विकासन्युज

महासंघका अध्यक्ष राणा र उपाध्यक्ष ढकाल विभुषित, कार्यालय परिसरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित उद्यमी व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्धारा प्रदान गरिएकोे विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभुषित भएका छन् । महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीपबाट विभुषित भएका हुन् । त्यसैगरी, संविधान दिवसका अवसरमा महासंघका अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको एक समारोहका बीच झण्डोत्तोलन गरिन् । साथै अध्यक्ष राणाले महासंघको झण्डा पनि झण्डोत्तोलन गरेको जनाइएको छ । कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, सचिवालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

राष्ट्रिय बीमा संस्थानले लञ्च गर्यो एप, बीमाबारे जानकारी लिन सकिने

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उदेश्यले शुक्रबार आफ्नै कार्यालयमा उक्त एप लञ्च गरेको हो । एप लञ्च कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माले प्रविधि आजको आवश्यकता भएकाले एप ल्याएको बताए । उनले भने–‘प्रयोगकर्ताको सल्लाह अनुसार काम गर्ने छौँ ।’ यसैगरी उक्त कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकको जेठो कम्पनी भएपनि सफ्टवेर अभावमा काम गर्दै आएको र अब एप मार्फत डिजिटल बन्ने सुरुवात गरेको बताए । यस्तो छ एप  प्ले स्टोरबाट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो पोलिसी नम्बर एपमा राख्न जरुरी हुन्छ । त्यस्तै, पासवर्ड समेत थिचेर लगइन गरे पश्चात बीमितले एपमा प्रवेश गर्न पाउछन् । एपबाट पोलिसी, पेमेण्ट हिस्ट्री तथा डिउ पेमेण्टका बारेमा जानकारी लिन सकिन्छ । एपमा बिमितले बैक खाता समेत समावेश गर्न आवश्यक हुन्छ । हाल सीमित बैँक मात्र एपमा आवद्ध भएपनि निकट भविष्यमा अन्य बैँक समेत आवद्ध गराउने राष्ट्रिय बीमा संस्थान जनाएको छ । नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक संस्थानको एपमा समावेस गरेकाले देशैभरका नागरिकले लाभ दिन सक्ने बताइएको छ । चालु आर्थिक वर्षमा बीमा गराउने बीमितका लागि यो सिस्टमले काम गर्छ । तर, चालु आव भन्दा पहिलाका लगानीकर्ताका लागि भने सो एपले केही काम गर्दैन ।साथै, यसै आर्थिक वर्ष भित्रमा ई-सेवा सँग सहकार्य गरेर संस्थानले बीमितले बीमा शुल्क(प्रिमियम) तिर्ने बीमालेख पढ्ने लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सो एप चलाउन बीमितले एन्ड्रोइड मोबाईलको प्रयोग गर्नुपर्ने छ । नेपालमा छरिएर रहेका विभिन्न ब्राण्डहरुमा आगामी एक हप्ता भित्र आफूहरुले सेवा बिस्तार गर्ने राष्ट्रिय बीमा संस्थानले बताएको छ ।

मुलुकभरका ३२ विमानस्थलमध्ये १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन् । अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए । चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थल फाइदामा छन् । त्यस्तै लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थलले फाइदामा छन् । विमानस्थलले लगानीअनुरुप कुनै प्रतिफल दिएका छैनन् । प्राधिकरणको वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् । विकास खर्चमा त्यो रकम समावेश हुँदैन । प्राधिकरणले गत आर्थिक वर्षमा रु छ अर्ब र विमानस्थल शुल्कबापत रु दुई अर्ब गरी जम्मा रु आठ अर्ब नाफा कमाएको थियो । वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न । उक्त आर्थिक वर्षमा प्राधिकरणले रु ४५ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको थियो । प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ । प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ सञ्चालनमा रहेका छन् । प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ । सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य प्रभावकारीरुपमा भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ । चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । पहिलोपटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको शुरुआत हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ । रासस

