विकासन्युज

चिसाे बढेसँगै राडीपाखीको व्यापार बढ्याे

रुकुमपूर्व । जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो । भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा वर्षेनी असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने गर्छ । पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु पाँच हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–५ की सूर्यकुमारी पुनले बताइन् । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ । “उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ”, उनले भनिन् । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गएपनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उनको भनाइ छ । जिल्लाको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । भुमे गाउँपालिका–८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । “कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्”, उनले भनिन् । रुकुमपूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ । रासस

३२ सामुदायिक विद्यालयका शिक्षक तलबबाट बञ्चित

गौशाला । गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौंदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् । नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिएका छन् । नगर शिक्षा समितिको बैठक नियमित नबस्दा विद्यालय लथालिङ्ग अवस्था पुगेकाले समयमै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको उपाध्यक्ष महतोले बताए । जनही रु १२ हजारका दरले मासिक तलब पाउँदै आएका शिक्षकलाई यस वर्षदेखि केही थप रकम जोडेर दिने नगरपालिका शिक्षा शाखाको योजना रहेको र सो सम्बन्धमा शिक्षा समितिबाट निर्णय गराउन बाँकी रहेकाले शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको नगर शिक्षा शाखाका पुरुषोत्तम अधिकारीले जानकारी दिए । गत वर्ष शिक्षकलाई तलबवापत नगरपालिकाले रु ५३ लाख छुट्याएको थियो । यस वर्षदेखि सोही शीर्षकमा रु ६० लाख छुट्याएकाले समयमै रकम मिलान हुन नसक्दा समस्या भएको अधिकारीले बताएका हुन् । रासस

गत वर्ष कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत दुई अर्बबढी रकमान्तर

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत दुई अर्ब रुपैयाँ बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सहभागी रहेका थिए । सामाजिक विकासमन्त्री दल रावल प्रदेश राजधानी बाहिर भएकाले समितिले मन्त्रीद्वयसँग रकमान्तरबारे स्पष्टीकरण लिएको हो । बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि तीनवटै मन्त्रालयले उक्त सीमा नाघेको तथ्याङ्क प्रस्तुत गरे । शाहीका अनुसार २०७६ जेठ र असारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले १७ प्रतिशत, सामाजिक विकास मन्त्रालयले १२ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १६ प्रतिशत बढी बजेट एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गरेका छन् । समितिका सदस्य गोपाल शर्माले समयको ख्याल नगरी मन्त्रालयले नियमविपरीत गरेको खर्चबारे प्रश्न उठेको थियो । “भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६ जेठ १६ गते भवन, सडक, सिँचाइलगायत योजनाका लागि बजेट रकमान्तर गरेको छ, आर्थिक वर्ष सकिनुको डेढ महिनामै ती योजना निर्माण गर्न सम्भव छैन्”, उनले भने । गत आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो बजेट रकमान्तर गरिएको विषयमा संसद्मा बहसको विषय बनेपछि सार्वजनिक लेखा समितिको २०७६ असार २९ को बैठकले प्रदेशसभा सदस्य शाहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । अध्ययन प्रतिवेदनले मुख्यमन्त्री कार्यालयसहित प्रदेश सरकारका सातवटै मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ता कार्यालयले गरी दुई अर्ब तीन करोड बजेट रकमान्तर गरेको औँल्याएको छ । रकमान्तर गरिएको अधिकांश रकम गाडी, मेसिन खरीद, अनुदान वितरणलगायतका कार्यमा खर्च गरेको पाइएको छ । उपसमितिले अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गरेपछि मन्त्रीद्वय भण्डारी र केसीले पालैपालो आफ्नो धारणा राखेका थिए । मन्त्री भण्डारीले आर्थिक नियमावली, २०७४ अनुसार रकमान्तर गरिएको बताएपछि समितिका सदस्यहरुले आपत्ति जनाए । विसं २०७५ मा संसद्ले पारित गरेको ऐनभन्दा एक वर्ष अघिल्लो नियमावलीलाई आधार मानिनु नियमसङ्गत नभएको ती सदस्यको टिप्पणी थियो । मन्त्री भण्डारीले आर्थिक मामिला मन्त्रालयको सहमतिमा रकमान्तर गरेको जिकिर गरे । मन्त्री केसीले ऐन/ नियमावली नहेरेर रकमान्तर गरेको स्वीकार गर्दै भने, “अब हामीलाई पनि सिकाइ भयो, ऐन/नियमावली हेर्नुपर्ने भो ।” उनले आर्थिक वर्षको अन्त्यमा रकमान्तर हुन नदिन यसपटक दोस्रो चौमासिक अवधिमै बजेट रकमान्तर गर्न क्याबिनेटले निर्णय गरिसकेको जानकारी दिए । समितिका सदस्य गुलाबजङ्ग शाहले विकास खर्च देखाउने नाममा जेठ–असारमा रकमान्तर गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए । समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले आगामी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीलाई बोलाएर निष्कर्ष निकालिने जानकारी दिए । रासस

