विकासन्युज

उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री गुरुङ

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकास अपरिहार्य भएकोमा जोड दिएका छन् । स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रबर्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रबर्धनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रबर्धन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

इयुहोफा सम्मेलन आजबाट, विश्वभरिका ७० पर्यटन शिक्षासम्बद्ध विज्ञ नेपालमा

होटल स्कुल एसोसिएसन (इयुहोफा)को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखिदेखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपालले गर्न लागेको यस कार्यक्रम एसियामै पहिलोपटक हुन लागेको हो। यस भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । उक्त कार्यक्रम सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको थियो । यसरी, काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन्। पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन शुरु भएको केही दशक मात्र भएको छ। तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो। यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन्। नेपालको आयोजना किन महत्त्वपूर्ण छ ? अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मिक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो। युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो।  

यसअघि कसैले नगरेकाे काम हामीले गरेका छाैं, कम्तिमा ५० वटा गाेल्डमेडल जित्छाैं- रमेश सिलवाल

रमेश सिलवाल- सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी हामीले भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । हामीले २८ वटा खेलमा २५ वटाको स्थान तयार गरिसकेका छौं । हाम्रो हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा छौं । खेल मैदान अझै तयार भईसकेको छैन नि ? पूर्वाधार बनेन भनेर कुनै पनि खेल रोकिने अवस्था आउने छैन । ११ गते रातीसम्म सबै काम सम्पन्न गरिसक्ने छौं । १२ गते १ बजे सम्पूर्ण तयारी पूरा गरेर सबै तयारी पूरा भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । पूर्वाधार बाहेकको तयारी कस्तो छ ? पूर्वाधार बाहेक हामीले अन्य सबै तयारी गरिसकेका छौं । जस्तै, हामीले काठमाडौंमा १२५ वटा होटल, पोखरामा ३५, जनकपुरमा १५ वटा होटल बुक गरिसकेका छौं । पत्रकारहरु बाहेक ५४०० व्यक्तिको लागि हामीले सिंगल र डबल गरेर ३२०० बेड बुक गरेका छौं । कति खेलाडी सहभागी हुँदैछन् ? खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् । नेपाली खेलाडीहरुको तर्फबाट कस्तो तयारी भइरहेको छ ? खेलाडीहरुको तर्फबाट तयारी एकदम राम्रो भईरहेको छ । मैले उनीहरुलाई नजिकबाट हेरेको छु । म आउनुभन्दा अगाडी असार मसान्तसम्म १३ वटा खेलको बन्द प्रशिक्षण रहेको थियो । म आएपछि हामीले साउनदेखि बाँकी खेलको बन्द प्रशिक्षण गरायौं । हामीले कम्तिमा पनि हरेक खेलको ४ देखि ५ महिनाको बन्द प्रशिक्षण पहिलो, दोस्रो र तेस्रो ३ चरणमा विभाजन गरि गराएका छौं । यस्तै, बाँकी खेलका खेलाडीलाई विदेशमा लगेर प्रशिक्षण गरायौं । त्यसको