नवलपरासीमा धमाधम स्तरीय होटल तथा रिर्सोट खुल्दै, सयाैंले पाए राेजगारी

परासी । पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय पश्चिम नवलपरासीमा सुविधासम्पन्न होटल तथा रिर्सोट खुल्ने क्रम बढ्दो छ । विशेषगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवलदेखि बर्दघाटसम्मका आसपास क्षेत्रमा अहिले सयौँ होटल सञ्चालनमा आएका छन् । अझै धेरै होटल थपिने क्रममा पनि छन् । जिल्लामा पछिल्लोपटक पर्यटन प्रबर्धन गतिविधिले तीव्रता पाएसँगै यहाँका लगानीकर्ता होटल तथा रिर्सोटमा आकर्षित भएका हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर सरकारले पर्यटन लक्षित गतिविधि बढाएको तथा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पनि छिट्टै सञ्चालनमा ल्याउने भएपछि स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने आसमा यहाँका लगानीकर्ता उत्साहित छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ नवलपरासीका अनुसार विशेषगरी अहिले व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको भूमही क्षेत्रमा सुविधासम्पन्न होटल तथा रिर्सोट धेरै मात्रामा खुलेका छन् । लुम्बिनीबाहेक पश्चिम नवलपरासीमा रहेका पर्यटकीयस्थलमा पनि पर्यटन आकर्षित गर्न सकिने धेरै सम्भावना भएकाले लगानीकर्ता उत्साहित देखिएको सङ्घका अध्यक्ष रमेश पाण्डे बताउँछन् । “भैरहवाको विमानस्थल सञ्चालन भएपछि भैरहवासहित प्रदेशको अस्थायी राजधानीसमेत रहेको बुटवलमा पर्ने चापलाई मध्यनजर गर्दै नजिकको दूरी र त्यहाँको विकल्पको रुपमा पश्चिम नवलपरासीको भूमही, बर्दघाट, सुनवललगायतका स्थान पर्यटकको रोजाइमा पर्ने यहाँका लगानीकर्ताको विश्वास छ”, अध्यक्ष पाण्डेले भने । जिल्लामा पछिल्लोपटक पर्यटकीय गतिविधि बढ्दै गएको छ भने सामाजिक आर्थिक विकाससँगै लगानीको वातावरण बनेकाले होटल तथा ठूलो लगानीको रिर्सोटमा लगानी बढेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए । “जिल्लामा मूल भन्सारको रुपमा महेशपुर भन्सारको सञ्चालन हुनु, औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै जानु, लगानीको वातावरण बन्नु, भैरहवाको विमानस्थलबाट नजिकको दूरी, रामग्राम स्तूपमा पर्यटकको चहलपहल वृद्धि हुँदै जानुजस्ता कारणले अहिले यो क्षेत्रमा लगानी बढेको हो”, उनले भने । एक वर्षअघि भूमहीमा करिब सात करोडको लगानीमा नेचर रे रिभर भ्यू रिर्सोट सञ्चालनमा ल्याएका व्यवसायी कृष्णनारायण श्रेष्ठले पर्यटकलाई नै लक्षित गरेर आफूले लगानी गरेको बताए । “नवलपरासी जिल्ला अहिले पर्यटकीय हिसाबले अघि बढ्दैछ, यहाँका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका स्थानहरुको प्रचारप्रसार, विकास र संरक्षण गर्दै पर्यटक आकर्षण गर्ने संरचना निर्माण गर्न सके यहाँ पनि धेरै पर्यटक ल्याउन सकिन्छ, भैरहवाको विमानस्थल सञ्चालनमा आएपछि त यहाँ आएर बस्न पनि पर्यटकलाई सहज हुन्छ”, उनले भने । यसअघि जिल्लामा सुविधासम्पन्न होटल नहुँदा पाहुनालाई बुटवल भैरहवाका होटलमा बास बसाल्नुपर्ने बाध्यता रहेको तितो अनुभव सुनाउँदै उनले यहाँ आउने पर्यटकको बसाइँ पनि लम्ब्याउन सकिने बताए । रामग्राम स्तूप, लुम्बिनी जानका लागि भूमही केन्द्रविन्दु रहेको तथा बुटवल, पाल्पा जानका लागि पनि भूमही नै केन्द्रमा पर्ने भएकाले व्यापारिक हिसाबले पनि यहाँका होटल तथा रेष्टुरेण्ट एवं रिर्सोट फस्टाउने