विकासन्युज

सानिमा बैंक पोखराले विद्यालयको खाजा अभियानलाई गर्यो ६ लाख आर्थिक सहयोग

काठमाडौँ । सानिमा बैंक पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित विद्यालय खाजा अभियानलाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आएको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई सो रकमहस्तान्तर गरेका हुन् । सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले विद्यालयमा उल्लेखनीय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमापनि धेरै सुधार आएको बताए । बैंकका शाखाप्रबन्धक बिरेन्द्रलाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयले गरेको सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे । सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत७बर्ष देखि उपत्यकाबाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।

निर्माणाधीन दिक्तेल–चखेवा सडक भत्किँदा डेढ करोड बढीको क्षति

यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र सकिएको तथा निर्माणाधीन अवस्थामा रहेको सडक भत्किँदा रु डेढ करोड बढीको क्षति भएको ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक साङ्गे शेर्पाले बताएका छन् । उनले भने, “अन्य दर्जनौँ ठाउँमा पहिरो झरेकाले त्यसको मूल्याङ्कन गर्न बाँकी छ । पहिरोले अवरुद्ध सडक खुलाउनका लागि अहिले कम्पनीको यन्त्र प्रयोग गरेर हटाउने काम भइरहेको छ ।” गत असार २६ गतेदेखि लगातार परेको भारी वर्षापछि आएको बाढीले वडा नं ६ नेर्पाको माम्खामा निर्माण गरिएको मेशिनरी टेवापर्खाल करिब १५० मिटर भत्किएको छ । बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने छाकालुङ खोलामा निर्माण गरिएको पक्की पुल भत्किनुका साथै त्यस आसपासमा कालोपत्र गरिएको सडकको छेउ भाँसिएको छ । यसबाहेक अन्य दर्जनौँ ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको स्थानीयवासीले बताएका छन् । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ भने, कतिपय ठाउँमा सडक फराकिलो बनाउँदा फालिएको माटोमाथि नै कालोपत्र गरिएकाले चर्किएको बताइएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडकको दिक्तेलदेखि बाँझेच्यानडाँडासम्मको सडक कालोपत्र चार भागमा विभाजन गरेर निर्माण भइरहेको छ । चार भागमा विभाजन गरी कालोपत्र थालिएको सो सडकको पहिलो खण्डमा पर्ने दिक्तेलदेखि नेर्पाको कालीखोलासम्म नौँ किलोमिटर सडक सम्पन्न भइसकेको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर ८८ किलोमिटर सडक खण्डमध्ये च्यानडाँडा–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (आठ किलोमिटर) ५५ प्रतिशत र तीन नम्बर प्याकेज दारुला–कालिखोला (नौ किलोमिटर) ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको सडक कालोपत्र नसकिँदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराइने सांसद विशाल भट्टराईले बताए । अहिले धमाधम कालोपत्रको काम भइरहेको सो सडक सम्पन्न गर्न नेपाल सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको मिति यसअघि नै नाघिसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम थालिएको सो सडक कालोपत्रमा भूकम्प, भारतीय नाकाबन्दी तथा बाढीपहिराका कारण समयमा सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको हो । चारवटै खण्ड आगामी असारभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको प्रबन्ध निर्देशक शेर्पाले बताएका छन् । सो सडकखण्डमा पर्ने आठ खोलामा निर्माण गरिने पुलमध्ये अहिलेसम्म चार वटा मात्र निर्माण सम्पन्न भएका छन् । आठमध्ये चार पुल निर्माणको ठेक्का रमण गोल्डेन गुड जेबीले नै लिएको थियो । रमण गोल्डेन गुड जेबीले जिम्मा लिएको कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अहिलेसम्म कामै शुरु भएको छैन । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोलालगायतको पुल नबन्दा उक्त ठाउँमा सडक अपूरै छ । भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको बोलपत्र प्रक्रिया नै नबढेकाले समस्या भएको छ । पक्की पुल अभावमा सडक भए पनि खोला तार्न नसक्दा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गकै दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने अन्तिम चरणमा पुगेको पाइएको छ । दशैँतिहार अगाडि सबै काम सम्पन्न गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । रासस

बचत खातामै उच्च ब्याज दिँदै वाणिज्य बैंकहरु: आरबीबीले ४.५% प्रतिशत पुर्याउँदा ग्लोबल आईएमईले २% थप्यो