मुख्य उदेश्य भनेको एउटा राम्रो प्रशिक्षकबाट प्रशिक्षण गराउनको साथै, एक्सपोजर म्याच, प्रयाक्टिस म्याच तथा एक्र्टनर कम्पिटिशन गराउनु थियो । अहिले हामीले दिएको प्रशिक्षणको नतिजा पनि देखिन थालेको छ । जस्तै, हामीले भलिबल प्रतियोगितामा स्वर्ण पदक, फुटबलमा रजत पदक जितेका छौं । भुटानमा भएको गल्फमा रेकर्ड बे्रक गर्दै स्वर्ण पदक जित्यौं । अहिलेसम्म नजितेको कराँते प्रतियोगितामा चीन खेलेर १ रजत र ३ कास्य ल्याउन सफल भयौं । त्यसैगरि बाङलादेशमा भएको तेकोन्दोमा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक ल्याउन सफल भयौं । यी सबैले प्रशिक्षण प्रभावशाली भएको देखिन्छ । सागका नतिजामा नेपालको स्थान के होला ? सागको नतिजा राम्रो आउँछ । हामीले दोस्रो हुने तरिकाले तयारी गरेका छौं। न्युनतम ५० वटा स्वर्ण पदकको हामीले अपेक्षा गरेका छौं । तपाईको भनाईहरु जोशिलो छ र सुन्दा आनन्द पनि लाग्छ । तर नतिजा चाहि निराशाजकन आउने हो कि ? अहिले तपाईहरुलाई मैले हचुवाको भरमा र झुटो बोलेको जस्तो लाग्ला । मैले भरोसा गर्न भनेको प्रशिक्षक र खेलाडी र संघहरुसँग हो । उहाँहरुसँग लिएको रिर्पाट अनुसार हामी ५० भन्दा बढी स्वर्ण जित्छौं । अझै प्याराग्लाईडिङ खेल हुने भएमो भए ५ वटौ स्वर्ण हाम्रो हुन्थ्याे । तर त्यसमा अन्य देशले सहभागि गरेनन्। जम्मा ३४९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन्छ । त्यसमा ५० हाम्रो पक्का हो । अफगानस्थान किन सहभागी नभएको हो ? १२ औं सागमा अफगानस्थानको सहभागी थियो तर त्यसपछि उ अर्को जोनमा गयो । हामीले यहाँ गेम गराउने कुरा थाहा पाएपछि उनीहरुले सहभागी जनाए । तर हाम्रो सेड्युल बनिसकेकोले हामीले १० खेलमा मात्र खेल्न दिन सक्ने बतायौं तर उनीहरु यसमा सहभागी हुन चाहेनन् । यो सागभित्रको अर्थतन्त्र कस्तो छ ? कति बजेटमा काम भईराखेको छ ? झट्ट हेर्दा यो खर्च जस्तो देखिन्छ किनभने हामीले पूर्वाधार बनाउन र खेल खेलाउनको निम्ति करिब ५ अर्ब बजेट विनियोजित छ । तर यो खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ । कसरी भन्दा अहिले हामी भिजिट नेपाल २०२० को संघारमा छौं । हामीले यस पटक विदेशी च्यानलहरु ल्याएर हाम्रो खेलहरुको प्रत्यक्ष प्रसारण गर्दै छौं जुन २ अर्ब भन्दा बढि मानिसको घरघरमा पुग्छ । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ । दोस्रो यसको समचार सम्प्रेशणको लागि विदेश र स्वदेश गरेर ७ सय पत्रकार बोलाएका छौं । जसमा २ सय देखि ३ सय पत्रकार विदेशदेखि आउँछन् । यो हाम्रो निम्ति ठूलो अवसर हो । दोस्रो खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँछन् । यस्तै खेलाडीहरु खेलमात्र खैल्न आउँदैनन् । उनीहरुले यहाँका होटल, रेष्टुरेन्ट, मलमा खर्च गर्छन् जुन सबै नेपाली अर्थतन्त्रमा जोडिन जान्छ । खेल आयोजना गर्दा कति आम्दानी हुँदैछ र आम्दानी कुन ठाउँमा खर्च हुँदैछ ? सागको ईतिहासमै पहिलोपटक हामीले यस्तो गर्न लागेका छौं कि प्रसारणको अधिकार अरुलाई दिएर हामीले ८ करोड रुपैंया आर्जन गर्दैछौं । प्रसारणको अधिकार भारतीय नक्षेत्र च्यानलले लिदैछ । त्यस्तै भैन्यु ब्रान्डिङ पनि हामी गर्दैछौं । यि दुवैबाट हामीलाई न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । अर्को