विकासन्युज

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत, अधिकतम १४ परियोजना निर्माण गर्ने लक्ष्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो ।  पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सञ्चालन तथा ९२ निजी लगानीका परियोजनाहरू लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ ।  बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

मोरङ उद्योग व्यापार संघमा आयात-निर्यात सुव्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंसँगको सहकार्यमा संघमा आयात निर्यात नीति सुदृढीकरण तथा सु-व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले सो अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।  कार्यक्रममा संघका अध्यक्ष राठीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका उपसचिव अच्युत ढुंगाना समक्ष उद्योग/व्यवसाय क्षेत्रको आयात निर्यातको विद्यमान अवस्था, समस्याहरू र तीनका समाधानका उपायहरूबारे अवगत गराउँदै सुझाव पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका शाखा अधिकृत गणेश पाण्डे, कोशी प्रदेश अधिकृत चन्द्र बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका नि.कार्यालय प्रमुख हितेश बस्नेत, संघका पूर्व अध्यक्षहरू, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरू, विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सदस्य औद्योगिक/व्यावसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

यामाहाको काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफर

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ ।  यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ ।  यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो । यस्ता छन् सुविधा : जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट । उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू

निसानले वुहान कारखानामा सवारीसाधन उत्पादन अन्त्य गर्ने

काठमाडौं । निसान मोटरले चीनको वुहान कारखानामा सवारीसाधन उत्पादन सन् २०२६ मार्च ३१ भित्र अन्त्य गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो निर्णय वुहान कारखानाको सञ्चालन दर घटेपछि आएको हो, जसको वार्षिक उत्पादन क्षमता ३ लाख सवारीसाधन रहेको छ र जसले एरिया इलेक्ट्रिक गाडी र एक्स–ट्रेल एसयूभी उत्पादन गर्छ ।  चाइनिज कार निर्माता कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन दर घटेको यमिउरी पत्रिकाले पहिले नै रिपोर्ट गरेको थियो । डोङफेङ मोटरबाट भाडामा लिइएको उक्त सुविधामा सन् २०२२ मा सञ्चालन सुरु भएदेखि वार्षिक उत्पादन केवल करिब १० हजार ००० युनिट मात्र पुगेको एक स्रोतले जनाएको छ । जापानी कार निर्माता कम्पनी निसानले बिहीबार सन् २०२५ मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षको लागि ७०० अर्ब येनदेखि ७५० अर्ब येन (४.८७ अर्ब डलर – ५.२२ अर्ब डलर) सम्मको अभिलेख उच्च शुद्ध घाटाको पूर्वानुमान गरेको छ ।

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिमको आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनियरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिन लागिएको हो ।  तालिममा भाग लिनका लागि बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ । आईआईएनका अनुसार इञ्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बीमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक उपाधि हासिल गरेको तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । तालिममा भाग लिनका लागि यही २०८२ साल वैशाख १९ गतेसम्म आवेदन दिन सकिने र पहिले आवेदन दिनेलाई पहिलो प्राथमिकताका आधारमा छनौट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम सञ्चालन गरिने आईआईएनले जनाएको छ ।

यी हुन् आन्दोलनमा घाइते भएका शिक्षक (सूचीसहित)

काठमाडौं । आइतबार भएको शिक्षक आन्दोलनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते शिक्षकहरूको नामावली र्साजनिक भएको छ ।  नेपाल शिक्षक महासंघले घाइते ४६ जनाको नामावली सार्वजनिक गरेको हो ।  घाइते भएकाहरूको काठमाडौंको सिभिल अस्पताल, एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  उपचाररत केही शिक्षकहरू सामान्य उपचारपछि फर्किएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । गम्भीर शिक्षकहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हेलमेटधारीले निम्तिएको अराजक आन्दोलन, शिक्षक र प्रहरीको आ-आफ्नै विश्लेषण  