काठमाडौं । असोज महिना लागेसँगै बैंकहरुबीच फेरि निक्षेप तानातानको खेल सुरु हुने भएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव चर्कनसक्ने संकेत देखेसँगै निक्षेप तान्न र आफूसँग रहेको निक्षेप जोगाउन बैंकहरुको प्रतिस्पर्धा सुरु भएको हो । मंगलबार राष्ट्रिय स्तरका दुई ठूला वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर बढाउनेगरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचत निक्षेपमा दिने न्यूनतम ब्याजदरलाई ३.५ प्रतिशतबाट एकैपटक ४.५ प्रतिशतमा पुर्याइदिएको छ । गत जेठ महिनासम्म यो दर ३ प्रतिशत थियो । त्यस्तै, मंगलबार नै ग्लोबल आईएमई बैंकले बचत खातामा दिइने ब्याजदरको नयाँ तालिका सार्वजनिक गर्दै बचत खातामै प्रदान गरिने ब्याजदरलाई २ प्रतिशतसम्मले वृद्धि गरिदिएको छ । यसअघि ३.५० प्रतिशत दिने साधारण बचत, नारी बचत बाल बचत खाताहरुमा अब ५.५० प्रतिशतको दरमा ब्याज पाइनेछ । मंगलबार नै ब्याजदर प्रकाशन गरेको एनसीसी बैंकले भने यसअघिको ब्याजदरलाई स्थिर राखेको छ । नेपाल बैंकर्स संघको भद्र सहमतिअनुसार ६.५ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र सो दरको ब्याज यसअघिदेखि नै दिँदै आएकोले एनसीसी बैंकले ब्याजदर नबढाएको हो । गण्डकी विकास बैंकले भने बचत खातामा दिने ब्याजदर यसअघि दिने दरभन्दा कम गरेको छ । यसअघि अधिकांश खाताहरुमा ७ प्रतिशत दिँदै आएको ब्याजदरलाई ६.५ प्रतिशतमा झारेको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपातको बफर बढाएपछि हाल केही वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजीको अभावको समस्या देखिएको बताइएको छ । दशैं, तिहार जस्ता चाडबाडमा नेपालीहरुले ठूलो रकम आफ्नै खल्तीमा होल्ड गर्ने भएका कारण यसले बैंकिङ निक्षेपलाई घटाउनसक्ने अनुमान बैंकरहरुको छ, यसले गर्दा यस्तो पुँजीको समस्या थप देखिनसक्छ ।

धौवादी फलाम खानी उत्खननमा अग्रसरता, यसरी हुँदैछ काम

कावासोती । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू-गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ । फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४।५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ । गत वर्ष विनियोजन गरिएको करीब रु पाँच करोड बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ । उक्त ठेक्का लाग्दा बाँकी रहेको केही रकमले थप दुई किलोमिटरसम्मको ट्र्याक खोल्ने काम भइरहेको सडक विभागका सवइञ्जिनीयर नवीन पाण्डेले जानकारी दिए । यस वर्षका लागि समेत रु पाँच करोड विनियोजन गरिएको छ । यो रकमले झण्डै फलाम खानीसम्मको ट्र्याक खोल्ने काम सम्पन्न हुने उहाँले बताउनुभयो । झ्यालबासदेखि एक किलोमिटरसम्ममा नाला निर्माण तथा ग्राभेल गर्ने कामसमेत चल्दैछ । खानी तथा भू–गर्भ विभागले फलाम खानी रहेको क्षेत्रमा अहिले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । जसअन्तर्गत औद्योगिक प्लान्ट कस्तो रहने, कुन क्षमताको रहने, कुन स्थानमा राख्न सकिने, उत्खननको काम कसरी गर्ने भन्ने विषयको अध्ययन चलिरहेको विभागका सिनियर डिभिजन जियोलोजिष्ट नारायणप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार अहिलेको अध्ययनले उत्पादनदेखि बजारीकरणसम्म के कस्तो अवस्था रहन्छ भन्ने निष्कर्ष निकालिनेछ । फलाम कमसल खालको भएकाले दुई वटा प्लान्ट निर्माण गरिने बताए । पहिलो चरणमा प्रशोधन गरी फलाम उत्पादनका लागि दोस्रो चरणमा कार्य गरिने उनले बताए । प्रशोधन केन्द्र खानी भएकै स्थानमा स्थापना गर्न सकिने उनले जानकारी दिए । यसअघि औद्योगिक परीक्षणका लागि यहाँबाट पाँच टन नमूना चीन पठाइएको छ । विभिन्न १६ स्थानबाट निकाली पठाइएको नमूना परीक्षणले औद्योगिकस्तरमा कति मात्रा फलाम निकाल्न सकिन्छ भन्ने पत्ता लाग्नेछ । परीक्षणको नतिजा अबका दुई महीनासम्ममा आइपुग्ने उहाँले जानकारी दिए । यहाँ रहेको चट्टानमा ३६ प्रतिशत धाउको मात्रा देखिएको छ । यसलाई एक गे्रड स्तरोन्नति गरी ५८ प्रतिशतको बनाएर फलाम उत्पादन गर्न सकिने देखिएको बाँस्कोटाले बताए । प्रयोगशाला परीक्षणले मध्यम खालको फलाम उत्पादन गर्न सकिने देखिएको बताइएको छ । विसं २०६८ मा खानी तथा भू–गर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा सो स्थानमा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्वपश्चिम राजमार्गदेखि करीब २० किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ । यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । धौवादीको फलाम खानी अहिलेसम्म फेला परेका खानीमध्ये नेपालकै ठूलो भएको भूगर्भविद्ले बताएका छन् । रासस

