विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण
काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए । कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो । यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्यो । विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् । यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् । चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी । चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ । जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी । चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ । ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ । रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए । सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् । यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी, उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव, नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी, स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।
कपिलवस्तुमा ५४ मतदानस्थल अतिसंवेदनशील
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कपिलवस्तुमा ५४ वटा निर्वाचनस्थल अतिसंवेदनशील रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले यस जिल्लामा ५० मतदानस्थल संवेदनशीलको सूचीमा रहेको जानकारी दिए । उनका अनुसार सामान्य मतदानस्थल ७९ र संवेदनशील मतदान केन्द्र १०२ वटा छन्। कपिलवस्तुमा २३५ वटा मतदानस्थल र ४९० वटा मतदान केन्द्र छन् । कपिलवस्तुमा कुल मतदाता ३ लाख ९६ हजार २६५ मतदाता रहेको सूचना अधिकारी सिंहले जानकारी दिए । १ लाख ८४ हजार ४१५ महिला र २ लाख ११ हजार ८४६ पुरुष मतदाता तथा ४ जना अन्य मतदाता रहेका छन् ।
चीनमा सस्तो र शक्तिशाली एआई मोडेलको बाढी, अमेरिकी एआईहरूलाई चुनौती दिँदै
काठमाडौं । अमेरिकाका प्रतिस्पर्धी ओपनएआई, एन्थ्रोपिक र गुगलसँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा चिनियाँ कम्पनीहरूले नयाँ कृत्रिम बौद्धिकता (एआई) मोडेलको सार्वजनिक प्रयोग तीव्र रूपमा अघि बढाइरहेका छन् । झन्डै एक वर्षअघि मात्र चीनमा विकसित डीपसीकले कम प्रयोग शुल्क र कम उत्पादन लागतमा एआई च्याटबोट सार्वजनिक गर्दै ओपनएआईको च्याटजीपीटीलाई चुनौती दिएपछि विश्व बजार नै तरंगित भएको थियो । यसले चीनमाथि लगाइएका अमेरिकी प्रविधि प्रतिबन्धहरूको प्रभावकारितामाथि समेत प्रश्न उठाएको थियो । मंगलबार बेइजिङस्थित स्टार्टअप मुनसट एआईले किमी के २.५ सार्वजनिक गर्यो । कम्पनीका अनुसार यसमा भिडियो निर्माण र ‘एजेण्टिक’ क्षमता रहेका छन्, जसले प्रमुख तीन अमेरिकी एआई मोडेलभन्दा राम्रो प्रदर्शन गरेको दाबी गरिएको छ । एजेण्टिक एआई भन्नाले मानिसको तर्फबाट कार्य सम्पादन गर्न सक्ने एआई प्रणालीलाई जनाउँछ । यसको अन्तिम लक्ष्य न्यूनतम प्रयोगकर्ता हस्तक्षेपमै स्वतः काम गर्न सक्ने उन्नत एआई एजेण्ट विकास गर्नु हो । मुनसुटले के टु मोडेल सार्वजनिक गरेको करिब तीन महिनापछि मात्रै यो नयाँ अपडेट आएको हो । यसअघि नै ई–कमर्स दिग्गज अलिबाबाले प्रयोगकर्ताको निर्देशनअनुसार पाठ, तस्बिर वा भिडियो सिर्जना गर्न सक्ने आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको थियो । अलिबाबाका अनुसार यसको क्यूवेन ३ म्याक्स थिङ्किङ मोडेलले ‘मानव अस्तित्वको अन्तिम परीक्षा’ नामक व्यापक बेन्चमार्क परीक्षणमा प्रमुख अमेरिकी प्रतिस्पर्धीहरूलाई उछिनेको छ । अलिबाबाले नयाँ मोडेलले विभिन्न कार्यका लागि उपयुक्त एआई उपकरण स्वतः छनोट गर्न सक्ने, अघिल्ला संवादलाई सन्दर्भका रूपमा प्रयोग गरी अझ प्रभावकारी रूपमा नयाँ उत्तर सिर्जना गर्न सक्ने र यो सबै न्यून अतिरिक्त लागतमा सम्भव भएको जनाएको छ । जनवरी १९ मा जेड एआईले हालै सार्वजनिक गरेको जीएलएम ४।