हामीले टिकटबाट पनि आर्जन गर्दैछौं । हाम्रो रंगशालाको क्षमता १७ हजार हो । नेपालको खेल भएको दिन दर्शक धेरै हुनेछन् भने अन्य दिन थोरै हुनेछन् । ९ दिन हुने खेलमा न्यूनतम १० हजार दर्शक लिए पनि ५ सयको दरले करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यसरी विभिन्न शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका स्र्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं । खेलाडीहरुले पाउने सुविधाहरु के कस्ता रहेका छ ? पहिला खेलाडीको भत्ता प्रतिदिन १४ सय हुन्थ्यो भने अहिले म आएपछि बढाएर देनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म बनाएका छौं । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सिद्धिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । उनीहरुलाई राम्रो प्रशिक्षण दिनको साथै हरेक हप्ता स्वास्थ्य अवस्था जाँचमा लगिरहेका छौं । यस्तै उनीहरुलाई पहिलाका पदक विजेताहरुको तर्फबाट प्रेरणा मिल्ने कार्यक्रम संचाल्न गरेका छौं । यस्ता रिफेश्मेन्टको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छौं । हामीलाई आशा छ यि सबै कुराहरुले खेलाडीहरुलाई राम्रै प्रभाव परेको छ । सागप्रति संचार क्षेत्रबाट केही गुनासा पनि आएका छन् । जस्तो नेपालीहरुलाई प्रशारणको अधिकार नदिएको गुनासो छ । यसमा भएको के हो ? गुनासो खेलाडी, प्रशिक्षक र संघ कतैबाट आएको छैन । आएको छ त केवल केही पत्रकारहरुबाट जो पत्रकारको दर्जाका लायक छैनन् । प्रशारणको अधिकारको कुरा गर्नुपर्दा कुन नेपाली च्यानलसँग क्षमता छ जसले यी सबै गेमको लाइभ गर्न सक्छन् ? सक्ने व्यक्ति वा संस्था मसँग कुरा गर्न आउन् । साँघुरो मानसिकता बोकेर हुँदैन । अहिले चाँही विश्वमा ओलम्पिकको, एसियन गेमको प्रशारण अधिकार बेचिएको हुन्छ । किनभने त्यो बढी भन्दा बढी मानिसहरुमा पुगोस् भनेर । खेल आयोजना गर्ने भनेको डुब्नको लागि होइन । यो भनेको राष्ट्रको आर्थिक अवस्था बढाउनको लागि गरिन्छ । यो कुराहरु सबैले बुझ्नुपर्छ । हामी नेपालको घेरा भित्र मात्र रहन सक्दैनौ । सात वटा राष्ट्रमा मात्र नभएर जापान, हङकङ, कोरिया, सिङापुर, थाईल्याण्ड जस्ता देशहरुमा पनि हामी लाईभ ब्रोडकास्ट गर्दैछौ । यति राम्रो काम गर्दा कसरी भयो कमजोरी । हामीले जे काम गरेका छौं, यसभन्दा अगाडि कसले हिम्मत गरेको थियो ? प्रशारण अधिकार लिने च्यानलले के के अधिकार लिएकाे छ ? प्रशारण अधिकार लिने च्यानलले सम्पूर्ण ठाउँमा टिभीमा प्रशारण गर्ने अधिकार लियो । उसले त्यसको विज्ञापनको अधिकार पनि लिन्छ । नेपालमा यात्रो ठूलो खेल हुँदा हामीले एउटा फुटेज पनि खिच्न नपाउने भयो भनेर फोटो पत्रकारहरु निराश भएका छन् नि  ? सबैले एउटा कुरा बुझन जरुरी छ कि कसैले प्रशारण अधिकार किन्छ भने सबै उसको हातमा जान्छ । संसारभरमा नियम यही नै हो । यदी तपाई मोबाईल फोन किन्नुहुन्छ भने के त्यसमा मेरो ह्क लाग्छ त ? त्यस्तै यसमा हामीले केही गर्न सक्दैनौं । तर पत्रकारहरुलाई समाचार संकलनमा समस्या भने आउँदैन । यस्तै फोटो पत्रकारहरुलाई पनि फोटो खिच्ने व्यवस्था हामी मिलाउँदै छौं तर हामी यसको लागि पनि केही नियम बनाउँने छौं । उनीहरुले फोटोको नाममा भिडियो खिच्न पाउँदैनन् । यदी यस्को गरेको