विकासन्युज

प्रभु इन्स्योरेन्स र सिनर्जी फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । प्रभु इन्स्योरेन्स लि. र सिनर्जी फाइनान्स लि.ले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले यी दुई कम्पनीलाई कुल ४३ करोड ५२ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार प्रभु इन्स्योरेन्सले (४६ प्रतिशत) ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत ३१ लाख ६६ हजार कित्ता सेयर निष्काशन गर्नेछ । त्यस्तै, सिनर्जी फाइनान्सले पनि २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत जारी गर्ने भएको छ । संस्थाले ११ लाख ८६ हजार कित्ता सेयर ११ करोड ८६ लाख २ हजार २४७ रुपैयाँमा जारी गर्न लागेको हो । यी दुबै कम्पनीले आ–आफ्नो पुँजी वृद्धि गर्न सो मात्राको सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन (क्यासलेश हस्पिटलाइजेशन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

२ नम्बर प्रदेशको विकासका लागि एक अर्ब सहयोग घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि एक अर्ब सहयोग घोषणा गरेका छन् । मोदीले एक अर्ब भारतीय रुपैंयाँ अर्थात एक अर्ब ६० करोड रुपैंयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन् । उनले नेपाल सरकार र २ नम्बर प्रदेशको समन्वयमा परियोजना पहिचान गरेर सो रकम खर्च गरिने बताएका हुन् । मोदीले वुद्धिष्ट सर्किट र जैन सर्किटमा नेपाल र भारतलाई जोड्ने प्रतिवद्धता पनि व्यक्त गरे । ओलीले नेपालसँग जोडिएका भारतीय राज्यहरुको बिकासका क्रममा नेपाली भुभागको विकासमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले २ नम्बर प्रदेशको विकासका लागि नेपाल सरकारले अघि सार्ने योजनाहरुमा भारत सरकारले सहयोग गर्ने पनि बताए ।

श्री इन्भेष्टमेन्टको आठौं शाखा हर्कपुरमा, छिट्टै ५ स्थानमा खोल्ने तयारी

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको आठौँ शाखा हर्कपुरको गैँडाकोटमा विस्तार भएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन भएको थियो । केन्द्रिय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् । साथै, संस्थाले छिट्टै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख, निक्षेप ३ अर्ब ४३ करोड तथा कर्जा लगानी ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

मोदीको घोषणाः रक्सौल-काठमाडौं रेलमार्ग छिट्टै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्सौल काठमाडौं रेलमार्गको निर्माण छिट्टै अघि बढ्ने बताएका छन् । जनकपुरमा नागरिक अभिनन्दनपछि मन्तव्य राख्दै मोदीले भने-बिहारको रक्सौलदेखि काठमाडौंलाई रेल नेटवर्कमा जोड्दैछौं । त्यो काम चाँडै अघि बढ्छ ।’ मोदीले जनकपुर-जयनगर रेलमार्ग निर्माणको काम यसै बर्ष सम्पन्न हुने र नेपाललाई भारतको बिशाल रेलवे नेटवर्कमा जोडिने पनि बताए । मोदीले नेपाल र भारत जल, थल र नभबाट जोडिने चरणमा पुगिसकेको पनि बताए ।

एनएमबि माइक्रोफाइनान्सको एकदिने समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाद्धारा एक दिने शाखा प्रबन्धकहरुको गोष्ठीको सम्पन्न भएको छ । संस्थाले मातहतका शाखा प्रबन्धकहरुको दैनिक कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र फिल्डको कार्यमा दक्ष बनाई भाखा नाघेको कर्जाको जोखिम ब्यवस्थापन गर्नका लागि शाखाहरुको मासिक समीक्षा गर्ने उद्धेश्यले उक्त गोष्ठीको आयोजना गरेको हो । शुक्रबार वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले उक्त गोष्ठीको उद्घाटन गरेका हुन् । र्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले हाल लघुवित्तको क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने कुरा ब्यक्त गरेका छन् । एक दिने उक्त समिक्षा गोष्ठीमा शाखाहरुको लक्ष्य तथा प्रगतिको समीक्षाका साथै शाखामा देखापरेका समस्या तथा चुनौतीहरु र त्यसका समाधानका उपायहरुको बारेमा समेत छलफल गरियो । कार्यक्रममा २२ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्चः मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च रहेको बताएका छन् । जनकपुर उपमहागनरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेपछि मन्तव्य राख्दै मोदीले नेपालीहरुको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च भएको बताएका हुन् । उनले नेपाल वुद्धको जन्मभूमि भएको पनि पुनः बताएका छन् । मोदीले व्यक्ति र सरकार आईरहने, गैरहने तर सम्बन्ध भने सँधै अमर अजर रहँदै आएको पनि बताए । मोदीले नेपालको विकासमा नै क्षेत्रिय विकास निर्भर रहेको पनि बताए । नेपाल बिना भारतको आस्था।इतिहास र विश्वास अधुरो हुने भन्दै नेपाल बिना भारतका धाम र राम दुबै अधुरो रहेको पनि बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने, उत्तम विकल्प काभ्रेको नागीडाडा

काठमाडौं । त्रिभुव अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने उत्तम विकल्प काभ्रेको नागीडाडा देखिएको छ । अर्को विकल्पको रुपमा रहेको काभ्रेकै ठुलिचौर र चिसापानी ठुलिचौर मध्ये नागीडाडा उत्तम देखिएको हो । तीन विकल्पमध्ये नागीडाडा उत्तम विकल्प भएको नागरिक उड्ययनका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले बताए । हामीले गरेको स्थल भ्रमणबाट नागीडाडा उत्तम विकल्पको रुपमा पाएका छौं, सडक सञ्जाल, जग्गा र स्थानीयको प्रतिक्रियाको आधारमा नागीडाडा नै उत्तम विकल्प हो, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ यदि जग्गा किन्नुपर्ने भएमा १ जनासँग मात्र कुरा गरे पुग्नेछ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । अहिले पर्यटन मन्त्रालयले निर्माण गरेको ६ सदस्यीय विज्ञ टोलीले विमानस्थलको छनोट गर्न नागीडाडामा अध्ययन गरिरहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापाले विकासन्युजसँग भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागिडाडामा १२ मिटरको धावनमार्ग र ३ सय मिटरको चौडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।