरेको उनले जानकारी दिए । ‘जोमसोममा ४० मिलिलिटर भन्दा कम पानी परेर स्याउ नफलेमा इन्स्योरेन्सले क्षतिपुर्ति दिने गरि बीमा कार्यक्रम सुरु गरेका छौं, अब यसलाई विस्तार गर्दै जान्छौं’, अध्यक्ष चापागाईँले भने ।

प्राइम लाइफको २ लाख ७१ हजार कित्ता हकप्रद पुनः लिलामीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिन लागिएको छ ।  कम्पनीलको २ लाख ७१ हजार ९७८ कित्ता साधारण हकप्रद सेयर बिक्रीका लागि जेठ २ गतेदेखि बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ ९ गते तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । प्राइमले चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।

पटकपटक लिलामी गर्दा पनि किन बिक्री भएन सिभिल बैंकको संस्थापक हकप्रद सेयर ? फेरी २९ लाख ९२ हजार कित्ता बिक्रीमा

काठमाडौं । पटकपटक खुला गर्दा पनि सिभिल बैंकका संस्थापक हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गरिएको छ । बैंकको आवेदन नपरेका २९ लाख ९२ हजार २१० कित्ता संस्थापक हकप्रद सेयर पुनः लिलामी गर्न लागिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जेठ २ गतेदेखि बिक्री खुलाइ जेठ ९ गते बैंकिङ समयसम्म हकप्रद खरिदका लागि अन्तिम दिन तोकेको छ । अंकित मूल्य १०० रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन मंसिर २२ देखि माघ १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको मध्ये संस्थापक समूहकको ३१ लाख २१ हजार ६०० कित्तालाई नपरेपछि पुनः लिलामी गर्न लागेको हो । गत चैत १४ गते बिक्री खुलाएको थियो । त्यसमा पनि आवेदन नपरेपछि पुनः लिलामी गर्न लागेको बिक्री प्रवन्धक लक्ष्मीले जनाएको छ । पहिलो पटक बिक्री खुला गर्दा पर्याप्त आवेदन नपरेपछि बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । मंगलबार बैंकको साधारण सेयर प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ ।

सकियो बजाज आरइ महा टेष्ट ड्राइभ मेला

काठमाडौं । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ नेपाली बजारमा बिक्री गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारी धनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यको साथ बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरइ महा टेष्ट ड्राइभ मेला सम्पन्न गरिएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको कम्पनीको भनाइ छ । टेस्ट ड्राइभमा स्थानीय डिलरहरु समेत समावेश भएको बताइएको छ । ड्राइभमा केन्द्रियदेखि स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए । कम्पनीकोअनुसार कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे । बजाज आरइ बुकिंग भएको थियो । विभिन्न लक्किड्रहरु मेला अवधिमा  गरिएको थियो ।

बहुप्रतिक्षित एसयूभी रेनो क्याप्चर भित्रिदै, प्रि–बुकिङ खुला

काठमाडौं । एड्भान्स अटोमोवाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपाल भर प्रि–बुकिङ खुल्ला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचरसहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कम्पनीको दावी छ । कम्पनीकोअनुसार आर्कष डिजाइनसहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइनसहितको एसयूभी रेनोको ग्लोबल डिजाइन हो । जो दोहोरो कलरमा उपलब्ध हुने जनाइएको छ । सो प्रिमियम एसयूभी प्रिमियम फिचरसहित आउन लागेको हो । विशेषता रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाइट लगाइएको छ । अन्य फिचरर्सहरुमा पुर्ण अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, किलेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट रहेका छन् । कम्पनीले रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने बताएको छ । ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचरसहित ल्याइने जनाएको छ । कम्पनीकोअनुसार सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल जडान गरिएको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।

बनेपामा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले गरेका हुन् । पाण्डेले कम्पनीले हालसम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिएका छन् । कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा बजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका छन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै, कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।