पाईएमा उनीहरुको कार्ड रद्द गरिनेछ । हाम्रो अफिसियल क्यामराहरुले पनि खिच्नेछ तर यहाँ अन्यलाई भिडियो गर्न दिईनेछैन । नेपाली मिडियाहरुको सबैकुरा खिच्न पाउनुपर्छ भन्ने आएका छन् । के अब नेपाली मिडियाले भनेको सबै कुरामा हामी ल्याप्चे लगाउनु पर्ने ? विदेशी च्यानलले हामीलाई करोडौं दिन्छु भन्दै आएका छन् । नेपाली मिडिया उल्टै हामीले कति दिने भन्ने कुरा गर्छन् । उनीहरुलाई फोटो खिचेको, भिडियो खिचेको पैसा दिनुपर्ने रे । उहाँहरुले समाचार प्रयोजनको लागि पाउने एउटा पाटो हो तर अब भिडियो खिच्नै पाउनु पर्छ भन्नुहुन्छ भने आउनुहोस् पैसा तिरेर प्रशारणको अधिकार लैजानुहोस् । यद्यपी यहाँ विज्ञापनको सबै रकम नक्षत्र च्यानलले लैजान पाउँदैनन् । यसमा हाम्रो ५०/५० प्रतिशत रहनेछ । अनि हामीले कहाँ गल्ती गर्यौं ? प्रतियोगिताको क्रममा हुने जोखिम व्यवस्थापन गर्ने तयारी कस्तो छ ? हामीले जोखिम व्यवस्थापनको लागि दमकलको व्यवस्था गरेका छौं । हामीसँग एमबुलेन्स सेवाको व्यवस्था छ । अस्पतालहरुमा आईसियु र सिसियुमा बेडहरु छुट्टाए राखेका छौं । यस्तै ३५० डाक्टर र नर्सहरु प्रत्यक्ष रुपमा परिचालन गर्दैछौं । यस्तै नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्माचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरीसकेका छौं । विदेश खेलाडीहरुको हकमा भने हाम्रो गर्ने नियम थिएन तर पनि हामीले विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिदिएका छौं । सागको समग्र व्यवस्थापनमा कति कर्माचारी संलग्न हुन्छन् ? हाल व्यवस्थापनाको तर्फबाट हेर्नु भयो भने काठमाडौं, पोखरा र जनकपुर गरी ३ हजार मान्छे रहेका छन् । जसमा १२ सय कर्माचारी छन् । ५ सय जति स्वयंम्सेवक हुन्छन् । विभिन्न २७ वटा संघसंस्थामा बसेर काम गरिरहेका साथीभाईहरुको क्रियाशिलता रहेको छ । यदी २७ वटै संघको साथीभाई जोड्ने हो भने ५ हजार बढी पुग्छ । २२ हजार सुरक्षाकर्मीहरु खट्दैछन् । ओपनिङ र क्लोजिङ सेरोमोनीको दिन व्यवस्थापन कार्यमा करिव १५ हजार मानिस खट्दैछन्। सार्क आँफैमा सक्रिय हुन सकेको छैन । यसबीचमा साग गेमले कस्तो सन्देश दिन खोजेको छ ? एक दमै राम्रो प्रश्न सोध्नुभयो । राजनीतिले विभाजन ल्याउँछ र खेलकुदले एकता ल्याउँछ । भारत र पाकिस्तानबीच राजनीतिक तनाव भएकोले सागमा यी देशका खेलाडीले भाग लिदैनन् भनेर पनि मिडियाले लेखे । दुबै देशले सागमा भाग लिएका छन् । यस खेलको क्रममा भारत र पाकिस्तान बीचको मिलाप हुँदैछ । दुई राष्ट्रका खेलाडीहरु हात मिलाउँछन् र कतिले खेलपछि अंगालो पनि हाल्छन् जसले अन्तरराष्ट्रिय स्तरमा निकै नै राम्रो सन्देश दिन जान्छ । नेपालले पनि यस्तो अन्तरास्ट्रिय स्तरको कार्यक्रम संचालन गर्न सक्षम छ भनेर विश्वमा चिनाउँछ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार- अस्पताल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ। अस्पतालले बिहान १०:३० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो। प्रधानमन्त्री ओलीको मंगलबार स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो। मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो। प्रधानमन्त्री ओलीलाई डा. रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।