विद्युत प्राधिकरणको प्रष्टिकरण- केही उद्योगहरूमा मात्रै लोडसेडिङ भएको हो, बाँकी हल्ला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्राधिकरणले आधिकारिक सूचना जारी गरेको हो । आइतबार जारी विज्ञप्तिमा प्राधिकरणले हाल घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जनाएको छ। प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले सामाजिक सञ्जालमा लोडसेडिङ भएको भन्दै जथाभावी हल्ला फैलाइएको बताए ।   'अहिले हामीले भारतबाट प्रतियुनिट १० रुपैयाँका दरले आयात गरिरहेका छौं । ३२ रुपैयाँका दरले प्रतियुनिट विद्युत आयात गरिरहेको कुरा झुट हो । सामाजिक सञ्जाल‍ र मिडियामार्फत भ्रम फैलाउँदै छन् । यसमा हाम्रो आपत्ति छ,’ उनले भने । उनले उद्योगहरूमा मात्रै रातिको समयमा उद्योग चलाउनलाई समस्या भइरहेको बताउँदै यो समस्या विस्तारै हल हुँदै जाने जानकारी दिए ।  प्रवक्ता शिल्पकारले भने, ‘हामीले अहिले बिजुली दिएकै छौं । केही उद्योगहरूमा दिन सकिरहेका छैनौं । किनभने अहिले भारतमा गर्मी र आईपीएलका कारण उतै माग बढी भएकाले हामीले विद्युत आयात गर्न सकिरहेको अवस्था छैन । यो समस्या बिस्तारै हल हुँदै जान्छ ।’  प्राधिकरणका अनुसार हाल देशभर कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ । जसमा प्राधिकरण स्वामित्वका जलविद्युत आयोजना, सौर्य र तापीय संयन्त्रहरू तथा निजी क्षेत्रबाट उत्पादित विद्युत समावेश छन् ।  आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरेर पूर्ति गरिँदै आएको छ । गर्मी याम सुरु भएसँगै भारतमा समेत विद्युत माग बढेकाले रातिको समयमा विद्युत आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिए पनि घरायसी ग्राहकलाई निरन्तर सेवा दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्री-मनसुनको प्रभावका कारण आँधी, हुरी र चट्याङले कतिपय स्थानमा अस्थायी अवरोध हुन सक्ने र मर्मत तथा पूर्वसूचित निर्माण कार्यका कारण कतै–कतै विद्युत आपूर्ति रोकिएको जानकारीसमेत गराएको छ । औद्योगिक ग्राहकहरूलाई भने बेलुकीको समयमा खपत घटाउन आग्रह गरिएको छ । साथै प्राधिकरणले नेपालमा नदीमा बहाव बढ्ने र भारतबाट आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ । प्रवक्ता शिल्पाकरले देशमा लोडसेडिङ हुन नदिन हर प्रयास गरिरहेको दाबी गरे । उनले  झुटो प्रचार नगर्नसमेत आग्रह गरे ।

इम्बार्क रिसर्च रिभ्यु सार्वजनिक, दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत बहस

ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले दिगोपन र आर्थिक समावेशीकरणका विषयमा आधारित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यु - दिगो नेपालको बाटो : दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ सार्वजनिक गरेको छ । आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले पुस्तक विमोचन गरे । कार्यक्रममा प्रदेश सरकार, नेपाल सरकार, निजी क्षेत्र तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गर्दै कलेजको शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा प्रतिबद्धता व्यक्त गरे । युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यबाट नयाँ नीति र कार्यक्रमहरूको विकास भएको उनले बताए । प्रमुख अतिथि प्रा. डा. जीन नोएल एजिन्गार्डले अन्तर्राष्ट्रिय साझेदारीमार्फत मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरू समाधान गर्न सकिने बताए । कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेल र काठमाडौं फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तारमा आवश्यक सुधारहरूबारे बहस गरे । सत्रको सञ्चालन कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले गरे । समापनमा प्रिन्सिपल डा. ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो विकास सम्भव हुने भन्दै साझा प्रयासको आवश्यकतामा जोड दिए । कार्यक्रममा पुस्तकमा समावेश नेपालका विभिन्न व्यवसायमा आधारित एघार उत्कृष्ट केस स्टडीका अनुसन्धानकर्तालाई प्रमाणपत्र वितरण पनि गरिएको थियो । इम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गर्दै आएको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममार्फत अनुसन्धान र नीति निर्माणलाई समेटेर दिगो आर्थिक विकासमा योगदान गरिरहेको जनाएको छ ।