७ मोडेलको निःशुल्क संस्करण ल्याएको थियो । त्यसको दुई दिनपछि अत्यधिक मागका कारण उपलब्ध कम्प्युटिङ क्षमतामा दबाब परेपछि कम्पनीले आफ्नो एआई कोडिङ उपकरणका नयाँ प्रयोगकर्ताको दर्ता अस्थायी रूपमा सीमित गर्यो । गत साता हङकङमा सूचीकृत चिनियाँ प्रविधि कम्पनी बाईडूका सेयरहरू करिब तीन वर्षयताकै उच्च स्तरमा पुगे, जब कम्पनीले आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल अर्नि ५.० सार्वजनिक गर्यो । कम्पनीले यो मोडेल गुगलको जेमिनी– २.५– प्रोभन्दा उत्कृष्ट भएको दाबी गर्यो, तर गुगल डीपमाइन्डको नयाँ जेमिनी थ्री प्रोसँग भने तुलना गरेन । गुगल डीपसीकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले यस महिना सीएनबीसीलाई दिएको अन्तर्वार्तामा चीनका एआई मोडेलहरू अमेरिकी मोडेलभन्दा केही ‘महिना’ मात्र पछाडि रहेको बताएका छन् । नयाँ मोडेल सार्वजनिक गर्नुका अतिरिक्त चिनियाँ कम्पनीहरूले स्वदेशी प्रविधिको प्रयोग विस्तार गर्न उदीयमान अर्थतन्त्रहरूका लागि सस्तो बनाउने रणनीति अपनाइरहेका छन् । अमेरिकामा विकसित धेरै एआई मोडेलभन्दा फरक चिनियाँ एआई मोडेलहरू प्रायः ‘ओपन–सोर्स’ हुन्छन्, जसले निःशुल्क वा कम लागतमा पहुँच र मोडेलको आधारभूत कोड अनुकूलन गर्ने सुविधा दिन्छ । एलएसवाई कन्सल्टिङका संस्थापक एलेक्स लुले भने, ‘चीनबाहेकका देशहरूले पनि यी मोडेल प्रयोग गरून् भन्ने चिनियाँ कम्पनीहरूको अपेक्षा छ । यही माध्यमबाट उनीहरू बजारमा प्रवेश गर्न खोजिरहेका छन् ।’ यो प्रवृत्ति सुरु भइसकेको संकेत पनि देखिएको छ । माइक्रोसफ्टले यसै महिना डीपसीकको प्रयोग अफ्रिकामा अन्य क्षेत्रको तुलनामा दुईदेखि चार गुणा बढी रहेको अनुमान सार्वजनिक गरेको थियो ।
पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २८औं तथा २९औं वार्षिक साधारण सभा बुधबार पोखरास्थित दरबारथोक ब्यांक्वेटमा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष राजकुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का लागि लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । त्यसैगरी, साधारण सभाले समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग बराबरी सेयर अनुपातमा गाभिने (मर्जर) प्रस्ताव अनुमोदन गरेको छ । गत साउनमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मर्जर प्रक्रिया अघि बढाउन गठित संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले तयार पारेको प्रतिवेदन साधारण सभाले पारित गरेको हो । साधारण सभाबाट अनुमोदन भएपछि दुवै वित्तीय संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै संस्था गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’ का नामबाट एकीकृत कारोबार सुरु गर्ने जनाइएको छ ।
विराटनगरमा कर्जा सम्बन्धी नयाँ सफ्टवेयरबारे एकदिने कार्यशाला सम्पन्न
विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र विराटनगर शाखाको संयुक्त आयोजनामा ‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशालामा कोषका सदस्य संस्थाहरू एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको प्रारम्भमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा हाल सञ्चालनमा रहेका कर्जा सम्बन्धी कार्यक्रमहरूको जानकारी गराउनुका साथै सञ्चालनमा आउन लागेको नयाँ कर्जा कार्यक्रमहरूबारे सहभागीलाई अवगत गराएका थिए । गोष्ठीका क्रममा सदस्य संस्थाका प्रतिनिधिहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) रमेश घिमिरेले कोषका भावी योजना, रणनीति तथा कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा भइरहेको प्रयासबारे जानकारी गराए । यसैगरी, कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको प्राविधिक तथा प्रयोगात्मक पक्षबारे प्रस्तुति दिएका थिए । सो अवसरमा सहभागी संस्थाहरूबाट प्राप्त सुझाव तथा रायहरू कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले संकलन गर्दै ती उपयुक्त सुझावहरू सफ्टवेयरमा समावेश गरिने र यसले भविष्यमा कर्जा दाबी तथा क्षतिपूर्ति प्रक्रियालाई थप सहज बनाउने जानकारी दिए । उक्त कार्यशालामा करिब ७५ जनाको सहभागिता रहेको थियो । कोषको वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर छलफल र संवाद गर्दै बजारमा कर्जा सुरक्षणको आवश्यकता पहिचान गर्ने, मौजुदा कार्यक्रमहरूमा देखिएका समस्या समाधान गर्ने तथा सुझाव संकलन गर्ने उद्देश्यले चालु आर्थिक वर्षभित्र सबै प्रदेश समेटिने गरी यस्ता गोष्ठी सञ्चालन गर्ने लक्ष्य कोषले लिएको जनाएको छ ।