अवसर रहेको उनले बताएका छन् । यसैगरी भूमहीमै छ महिनाअघि सञ्चालनमा आएको होटल एटलसका सञ्चालक कृष्ण श्रेष्ठले जिल्लामा सुविधासम्पन्न होटलको अभावमा यहाँ आउने पाहुनालाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पनि आफूले यो क्षेत्रमा लगानी गरेको उनले जानकारी दिएका छन् । “अहिले भूमही व्यापारिक र पर्यटनको हिसाबले मुख्य जक्सनको रुपमा स्थापित भएको छ, यहाँबाट रामग्राम स्तूप १० किलोमिटर र लुम्बिनी ४० किलोमिटरको दूरीमा मात्र छ, यहाँबाट धेरै शाखा बाटोहरु पनि छन्, अब पर्यटक अलपत्र पर्नुपर्ने अवस्था छैन”, उनले भने । नवलपरासी जिल्ला आफैँमा पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले अब यहाँका पर्यटकीयस्थलको विकास र व्यापक प्रचारप्रसारमा सरकारसहित सबै मिलेर लाग्नुपर्ने उनको धारणा छ । पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, पर्यटकीयस्थलसम्म पुग्ने सडकको स्तरवृद्धि, यातायात विस्तार तथा पर्यटकको बसाइँ लम्ब्याउन सकिने अन्य संरचना निर्माण गर्न जरुरी रहेको भन्दै उनले तीनै तहका सरकारको अब यसमा ध्यान जानुपर्ने उल्लेख गरे । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका अनुसार जिल्लामा गत आव २०७५÷७६ सम्ममा एक हजार ६३ पर्यटन उद्योग सञ्चालनमा छन् । गत आवमा मात्रै १२८ पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख नेत्रप्रसाद भुसालले बताए । “व्यवसायीहरु पर्यटन उद्योगमा आकर्षित भएपछि सयौँले रोजगारी पाएका छन्, आर्थिक क्रियाकलाप बढेको छ, मुलुककै विकासमा यसले टेवा पुर्याएको छ”, उनले भने । अहिले जिल्लामा सबै स्तरका होटलहरु खोल्ने प्रतिस्पर्धा जस्तै छ । नेचर रे रिभर भ्यू रिर्सोट, लोटस रिर्सोट, हिमालयन होटल, एटसल होटल, रोयल कटेज, सनसाइन होटललगायतका स्तरीय होटल तथा रिर्सोटहरुले अहिले जिल्लाकै प्रतिष्ठा राखेका छन् । यसबाहेक करोडौँ लगानीका अन्य ठूलाठूला होटलहरु पनि निर्माणाधीन अवस्थामा रहेका छन् । सदरमुकाम परासी क्षेत्रमा भने अझै पनि स्तरीय होटलको अभाव नै छ । सदरमुकामबाट सरकारी कार्यालय विस्थापित भएसँगै यहाँ लगानीकर्ताले लगानी गर्न रुचि देखाएका छैनन् । अब जिल्लामा रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको विकास नै प्राथमिकतामा पर्नुपर्ने पर्यटन व्यवसायीको जोड छ । पश्चिम नवलपरासीमा भगवान् गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, बुद्धसँगै सम्बन्धित कोलिय गणराज्यको राजधानी पण्डितपुर, अनोमाघाट, ऐतिहासिक पाल्हीभगवती मन्दिर, महलपोखरी, नन्दनताल, बाबा बर्दगोरिया, देवदह ताल, कृष्णधाम, संसारकोट, बुद्धमङ्गल ताल, कञ्चनगढी, चुहाडी, बालपुरी मठधुनी मन्दिर, डाकापानी सिमसार, बाउन्न घोला सिमसार, चिसापानी सिमसार, कोलवृक्ष जावा क्षेत्र, सुस्ताजस्ता स्थलहरु धार्मिक तथा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेका क्षेत्र छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यी क्षेत्रहरुको विकासमा चासो देखाउँदै लगानी गर्न थालेका छन् । यद्यपि यो पर्याप्त नभएको स्थानीयवासीले बताउँदै आएका छन् । यी क्षेत्रहरुको पर्याप्त विकास गर्न सकिए यहाँको पर्यटन व्यवसाय फस्टाउनुका साथै रोजागारीमा वृद्धि, जीवनस्तरमा परिवर्तन आउनुका साथै विदेश पलायनसमेत रोक्न सकिने होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घकाे दाबी छ । रासस