२०० सीसीसम्मका १० चर्चित मोटरसाइकलहरू, जसको मूल्य ३ लाख भन्दा कम छ

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले नेपाली बजारमा तीन लाख रुपैयाँ मूल्यसम्म पर्ने १५० देखि २०० सीसी सम्मका केहि चर्चित मोटरसाइकलहरुको वारेमा चर्चा गर्न गइरहेका छौं । बजाज पल्सर १५० पल्सर १५० मा १४९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.८ बीएचपीको पावर र १३.४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । बजाजले दुवै चक्कामा डिस्क ब्रेक भएको भेरियन्ट ‘पल्सर १५० टीडी’ लाई पनि उपलब्ध गराइरहेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले पल्सर १५० को मूल्य दुई लाख ५५ हजार नौ सय र पल्सर १५० टीडीको चाहिँ दुई लाख ६६ हजार नौ सय तोकेको छ । बजाज पल्सर एनएस १६० एबीएस एनएस १६० एबीएसमा १६०.३ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल च्यानल एबीएस पनि समावेस गरेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यस बाइकलाई दुई लाख ८९ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । हिरो एक्स्ट्रीम २००आर एक्स्ट्रीम २००आरमा १९९.६ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १८.१ बीएचपीको पावर र १७.१ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । हिरोले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल-च्यानल एबीएस पनि समावेस गरेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले यस बाइकलाई दुई लाख ९५ हजार पाँच सय रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।   होण्डा सीबी हर्नेट १६०आर हर्नेट १६०आर मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १४.९ बीएचपीको पावर र १४.५ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई तिन लाख तिन हजार नौ सय रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । होण्डा सीबी युनिकर्न १६० सिबि युनिकर्न १६० मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १३.८२ बीएचपीको पावर र १३.९२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य दुई लाख ७४ हजार नौ सय रुपैयाँ तोकेको छ । होण्डा एक्सब्लेड एक्सब्लेडमा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.९३ बीएचपीको पावर र १३.९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई दुई लाख ९० हजार नौ सय रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । सुजुकी जिक्सर जिक्सरमा १५४.९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १४.८ पीएसको पावर र १४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस बाइकलाई दुई लाख ८१ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । सुजुकी जिक्सर एसएफ जिक्सरकै फेयर्ड भर्जनको रुपमा रहेको जिक्सर एसएफमा पनि १५४.९ सीसीकै सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ र यसले १४.८ पीएसको पावर र १४ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य दुई लाख ७७ हजार नौ सय रुपैयाँ तोकेको छ । टिभिएस अपाचे आरटिआर १६० ४भि आरटीआर १६० ४भि मा १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले यस बाइकलाई दुई लाख ८८ हजार नौ सय रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यामाहा एफजि भी२ एफजी भी२ मा १४९ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.१ बीएचपीको पावर र १२.८ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले यस बाइकलाई दुई लाख ९७ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गरिरहेको छ ।

सरकार र मेडिकल कलेजबिच दुई बुँदे सहमति, विद्यार्थीको शुल्क फिर्ता हुने

काठमाडौं। निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीहरुसँग बढी लिएको शुल्क फिर्ता गर्न राजी भएका हुन्। मंगलबार राती बसेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालया उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष,शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको बैठले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो। रातिको ११ बजे मात्र बैठकले यस्तो गरेको हो। यसअघी दिउँसो गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता नभए मेडिकल कलेज संचालकहरुलाई कारबाही अगाडि बढाउने निर्णय गरेको थियो। बढी लिएको शुल्का फिर्ता हुने निर्णय भएसँगै मेडिकल कलेज र विद्यार्थीबिच भएको लामो समय देखिको विवाद अन्त्य हुने भएको देखिन्छ।

एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजना, हरेक महिना १० लाख रूपैयाँ जित्ने माैका

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छन् । आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार (मंसिर १३, २०७६) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

एनआईसी एशिया क्यापिटलले पायाे आईएसओ प्रमाणपत्र, मर्चेण्ट बैंकरहरुमध्ये पहिलो

काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ । जसले एनआईसी एशिया क्यापिटलसँग आवद्ध ग्राहकहरुलाई सुविधाजनक, गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुष्टी गर्दछ । यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको छ । उक्त प्रमाणपत्रको प्राप्तीसँगै गुणस्तरीय सेवाहरु प्रदान गर्नुको साथै सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटो छरितो सेवा प्रदान गर्न क्यापिटल सदैव प्रतिबद्ध रहेको छ । यस क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, यस क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतकाे सामूहिक लगानीकोष योजना “एनआईसी एशिया ग्रोथ फण्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड फण्ड” संचालन गरिरहेको छ ।

सिभिल बैंकले यसरी मनायो नवौं वार्षिकोत्सव (फोटो फिचरसहित)

काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । साे अवसरमा बैंकले  विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेकाे छ । सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः -बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा आज तथा वार्षिकोत्सवको दिनदेखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । – बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान। -व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान। – श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान । – चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेको छ । – असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृष्टीविहिनहरुको लागि १०० थानविशेस छडी प्रदान । – श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान । – पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान । -नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान । तीनवटा शाखा संचालनमा बैंकले वाषिककोत्सवको अवसरमा विभिन्न तीन स्थानमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले निजगढ, चन्द्रनिगाहपुर र दमौलीमा गरी तीन नयाँ शाखा संचालनमा ल्याएको हो । दमौली शाखाको उद्घाटन निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरेका हुन् । चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरेका छन् । चन्द्रनिगाहपुर शाखाको उद्घाटन त्यस्तै, दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गरेका हुन् । यी तीन नयाँ शाखा सहित बैंकको शाखा संख्या १०१ पुगेको छ भने एटीएम संख्या ७६ पुगेको छ । दमौली शाखाको उद्घाटन समारोहमा व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको चेक प्रदान निजगढ शाखाको उद्घाटन सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान असहाय सेवा केन्द्र नेपाललाई दृष्टीविहिनहरुको लागि १०० थान विशेष छडी प्रदान विराटनगरको श्री नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेसकालागि सहयोग हस्तान्तरण पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई खाद्यान्न प्रदान लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई ५ थान डस्टविन प्रदान