अधिक तरलताले बैंकिङ प्रणाली दबाबमा, कर्जा माग नबढ्दा निक्षेप थुप्रिँदै
कृष्णराज गौतम काठमाडौं । अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । ब्याजदर न्यून तहमा कायम गरिँदा पनि पनि कर्जाको मागमा अपेक्षित सुधार आउन नसकेकाले यस क्षेत्रमा चुनौती बढेको हो । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमका कारण बैंकहरूले पनि लगानीमा कडाइ गर्दा निक्षेप थुप्रिन पुगेको हो । बजारमा चाहिनेभन्दा बढी लगानीयोग्य रकम बैंकहरूमा थुप्रिएकाले पनि अहिले पैसा भएर पनि राज्य गरिब भएजस्तो अवस्थामा पुगेको छ । पछिल्लो समयमा रेमिट्यान्स प्रवाहमा सुधार आएकाले निक्षेप थपिने क्रम जारी छ । निक्षेप अत्यधिक हुनुले बैंकहरू घाटामा जाने अथवा डुब्ने अवस्थामा नपुग्ने तर पुँजी वृद्धिमा समस्या हुने उनी बताउँछन् । उनी भन्छन्, 'अत्यधिक निक्षेप बैंकहरूका लागि चिन्ताको विषय हो तर, बैंकहरूले विभिन्न क्षेत्रमा लगानी गरेर नाफा कमाउन सक्छन् ।' केन्द्रीय बैंकले विभिन्न योजना तथा कार्यक्रममार्फत कर्जा प्रवाहका लागि व्यवसायीलाई उत्साहित बनाउने प्रयास गरिरहेको छ । राजनीतिक अस्थिरतासँगै उत्पन्न हुने अवस्था, विभिन्न समयमा आन्दोलन, छोटो समयमा हुने सरकार परिवर्तन तथा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमजस्ता विषयले पनि केही हदसम्म बैंकका नियमित कार्य प्रभावित हुने गरेको पाइएको छ । यस्ता अवसरको उच्चतम् सदुपयोग गर्दै बैंक अगाडि बढ्नुपर्छ । बैंकले लगानी विस्तार गरी जनआकांक्षाअनुरूपका सेवा सुविधा प्रदान गरेर ग्राहकलाई सन्तुष्ट बनाउने कार्यले हुने वित्तीय गतिविधिले नै देशको अर्थतन्त्र चलायमान हुने गर्दछ । बैंकलाई आमनेपाली जनताले विश्वास गर्छन् । मुलुकभर ससाना एकाइमा छरिएको पुँजीलाई एकीकृत गरेर बैंकले विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका हुन्छन् । स्थानीय स्रोतसाधनको सही सदुपयोग गरी लघुउद्यम सञ्चालन गर्न चाहने जनतालाई बैंकले सहयोग गरिरहेको छ । वित्तीय चेतनाको कमीले विगतमा ठूलठूला व्यापारी र व्यवसायीका लागि मात्रै बैंक स्थापना गरिएको हो भन्ने बुझाई समाजमा थियो । बैंक स्थापनापछि पनि वित्तीय सक्षारताको अभावमा सर्वसाधारण नागरिकले वस्तु विनिमयमार्फत कारोबार गर्ने गर्दथे । बैंकिङ कारोबारलाई सहजरूपमा लिइँदैन थियो । मानिसमा बचत र लगानीको महत्वलाई सचेतना फैलाउने कार्य गरेर बैंकले घरेलु तथा साना उद्योगको विकासदेखि मझौला तथा ठूला उद्योग स्थापना गर्न तथा गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारको आम्दानी तथा खर्चको व्यवस्थापन, विदेशी विनिमय सेवा उपलब्ध गराउने, आयात–निर्यात व्यापारमा हिसाब राख्ने, निजी क्षेत्रका व्यवसायी तथा कम्पनीको कारोवारमा समेत बैंकले प्रभावकारी रुपमा कार्य गरिरहेको छ । जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा शून्य दशमलव ५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । कम्तीमा पनि एकसय महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम् ब्याजदरमा प्रदान गरिने कर्जाले पनि तरलता केही सुधार हुने दिने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले दिएका यी सहुलियतहरुले कर्जाको माग बढाउनुका साथै अर्थतन्त्रलाई गति दिन सक्छ । रकम पर्याप्त भएको बेला कर्जा माग नै कम भएपछि निक्षेप व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बैंकलाई