जुत्ता मेलामा ७० प्रतिशत छुट सहित डेढ सयदेखि १० हजारसम्मका जुत्ताचप्पल

काठमाडौं । चावहिलका रामेश अधिकारी जुत्ता किन्न कहिले पनि ब्राण्डेड शोरुममा गएनन् । उनको रोजाइ भनेको भृकुटी मण्डलमा लाग्ने मेला जुत्ता मेला नै हो । वर्षमा ३ जोर जुत्ता फटाउने गरेका उनी १० वर्षदेखि भृकुटीमण्डपमा हरेक वर्ष लाग्ने जुत्ता मेला पुग्छन् र जुत्ता किन्छन् । यहि जुत्ताले उनको वर्ष धान्छ । अर्को वर्ष फेरि यहि लाग्ने जुत्ता मेलामा नै पुगेर जुत्ता खरिद गर्छन । ‘मेलामा जुत्ता किन्दा छुट पाउनुका साथै धेरै वटा ब्राण्डका जुत्ता छानिछानी एउटा छानामुनी किन्न पाइन्छ,’ उनले भने ‘मलाईमात्र होइन मेरो परिवारलाई रोजाइ पनि यहि मेला बनेको छ ।’ घरमा बस्ने चप्पलदेखि कार्यालय जाने जुत्ता, स्कुल तथा पार्टी सुज समेत उनले यहि खरिद गर्ने गरेका छन् । ५ जनाको परिवारलाई एक्कै पटक करिब २० हजार खर्च गरेपछि वर्षभरिनै जुत्ता किन्ने टेन्सन उनलाई हुँदैन । ५ वर्षयता त उनले उनका आफन्तलाई समेत यसरी नै जुत्ता खरिद गर्न लगाउने गरेका छन् । भृकुटीमण्डपको मेलामा भेटिएका उनले जुत्ताको झोला देखाउँदै भने ‘१ वर्षको लागि मैले अन्य शोरुममा जुत्ता किन्न धाउनु पदैन, मलाई विदेशी ब्राण्डेड जुत्ताभन्दा स्वदेशी उत्पादन नै मन पर्छ ।’ स्याङ्जा घर भएकी रमा नेपाली पनि जुत्ता किन्न वर्षको एक पटक भृकुटीमण्डपमा लाग्ने मेलामा नै पुग्छिन् । मेलामा सुलभ मूल्य र आकर्षक छुटका साथ जुत्ता खरिद गर्न पाउने भएकाले आफू मेलामा जुत्ता किन्न आउने गरेको बताइन् । ‘हरेक वर्ष जुत्ता मेलामा जुत्ता किन्छु,’ उनले भनिन् ‘मेलामा स्टल राख्ने व्यवसायीहरूले मलाई आफन्तजस्तै व्यवहार गर्न थालिसके ।’ नेपालका लोकप्रिय ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ता–चप्पलहरू एउटै छानामुनी पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको आयोजकले बुझाइ छ । भृकुटी मण्डममा सञ्चालित मेलामा दैनिक १० हजार भिजिटर आउने गरेको बिएफ डियर हिलका प्रवन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिला तथा पुरुषले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल उपलब्ध छन् । १० दिने उक्त मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि १० हजारसम्मका जुत्ता उपलब्ध छन्। मेलामा १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था छ । दैनिक मेलामा करिब ५ सय जोर जुत्ता बिक्री हुने गरेको छ । नेपाली जुत्ता प्रयोग गर्ने उपभोक्ताहरू जुत्ताको सस्तो अफर सुनेर मेलामा आउने गरेका हुन् । मास पब्लिकसम्म नेपाली जुत्ता पर्याउन मेलामा आयोजना गरिएको उपाध्यायले बताए । मेलाको मुख्य उद्देश्य भनेको चाहिँ प्रचार प्रसारनै हो । जुत्ता फ्रिमा दिन सकिदैन, तर सहुलियत मूल्यमा भने दिन सकिन्छ । मेलाको उदेश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएकाले यो मेला ग्राहक महानुभावको आकर्षणमा परेको हो । मेलामा राखिएका जुत्ता चप्पल फ्याक्ट्रीबाट सिधै उपभोक्तासम्म पुग्ने हुँदा निकै कम मूल्यमा उपलब्ध हुने आयोजकहरूको भनाइ छ । नेपाली उत्पादकहरूबाट उत्पादित उच्च गुणस्तरीय ५ वटा चर्चित ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । यही मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालित मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ता–चप्पल उपलब्ध छन् । उपभोक्ताले जुत्ता–चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका उपाध्यायले सुझाव छ । जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘उपभोक्तालाई ब्राण्डेड न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्नेका लागि मेला उचित स्थान होे,’ प्रसाइले भने । मेलामा जुत्ता उत्पादक कम्पनीहरूले हिउँदंलाई लक्षित गरी उत्पादन गरेका नयाँ मोडलका जुत्ता–चप्पल समेत उपलब्ध छन् । नेपालका चलेका ब्राण्डहरूका चुत्ता–चप्पलहरू राखिएकोले ग्राहकहरूको भीड लागेको रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानले बताए । मेलामा विवाह र जाडोको सिजनलाई लक्षित थरीथरीका पार्टी सुज उपलब्ध छन । मेलामा महिला र पुरुष दुबैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध छन् । यहाँ महिला÷पुरुष दुबैका लागि सिजनल बुटहरु समेत राखिएका छन् । सरकारले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न तुलनात्मक लाभका वस्तुभित्र नेपाली जुत्ता चप्पललाई समावेश गरेपनि सरकारले गरेका नीति नियम काजगतमात्र सीमित हुँदा व्यवसायीले उचित लाभ भने पाउन सकेका छैनन् । बजारमा व्याप्त न्यूनबिजकीकरण र चोरी पैठारी कारण सरकारले स्वदेशी उत्पादनलाई दीगो रुपमा विकास गर्न गरिएका प्रयासबाट खासै उपलब्धि हासिल गर्न सकेको छैन । सरकारले नेपालमा उत्पादित जुत्तालाई संरक्षण गर्न चालु आवदेखि भन्सार महशुललाई २० बढाएर ३० प्रतिशत पुर्याएको छ । प्राविधिक जनशक्तिको अभाव, आयात प्रतिस्थापन गर्न नसक्नु जस्ता कारणले जुत्ता व्यवसायीले लक्षित उपलब्धि हासिल गर्न नसकेका हुन् । कच्चा पदार्थ नेपाल छैन । विदेशबाटै ल्याउनु पर्छ,’ व्यवसायीले भने । हाल फूड वेयरमा १ हजार ५ सय व्यवसायीले करिब ३५ अर्ब लगानी रहेको छ । वार्षिक १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार जुत्ता–चप्पलको कारोबार हुने गरेको छ । नेपाली बजारमा खपत हुने चुत्ता–चप्पलमध्ये ६० प्रतिशत स्वदेशी उत्पादन हो भने वाँकी ४० प्रतिशत अहिले पनि विदेशी हुन् । पछिल्लो समय जुत्ता प्रयोग हुने ५० प्रतिशत सोल र अन्य म्याटरियल समेत नेपालमै बन्ने गरेको छ । पछिल्लो समय जुत्ताको मूल्य बढेको छ भने गुणस्तर सोही अनुसार बढ्न नसकेको व्यवसायीको गुनासो छ ।

