कामना र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।
बेष्ट फाइनान्स र नेपाल रेडक्रसबीच सम्झौता
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरबीच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने बिषयमा संझौता भएको छ । सो सम्बन्धी संझौतापत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छन् । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरसंग स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
समायोजन रोजेका ७७ हजार मध्ये सरकारले गर्यो २३ हजार कर्मचारी समायोजन
काठमाडौँ । सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । उनका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेर सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने प्रक्रिया शुरु गरेको थियो । सहसचिव पनेरुले परराष्ट्र, संसद्, लेखा परीक्षण र न्याय सेवा समूहका सबैमा समायोजन गरिसकेको बताए । उनले वाँकी रहेका कर्मचारीको समायोजन दैनिकरुपमा भइरहेको जानकारी गराए । रासस
राष्ट्र बैंकले यसरी जलाउँछ हजार र पाँच सयका नोट, वार्षिक कति नष्ट हुन्छ ?
काठमाडौँ । सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैकको ढुकुटीमा पुग्छन् ।त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र बैंकले सटहीको सुविधा पनि दिएको छ। राष्ट्र बैंको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिएको छ । राष्ट्र ब्याङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने, विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाबाट पुराना तथा झुत्रा नोटहरू केन्द्रीय ब्याङ्कमा जम्मा भएपछि ती नोटहरू फेरि चलनचल्तीमा ल्याइँदैन, कानुनी प्रक्रिया पुर्याएर जलाइन्छ। विभागका अनुसार गत आर्थिक वर्षमा ५६ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गरियो । यसै हप्ता मात्रै झन्डै १२ करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो । तर केही वर्षयता चलनचल्तीमा जान अयोग्य नोटको परिमाण बढेको राष्ट्र ब्याङ्कके जनाएको छ । राष्ट्र ब्याङ्कले नोट नष्ट पार्ने कामलाई धुल्याउनु भन्छ । आर्थिक वर्ष २०७२/७३ मा ३८६ अर्ब रुपैयाँ, २०७३/७४ मा ४३१ अर्ब रुपैयाँ र २०७४/७५ मा ४९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । नोटको आयु कति ? आर्थिक वर्ष २०७०र७१मा १९ अर्ब रुपैयाँ, २०७१/७२ मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ । सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको भनाइ छ । पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन् । तर, यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन । राष्ट्र बैंकले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ । पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ। कसरी छानिन्छ नोट ? निरौलाका अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका तथा अङ्गभङ्ग भएका नोटहरू केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ। राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनः भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ। राष्ट्र ब्याङ्कले जलाउनका लागि नोटहरू छुट्याएपछि ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ। तर साना दरका नोटमा भने प्वाल पारिँदैन। प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ । नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्याइन्छ। जलाउनुअघि र्यान्डम स्याम्प्लिङु विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ। कसले गर्छ निगरानी ? मुद्रा व्यवस्थापन विभागको प्रमुख संयोजक रहने एउटा समितिको रोहबरमा ती नोटहरू नष्ट पारिन्छ । सो समितिमा सरकार र आन्तरिक लेखा परीक्षण विभागलगायत विभिन्न निकायका प्रतिनिधिहरू हुन्छन् । नोटका बिटालाई भट्टीमा राखेर मट्टीतेल खन्याई आगो सल्काएपछि उपस्थित निकायका प्रतिनिधिले भट्टीमा ताला लगाउँछन् । त्यसको केही घण्टापछि सबै नोट जलेको निर्क्योल भएपछि भट्टी पखाल्ने काम गरिन्छ । यो कामको सीसीटीभीबाट निगरानी पनि गर्ने गरिएको उक्त विभाग मातहतका नोट कोष तथा नगद फाँटका कायममुकायम सहायक निर्देशक शङ्करप्रसाद बजगाईँले बताए। विकल्प के छ ? राष्ट्र बैंकले झु्त्रा नोट नष्ट गर्ने परम्परागत शैली अन्त्य गर्ने भएको छ । नोट जलाउने विद्यमान तरिका वातावरणका लागि उपयुक्त नभएको र प्रक्रिया पनि अत्यन्त झन्झटिलो भएको राष्ट्र बैंकको ठहर छ। मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले भने, त्यसैले आगामी एक वर्षभित्र नोट नष्ट गर्ने र त्यसबाट ब्रिकेट बनाउने आधुनिक प्रविधि भित्र्याउन हाल टेन्डरको प्रक्रिया जारी रहेको छ। तर, नोटको आयु लम्ब्याउन सके झुत्रा नोट नष्ट गर्न लाग्ने खर्च घटाउन सकिने अधिकारीहरूको सुझाव छ। प्रयोगकर्ताले नोटमा केरमेट गरे वा नष्ट गर्न खोजेमा कम्तीमा तीन महिनासम्म जेल सजाय वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था छ। राष्ट्र ब्याङ्कका अनुसार झुत्रा नोट विस्थापित गर्न मात्र नभई चलन चल्तीमा रहेका एक, दुई, १०, २५, र २५० दरका पोलिमर नोट हटाउँदै लैजान पनि नोट धुल्याउने कार्य गरिँदै आएको हो । (बीबीसीबाट)
सन नेपाल लाईफ इन्स्योरेन्स र कामना विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राजकुमार अर्यालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभरका ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
चौधरी फाउण्डेसनले बाँड्यो पाँच सयभन्दा बढिलाई कृतिम हात खुट्टा
काठमाडौं । चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको छ । काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताई रहेका सहयोग गर्न पाउ“दा खुसी रहेको बताएका छन् । चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए । नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवश्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ ।
गतवर्षको तुलनामा उद्योगको सङ्ख्या वृद्धि, पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी
काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो । गत आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महिनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए । यस्तै, कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउँछन् । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, उनले भने । नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उनको भनाइ छ । पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो । गत वर्षको छ महिनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ । उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाईं उद्योग क्षेत्र बढ्नु मुलुकको विकासका लागि सकारात्मक कुरा भएको बताउँछन् । “उद्योग बढेसँगै मुलुकमा रोजगारीको वातावरण सिर्जना हुनुका साथै अधिकांश सामान मुलुकमा नै बन्ने भएकाले मुलुकलाई फाइदा पुग्छ”, उनले बताए । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ । विभागले १० करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र साना तथा घरेलु उद्योग विभागबाट दर्ता हुँदै आएका छन् । रासस
शुरू भयाे ‘स्मार्ट छोरी’ अभियान, देशभरका १० हजार किशोरी र महिला सहभागी
काठमाडौं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलामाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ । डिजिटल शीपको अभावले भविष्य अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई विभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । स्मार्ट छोरी खल्तीएपभित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागीहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यवस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् । यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी विकास गर्न सकिनेछ । अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ । स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ? १५ देखि ३५ वर्षसम्मकाकिशोरी तथामहिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्तएपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमाक्लिक गरी यो अभियानमाजोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिलाप्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।