भारत सरकारको आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष, एलआइसीलाई ५७ करोड नोक्सान

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गरेकी छिन् । भारतीय जीवन बीमा निगम (एलआइसी)लाई अढाई महिनाको अवधिमा ५७ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको समाचार प्रकाशन भएलगत्तै नेत्री गान्धीले ट्वीट गर्दै उक्त संस्थामा आममानिसको विश्वास रहेको र दुःख गरेर कमाएको पैसा लगानी गरेको कम्पनी नै सङ्कटमा पर्ने अवस्था आउनु दुःखद भएको बताइन् । उनले ट्वीटमा भनेकी छिन्, “भविष्यको सुरक्षाका लागि आममानिसले दुःख गरेर कमाएको पैसा एलआइसीमा लगानी गरेका छन्, तर वर्तमान भाजपा सरकारले एलआइसीको पैसा घाटामा चलेका अरु संस्थामा लगानी गर्न छुट दिएको छ । यो कस्तो किसिमको नीति हो ?” आइडीबीआई बैंकको सञ्चालक समितिले बिहीबार भारत सरकार र भारतीय जीवन बीमा निगम (एलआइसी)का लागि क्रमशः ४ हजार ५५७ करोड र ४ हजार ७४३ करोड (भारतीय रुपैयाँं)को शेयर जारी गर्ने निर्णय गरेको थियो । यो शेयर सर्वसाधारण र अग्राधिकार शेयरका रुपमा बिक्री नगरी सरकार र एलआइसीले मात्र खरिद गर्न सक्नेछन् । यो निर्णयका बारेमा भारत सरकारकै इशारामा चलेको नियामक निकायबाट स्वीकृत हुन बाँकी छ । गत सेप्टेम्बर ३ मा भारत सरकारले आइडीबीआई बैंकको लगानीयोग्य रकम वृद्धि गर्ने भन्दै ९ हजार ३०० करोड भारतीय रुपैयाँको प्रस्तावलाई स्वीकृत गरेको थियो । आइडीबीआई बैंकको अवस्थामा सुधार ल्याउन भारत सरकारले पूँजी लगानी बढाउन मन्जुरी दिएको हो । यस बैंकको जुन २०१८ मा खराब कर्जाको अनुपात १८.८ प्रतिशतसम्म पुगेको थियो । तर लामो समयदेखिको खराब कर्जा खारेज गरेपछि यसैवर्षको जुन महिनासम्ममा यो अनुपात ८ प्रतिशतमा झरेको छ । लामो समयदेखि खराब कर्जाको मारमा परेका भारतीय सार्वजनिक बैंकहरुको वासलात ठीक पार्ने भन्दै सरकारले करिब ७० हजार करोड भारतीय रुपैयाँ पूँजी लगानी गर्ने घोषणा गरेको छ । रासस/एएनआई

स्ट्याण्डर्ड चार्टर्डलाई इक्रा नेपालले दियो सबैभन्दा राम्रो रेटिङ

काठमाडौँ । इक्रा नेपालले गरेको रेटिङ अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा राम्रो रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार स्ट्याण्डर्ड चार्टर्डले उच्च मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपी ट्रिपल ए’ पाएको हो । बैंकले वित्तीय जोखिम धेरै कम भएकोले राम्रो रेटिङ प्राप्त गरेको हो । ठूलो कर्जा प्रवाह गर्दा बैंकले सबैभन्दा सुरक्षित ऋणको रेटिङ पाएका व्यक्ति तथा संस्थालाई मात्रै प्राथमकिता दिने गरेको इक्रा नेपालले जनाएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा अन्य बाणिज्य बैंकहरुको भन्दा सस्तो ब्याजदर रहेकोले ऋणीहरुको पहिलो रोजाइमा बैंक रहेको एजेन्सीले जनाइएको छ । बैंकिङ क्षेत्रमा तरलताको अभाव हुँदा पनि बैंकको निक्षेप संकलन स्वस्थ रहेको प्रतिवेदनमा उल्लेख छ ।

दैनिक घट्दै डेङ्गुका बिरामी

चितवन । भदौको तेस्रो र चौथो साता अत्याधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग सेवामा आएकामध्ये ९०० मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताएका छन् । सोही दिन अघिल्ला दिनहरुका ३०० बिरामीले पुनः मेडिकल बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएका थिए । मेडिकल विभागका प्रमुख डा.प्रकाश खतिवडाका अनुसार त्यस दिन एक हजार २३० जना बिरामी हेरिएको थियो । त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उनले जानकारी दिए । बिहीबार अस्पतालको बहिरंग सेवामा एक हजार ३०० बिरामी आएकामध्ये ५०० हाराहारी मात्रै मेडिकल वार्डमा आएका थिए । तिनीहरुमध्ये ३०० जतिलाई ज्वरोको सङ्क्रमण रहेकामा केहीलाई मात्र डेङ्गुको सङ्क्रमण देखिएको डा. खतिवडाले बताएका छन् । भदौ चौथो सातापछि क्रमशः सङ्क्रमितको सङ्ख्या घट्दै गएको केसीले बताए । पछिल्ला दिनहरुमा सङ्क्रमण भएका बिरामी घटेको भन्दै उनले वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर सङ्क्रमण दर भन्न सकिने बताए । आगामी कात्तिकसम्म डेङ्गुको सङ्क्रमण देखिने उनले जानकारी दिएका छन् । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भर्ना भएका १०० जना बिरामीमध्ये ६० जना ज्वरोका हुन् र तिनीहरुमध्ये ६० प्रतिशतसम्म डेङ्गुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए । यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ । लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेङ्गुको सङ्क्रमण पनि घट्ने अपेक्षा गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको सङ्ख्या दुई हजार ५१५ जना पुगेको छ । आठ हजार २२१ जनाको रक्त परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । रासस

न्यूरो स्पाइन च्याप्टरद्वारा मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

काठमाडौं । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज यहाँ शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स) सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ । न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थोपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्छ भनेका छन् । अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा. समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरेका छन् । रासस