विकासन्युज

भारतीय प्रधानमन्त्रीको भ्रमणमा २० मिनेटसम्म सवारी रोकिने, हेरौँ कहाँ कहाँ ?

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म सवारी रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिए । “मोदी हिँड्ने बाटोमा १० मिनेट र विपरित बाटोमा २० मिनेटसम्म सवारी रोकिनेछ, कम भन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ,”-उनले भने । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन । दिउँसो १.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन् । दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एरपोर्ट, बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन् । दिउँसो ४.३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् । शनिबार मुक्तिनाथ जान लागेका मोदी बिहान ६ बजे चाबहिल गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ । शनिबार दिउँसो नागरिक अभिनन्दमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा बानेश्वर तीनकुने हुँदै सिनामंगलको सवारी आगमन केहि बेरका लागि प्रभावित हुने महाशाखाले जनाएको छ । रासस

टेकु-कालीमाटी जोड्ने बिष्णुमतिमा नेवारी संस्कृति झल्कने सिग्नेचर पुलः साँझ/बिहान धार्मिक धुन बज्ने

काठमाडौं । काठमाडौंको व्यस्त सडक टेकु र कालीमाटी जोड्ने बिष्णुमतिमा सिग्नेचर पुल बन्ने भएको छ । सडक विभागले टेकु–कालीमाटीमा पर्यटकिय दृष्टिकोणले आकर्षक २ लेनको सिग्नेचर पुल निर्माण गर्न लागेको हो । ‘काठमाडौंको मौलिकता झल्कने गरि सिग्नेचर पुलको डिजाइन भैरहेको छ, टेकु र कालीमाटीको इतिहास समेटिएको सिग्नेचर पुल निर्माण हुनेछ’, सडक विभागको पुल महाशाखका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले विकासन्युजसँग भने । टेकु र कालिमाटी जोड्ने मोटरेबल पुलकै नजिक सिग्नेचर पुलको निर्माण गर्न लागिएको हो । सो पुलको डिजाइन तयार भैइरहेको छ । सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् । सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण हुनेछन् । ‘पुलहरु पर्यटकिय आकर्षणका हुनेछन्, पुलहरु गाडी गुडाउन मात्रै होइन, रम्न, रमाउन पनि उपयोग हुन्छन भन्ने सन्देश दिन सिग्नेचर पुल बनाउन लागिएको हो’, शाक्यले भने । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ ।

साउन १ गतेदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स वितरण

काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने भएको छ । विभागले संघीय संरचना अनुसार मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गर्न लागेको हो । साविकको १४ अञ्चल कार्यालयमा रहेका कार्यालयहरुलाई व्यवस्थापन गरेर विभागल लाइसेन्स वितरण गर्न लागेको हो । अब प्रदेश ढाँचामा अधिकार सम्पन्न कार्यालयको निर्माण हुने विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘लाइसेन्स वितरणलाई देशैभरी सहज बनाउन विभागले प्रयास गरिरहेको छ, प्रदेश संरचनामा रहने कार्यालयहरुले लाइसेन्स छाप्ने देखि सबै काम विकेन्द्रीकरण आगामी अर्थिक वर्षबाट सुरु हनेछ,’ निर्देशक अर्यालले विमनसन्युजसँग भने । स्मार्ट लाइसेन्स सुरु गरेपछि विभाले छरितो रुपमा लाइसेन्सको वितरण गर्न सकेको छैन । लाइसेन्स परिक्षा पास गरेको ११ महिनासम्म लाइसेन्स नपाउँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् । हाल विभागले स्मार्ट लाइसेन्सको विवरण भर्न ५ वटा मसिनको प्रयोग गरिरहेको छ । ५ मसिनबाट दैनिक १५ सय लाइसेन्सको विवरण भरिरहेको छ । तर देशको दैनिक माग भने ५ हजार भन्दा बढी भैसेको छ । आगामी दुई महिनाभित्र ४ नयाँ मसिन ल्याएपछि दैनिक २५ सय लाइसेन्स छाप्ने विभागले तयारी गरेको छ । लाइसेन्स छाप्न मात्र ढिला हुने गरेको विभागका कानून अधिकृत दिपक घिमिरेले बताए । लाइसेन्स छापिने ५ लाख कार्ड भने आइसकेको घिमिरेले जानकारी दिए । संघिय संरचना अनुसार प्रदेशका यातायात कार्यालयले लाइसेन्स छापिने स्मार्ट कार्ड देखि छाप्ने मेसिनसम्म सबै पुर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसको सबै व्यवस्था प्रदेश सरकारमा निहित हुने कानून अधिकृत घिमिरेले बताए ।

मोदी जनकपुरमा, ईश्वर पोखरेलले गरे स्वागत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आईपुगेका छन् । मोदीलाई जनकपुर विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । मोदी विमानस्थलबाट सिधै जानकी मन्दिर प्रस्थान गरेका छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । मोदी र ओलीले जानकी मन्दिरमा संयुक्तरुपमा पुजा गर्नेछन् । त्यसपछि जनकपुर उप महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेर मोदी काठमाडौं आउनेछन् ।

रोल्पाको सडकमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ । मेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा शहीद मार्ग सडक कार्यालय समेतको पहलमा नेपाली सेनाले सो सडकखण्ड निर्माण कार्य आरम्भ गरेको हो । खड्गदल गण, रोल्पाका एक पल्टन सैनिकले गत वैशाख १६ गतेदेखि सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ । “सडक निर्माण सम्पन्न गर्न अझै करीब एक हप्ता लाग्छ”, खड्गदल गणका सहायक गणपति धर्म बोगटीले बताए । नेपाली सेनाको सहयोगमा सडक फराकिलो भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाको ठूलो जोखिम मोल्दै आएका उनीहरु अब भने ढुक्कका साथ सवारीसाधनको आवतजावत हुनेमा विश्वस्त रहेका छन् । नेपाली सेनाले रोल्पाली जनताको मागका आधारमा जिल्लामा यसपूर्व धेरै काम गरिसकेको छ । निर्माण आरम्भ भएको २५ वर्षसम्म पनि सम्पन्न हुन नसकेको शिरक्याङमा रहेको कडा चट्टान फोरेर केही महिनाअघि मात्रै सुलिचौर—थवाङ यातायात सञ्चालनमा समेत नेपाली सेनाले सहयोग गरेको थियो । यसैगरी, अन्य सडकखण्डमा रहेका चट्टान फोर्ने, विद्यालय भवन, शौचालय आदि निर्माण गर्ने लगायतका काममा समेत नेपाली सेनाले सहयोग गरेको बताइएको छ ।

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता, ७ लाखमा नवीकरण

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ ।सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरेका छन् । मञ्चले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ । सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ । सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए । यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङकबो लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ । यसवर्षको अवार्ड आगामी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ । विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।  

इलाम, सिरहा र बर्दियामा मेगा बैंकको तीन शाखा, थप ११ वटा खोल्ने तयारी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । यो सँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ । मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’ नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।