विकासन्युज

सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका बाढी तथा पहिरो पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त स्थानका पीडितलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले उक्त बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

काठमाडाैं उपत्यकामा १५ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय ८७ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ४९, ललितपुरकाे ८९ र भक्तपुरकाे ५१ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टि, १४६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय १० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १४६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सिटिजन्स बैंकले ३ दिनमै एसएमई र घर कर्जा दिने, व्याजदर कति ?

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न ऋण लिन सक्नेछन् । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ । यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।

चालकलाई व्यावसायिक सीप अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा चालकको योग्यता, सीप र उमेरका विषयमा छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको खाकामा सार्वजनिक सवरीसाधन चलाउने चालकका लागि उमेर २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रस्ताव गरिएको छ । चालकले अनुमतिपत्र लिनका लागि १० कक्षा उत्तीर्ण हुनुपर्ने र पहिले निजी सवारीसाधन चलाएको अनुभव हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । बर्सेनी सडक दुर्घटनाका कारण हजारौँ नेपालीले अकालमा ज्यान गुमाइरहेकाले सार्वजनिक यातायातका चालकलाई व्यावसायिक बनाउन लागिएको हो । चालकको योग्यताका कतिपय विषय ऐनमा समेटिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “हामीले प्रस्ताव गरेकामा मन्त्रालयले थपघट गर्नसक्छ ।” झण्डै एक दशक पहिलेदेखि लिइँदै आएको प्रयोगात्मक परीक्षा (ट्रायल) समेत परिवर्तन गरिने भएको छ । अहिलेसम्म निश्चित ठाउँमा लिइने गरिएकामा सडकमै प्रयोगात्मक परीक्षा लिइने गरी व्यवस्था गरिएको महानिर्देशक हमालले बताए । उनका अनुसार सार्वजनिक र निजी दुवै सवारीसाधनको चालक अनुमतिपत्र लिन १० कक्षा उत्तीर्ण हुनुपर्ने भनिएको छ । त्यस्तै, पुरानो ऐनअनुसार निजी सवारीसाधन चलाउन १६ वर्षमा नै चालक अनुमतिपत्र पाउने भए पनि नयाँमा त्यसका लागि १८ वर्ष पुग्नुपर्ने प्रस्ताव गरिएको छ । निजी सवारीसाधन चलाउने व्यक्तिभन्दा सार्वजनिक सवारीसाधन चलाउने व्यक्ति बढी जिम्मेवार बनाउने गरी छलफल अघि बढेको मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । उनका अनुसार सार्वजनिक सवारीसाधन, विद्यालयका बसलगायत बढी यात्रु रहने सवारीसाधन चलाउन थप अनुभवको प्रस्ताव गर्न लागिएको हो । झण्डै तीन दशक पुरानो ऐनका धेरै कुरा अहिले सान्दर्भिक नभएकाले पनि कसरी सान्दर्भिक बनाउने भनी छलफल भइरहेको छ । उनका अनुसार विसं २०४९ मा सो ऐन बन्दाका समयभन्दा अहिले यातायातका क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । पुरानो ऐनलाई कसरी नयाँ सन्दर्भमा जोड्ने भनी मन्त्रालयभित्र विभिन्न पक्षसँग छलफल जारी रहेको छ । उनले भने, “यसमा टुटल पठाओ पनि समेटिन सक्ने गरी छलफल भइरहेको छ ।” संविधानमा यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई पनि दिइएको छ । पहिले सङ्घीय ऐन बनेपछि त्यसैका आधारमा प्रदेश ऐन बन्नुपर्ने भने पनि कतिपय प्रदेश सरकारले यातायात ऐन बनाए पनि नेपाल सरकारले बनाइसकेको छैन ।

कोभिड–१९ को जोखिम कायमै: कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडाैं ।  मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउँछन् । “पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ”, शाहीले भने । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ । अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ । पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ । सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ । आजसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् । नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् । उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ । त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्काे जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले बताए । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।

सेमेष्टरकाे भदौ तेस्रो र वार्षिककाे असोज पहिलो हप्तादेखि परीक्षा गर्ने त्रिविकाे तयारी

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय ९पनिका० का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उनले भने, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छाैं । ” त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ । यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचाैँ र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसकेका छन् ।

बुधबार मात्रै सिंहदरबारका ७ सय कर्मचारीकाे पीसीआर परीक्षण

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ । परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । काठमाडौंंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । Corona Test_Singhadurbar यसरी गरियो सिंहदरबार भित्र कोरोना परीक्षण lसम्बन्धित समाचार – https://www.bikashnews.com/2020/07/29/229785.html Gepostet von Bikashnews.com am Mittwoch, 29. Juli 2020