नेपाली सेनाद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

भीमदत्तनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामाग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामाग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई ध्यानमा राखी न्यानो लुगा वितरण गरिएको जनाएको छ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सेनाको सहयोग सामग्री प्राप्त गरेपछि अध्यक्ष चन्दले नेपाली सेनाले एक दशकभन्दा बढी समयदेखि वद्धाश्रमलाई सहयोग गर्दै आएको बताए । विसं २०६३ मा सेनाकै सहयोगमा वृद्धाश्रम भवन निर्माण गरिएको हो । वृद्धाश्रम सञ्चालनमा नेपाली सेनाको ठूलो सहयोग रहेको छ । सो अवसरमा सेनाको श्री नं २५ फिएको चिकित्सकसहितको टोलीले वृद्धवद्धाको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । श्री नंं २५ फिएबाट उपसेनानी डा. बबिता सिल्वालसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । खाद्य सामग्री वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहायकरथी पण्डित, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यात, श्री नं २५ बाहिनीका सेनानी गोरख पुजारालगायत सैनिक अधिकृतको सहभागिता थियो । रासस

माडीकाे सोमेश्वरगढी प्रदेश सरकारको प्राथमिकतामा: मन्त्री नेपाल

काठमाडौं । प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताए । माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गरे । स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न माडी सोमेश्वरगढी कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो । मुलुककै १०० पर्यटकीय गन्तव्यमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सोमेश्वरगढीमा मूर्ति कार्यशालाको सिर्जनाले थप सम्भावना उजागर गरेको उनले उल्लेख । निकुञ्जको बाटो हुँदै २४सै घण्टा माडी आवतजावतका लागि पहल थालिएको उनले बताए । “समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रिमण्डलीय तथा स्थानीय जनप्रतिनिधिसँग छलफल भएको छ”, उनले बताए । कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीका ५० भन्दा बढी मूर्ति सीमा सुरक्षामा साक्षी रहने विश्वास व्यक्त गरे । सम्भावनाको उर्वरभूमि माडीको सोमेश्वरगढीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि समन्वय गरेकामा नगरप्रमुख ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई भने । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा गत कात्तिक २३ गतेदेखि उक्त क्षेत्रमा मूर्ति कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा सहभागी चर्चित मूर्तिकारले गढीमा ५० भन्दा बढी परम्परागत, धार्मिक, आधुनिक र समसामयिक मूर्ति कुँदेका थिए ।

चिसाे बढेसँगै राडीपाखीको व्यापार बढ्याे

रुकुमपूर्व । जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो । भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा वर्षेनी असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने गर्छ । पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु पाँच हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–५ की सूर्यकुमारी पुनले बताइन् । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ । “उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ”, उनले भनिन् । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गएपनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उनको भनाइ छ । जिल्लाको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । भुमे गाउँपालिका–८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । “कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्”, उनले भनिन् । रुकुमपूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ । रासस