लक्ष्मी बैंकको दुई नयाँ शाखा महोत्तरी र रामेछापमा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले थप दुई शाखा महोत्तरी र रामेछापमा विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोमबारदेखि महोत्तरीको मनरा र रामेछापको ख्रांडादेवीमा गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे हो । यी शाखा सहित बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
साउनयता सेयर बजारमा मात्रै २८ अर्ब २४ करोड थप लगानी
काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र एफपीओमा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ लगानी भएको छ । यस्तै हकप्रद सेयर खरिदमा मात्रै २० अर्ब ७७ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । सामूहिक लगानी कोष (म्युचअल फण्ड) को एकाई खरिदमा ४ अर्ब ८० करोड रुपैयाँ लगानी भएको हो । हालसम्म जलविद्युत, वित्त र बीमाका गरी १६ कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरिसकेका छन् । यस्तै विभिन्न ४ वटा बैंकले म्युचअल फण्डको एकाई बिक्री गरिसकेका छन् । पुँजी वृद्धिका लागि बैंक, वित्त, बीमा र जलविद्युत गरी ४५ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यसमध्ये केही कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन् । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), ग्रामिण विकास बैंक र प्रमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ निष्कासन गरेका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडललगायतले आईपीओ निष्कासन गरेका छन् । मेगा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीलगायतले हकप्रद निष्कासन गरेका छन् । म्युचअल फण्डअन्र्तगत सिद्धार्थ, सानिमा, एनआईसी एशिया र सिटिजन्स म्युचल फण्ड रहेका छन् । अझै अर्बौ रुपैयाँ बराबरको आईपीओ, एफपीओ, हकप्रद र म्युचअल फण्ड आउने तयारीमा छन् ।
सेयर बजार दोहोरो अंकले घट्दा हिमालयन डिष्टीलरीका सेयरधनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको बजार अन्त्य सम्म निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर करोबारमा भने वृद्धि भएको छ । गत बिहीबार ३५ करोडको सेयर किनबेच भएको बजारमा सोमबार साढे ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएका छन् । दिनभर निरन्तर रुपमा घटेको बजारमा हिमायलन डिष्टीलरी लि.का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका सेयरधनीले अघिल्लो दिनको तुलनामा ९.९५ प्रतिशत कमाएका छन् । त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । बजारमा बीमा समूह ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक २६, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १५ र बैंकिङ समूह १० अंकले घटेका छन् । उत्पादनमूलक २५, होटल ८ र अन्य समूह ३.६३ अंकले हरिया भएका छन् भने बाँकी समूह राताम्मे भएका छन् ।
बीपीसीले सञ्चित कोषको ५२५ करोड बोनस सेयर बाड्ने, लगानीकर्ता मालामाल !
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) आउँदो वर्षदेखि संचित कोषमा रहेको बचत (रिजर्व)बाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।गत पुसमा थप निष्कासन (एफपीओ) जारीपछि संचित कोष १०० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो रकम बीपीसीले वर्षेनी सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने भएको हो । संचित कोषको रकमबाट बोनस सेयरका अतिरित्त वर्षेनी हुने नाफाबाट नगद लाभांश र बोनस सेयर पाउने भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने भएका छन् । आउँदो आर्थिक वर्षदेखि संचित कोषको रकम वर्षेनी लगानीकर्तालाई बोनस सेयर दिने बीपीसी अर्थ विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । उनले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर वितरण हुन सक्ने जानकारी दिए । “संचित कोषको रकम बोनस सेयरका रुपमा लगानीकर्तालाई वितरण गर्ने भने पनि यति नै दिने भनेर निर्णय भएको छैन” उनले भने । लगानीकर्तालाई बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजीगत आधार मजवुत हुने उनको भनाई छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब बस्ने साधारणसभाले पारित गरेपछि लाभांश वितरण सुरु हुनेछ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश पाएको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आगामी ५ वर्षमा २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ । बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी बढ्ने र सो रकम जलविद्युत आयोजनामा लगानी गर्ने बीपीसीको योजना छ । बीपीसीले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो ।
सिटिजन्स बैंकले एकैदिन खोल्यो दुर्गममा ६ वटा शाखा, कति बढ्ला निक्षेप ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले दुर्गम स्थानीय तहमा एकै दिन ६ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ६ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केन्द्रिय कार्यालयबाटै ६ वटा शाखाहरुको सेवा आरम्भ गरेका हुन् । बैंकले इलामको माङसेबुङ गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका, काभ्रेको तिमाल गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालका र धनुकुटामा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका नयाँ शाखा स्थापना गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै दुर्गममा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । यस अघि नै बैंकले नौं वटा स्थानीय तहमा शाखा विस्तार गरिसकेको थियो । निकट भविष्यमै बैंकले प्युठानको झिमरुक, पुर्वी रुकुमको भुमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा स्थापना गरिसकेको छ । बैंकका डेपुटी सीईओ गणेशराज पोखरेलले शाखा सञ्जालसँगै व्यवसाय विस्तारमा बैंकले आफुलाई केन्द्रित गराएको बताएका थिए । सिटिजन्स बैंकको शाखा सञ्जाल अब ७४ वटा पुगेको छ भने ६९ वटा एटिएम ९७ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् । बैंकको ग्राहक संख्या ३ लाख ३५ हजार पुगेको छ ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको २६औँ शाखा सर्लाहीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् । इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यूनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशी नगरपालिकामा शैक्षिक सामाग्री वितरण
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले उक्त स्थानमा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । विविध समस्याका कारण वर्षेनी सयौँ बालबालिकाहरुले बीचमै अध्ययन छोड्नु पर्ने समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ । यस सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो र आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।