५८ औँ वर्षमा कर्मचारी सञ्चय कोष, ‘२६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता’

काठमाडौँ । कर्मचारी सञ्चय कोषमा २६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्मचारी सञ्चय कोष मंगलबारदेखि ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । २०७६ असार मसान्तको वित्तीय अवस्था अनुसार कोषको सञ्चयकोष मौज्दात ३ खर्ब ९ अर्ब ८५ करोड, जगेडा कोषमा ३१ अर्ब ४५ करोड, अन्य दायित्व ४ अर्ब ३९ करोड, कूल श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड र कूल लगानी ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ रहेको प्रशासक गौतमले उल्लेख गरे । सञ्चय कोषले सञ्चित रकममा ८.२५ प्रतिशत ब्याज दिने गरेको छ । कोषले सञ्चयकर्ताको हीतलाई मध्येनजर गर्दै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा घर मर्मत सापटी जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना सञ्चालन गर्दै आएको प्रशासक गौतमले बताए । ५८ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रशासक गौतमले सञ्चयकोष, निवृत्तभरण कोष लगायत सञ्चयकर्ताका लक्षित सामाजिक सुरक्षाका कार्यक्रम व्यवस्थापन गर्दै कोषलाई सामाजिक सुरक्षाको अग्रणी संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुमा लगानीका लागि तीनवटै तहका सरकार तथा निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने बताए ।

लेखापढी तथा घरजग्गा व्यवसायीलाई कडाई, तीन दिनभित्र दर्ता गर्न निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यवसायीलाई कडाइ गरेको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको लेखापढी व्यवसाय तथा घरजग्गा कारोवारको अनुगमनमा अधिकांशले दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि कडाइ गरिएको हो । नगरपालिकाले १४ फर्ममा गरेको अनुगमनमा १३ फर्म दर्ता नै नभएका र एउटा मात्र फर्म दर्ता भएको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताए । अनुगमनमा दर्ता नभएका फर्मलाई तीन दिनभित्र दर्ता गर्न, सेवा शुल्कको सुची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिइएको निरीक्षक प्रजापतिले बताए । भिमसेन लेखापढी एउटा मात्र दर्ता गरेको भेटिएको बताउदै उहाँले उक्त फर्मलाई पनि सेवा शुल्कको सुची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिइएको छ ।

यस्तो छ टाटाले ल्याएको एच५ एसयूभी, मूल्य कति ?

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडि¨ प्रालिले केहि दिन अघि सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा टाटा एच५ सार्वजनिक गरेको थियो । नेपालमा यो कार एक्सई, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ । नेपालमा टाटा एच५ को नामबाट आएको यो कार भारतमा भने टाटा ह्यारियरको नामले चिनिन्छ । यस कारका फिचरहरुको रुपमा जेनोन एचआईडि प्रोजेक्टर हेडल्याम्प्स्, १७ इञ्च अलोए व्हिल्स्, लोगो प्रोजेक्शनसहितको आउटसाइड रियर भ्यू मिरर्स्, एलईडि टेल लाइट्स, ८.८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८–वे एड्जस्टेवल ड्राइभर सीट, ७–इञ्च कलर टिएफटि डिस्प्ले भएको इन्स्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबिएलको स्पिकर, ६ ओटा एयर ब्याग र साथै इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्रामहरु समेत दिइएका छन् । ५ सिटर यो एसयूभीको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने व्हिलवेस चाहिँ २७४१ मिलिमिटर रहेको छ । त्यसैगरी ५० लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । टाटा एच५ को इञ्जिन १९५६ सीसी ४ सिलिण्डर क्रायोटेक २.० लि. टर्वो चाज्र्ड डिजेल इञ्जिन हो र यसले १०३ किलोवाट (१४० पिएस) को पावरका साथै ३५० एनएमको टर्क प्रोड्यूस गर्दछ । यसमा ट्रान्समिशन ड्यूटीको काम भने ६–स्पिड म्यानुअल गियरबक्सले गर्दछ । नेपाली बजारमा टाटा एच५ का चार अलग भेरियन्टहरुको मूल्य यसप्रकार तोकिएका छन् : १.टाटा एच५ एक्सई– मूल्य रु.५६,५५,००० २.टाटा एच५ एक्सएम– मूल्य रु.६४,५५,००० ३.टाटा एच५ एक्सटि– मूल्य रु.६९,५५,००० ४.टाटा एच५ एक्सजेड– मूल्य रु.७४,५५,०००

सन नेपाललाइफले गर्यो उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीले भदौ २९ गते दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।