छ । कम तरलता हुँदा बजारमा प्रवाह गर्ने र बढी हुँदा तान्ने राष्ट्र बैंकले गर्ने गरेको छ । उनले तरलता व्यवस्थापनका लागि दुई दशमलव ६४ प्रतिशतमा उक्त नौ खर्ब रुपैया राष्ट्र बैंकले खिचेको प्रवक्त पौडेलले जानकारी दिए । अधिक तरलताको समयमा बैंक तथा वित्तीय क्षेत्रमा भएको पर्याप्त लगानीयोग्य रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । बैंकहरुलाई कर्जा प्रवाह गर्ने क्षमता विकास गर्न केन्द्रीय बैंकले नीतिगत रुपमा सहयोग गर्दै आएको छ । अन्तरराष्ट्रिय परिस्थिति, नजिकिँदै गरेको चुनाव, वित्तीय सुरक्षाजस्ता विषयले कर्जाको माग विस्तारै बढ्ने उनले बताए । तुलनात्मक रूपमा न्यून ब्याजदरमा कर्जा पाइने भएकाले व्यापार व्यवसाय विस्तार तथा औद्योगिकीकरण लगायतका अवसर भए पनि राजनीतिक अन्योलता तथा वस्तुको उत्पादन गर्दा लागत महँगो पर्ने हुँदा तरलता व्यवस्थापन हुन नसकेको हो । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने हुँदा बैंकहरुको ब्याज खर्च बढ्न गई नाफामा कमी आउन सक्दछ । त्यसकारण पनि निक्षेपको ब्याजदर घट्न थाल्दछ । निक्षेपकर्ताहरु कम ब्याजदरमा निक्षेप बैँकमा राख्न बाध्य हुन्छन् । त्यसले गर्दा निक्षेपकर्ताको आम्दानीको स्रोतमा कमी आउँछ । लगानीयोग्य वातावरण बन्न नसक्दा कर्जाको माग हुँदैन त्यसले गर्दा लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाह हुने जोखिम बढाउँछ । अधिक तरलताले बचत घट्ने तथा अनावश्यक उपभोग बढ्ने त्यसले मूल्यवृद्धि हुने क्रम हुन्छ । त्यसैगरी राष्ट्रिय स्तरमा आयातमा वृद्धि भई अर्थतन्त्रमा नकारात्मक असर पार्छ । देशको भुक्तानी सन्तुलनमा समेत असर देखा पर्छ । यसले समग्र मूल्यस्तरमा वृद्धि ल्याउने र मुद्रास्फीतिको अवस्था ल्याउन सक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा रेशम थापाले जानकारी दिए । अधिक तरलताका कारण स्वदेशमा भइरहेको बचतको विदेशतर्फ पनि पलायन हुनसक्ने जोखिमको अवस्था ल्याउँछ । तरलता न्यून तथा अधिक हुनु दुवै वित्तीय प्रणालीमा राम्रो मानिँदैन । कर्जाको माग बढेको अवस्थामा बैंकले आफ्नो क्षमताभन्दा बढी लगानी गरेमा न्यून तरलता समस्या हुने उनले बताए। कागजी प्रक्रियाबाट सुरु गरिएको बैंकिङ प्रणाली सूचना प्रविधिको विकाससँगै समयानुकूल परिवर्तन गर्दै सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई आधुनिक डिजिटल बैंकिङसम्बन्धी सेवा सुविधा उपलब्ध गराउने क्षमता विकास गरेका छन् । देशभर बैंकका शाखा स्थापना भएकाले पनि यस क्षेत्रमा धेरै जनताको पहुँच स्थापित हुँदै गएको छ भने ग्राहकको सङ्ख्या पनि बढ्ने क्रममा छ । चालिसको दशकमा सरकारले सुरु गरेको आर्थिक उदारीकरणको नीतिका कारण निजी क्षेत्रबाट बैंक तथा वित्तीय संस्था स्थापना तीव्र रुपमा हुन थालेको पाइन्छ । सामान्यतया कुनै पनि व्यक्ति तथा संस्थाले बैंकमा वचत गरेको वित्तीय सम्पत्ति आवश्यक परेको समयमा सजिलै झिकेर खर्च गर्नसक्ने रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई तरलता भनिन्छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकको दायित्व निक्षेपकर्ताको ब्याजसहित रकम मागेको समयमा फिर्ता गर्नुपर्ने हुन्छ । बैंकको नाफामुखी र सेवामुखी दुबै भएर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको निकट सम्बन्ध हुन्छ । तरलता बढ्दा ब्याजदर घट्छ र मुद्रास्फीति बढ्ने गर्छ । तरलतामा सङ्कुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीति कम हुन्छ । वित्तीय प्रणालीमा नाफा आर्जनका लागि तरलता व्यवस्थापन महत्वपूर्ण हुन्छ । तरलता व्यवस्थापनका लागि सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राख्ने गर्दछन् । अर्थात् राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले तरलता व्यवस्थापन गर्ने उद्देश्यले समग्र वित्तीय प्रणालीलाई गतिशील बनाउन सो रकम राख्ने गर्दछ र निश्चित रकम व्याजका रुपमा सम्बन्धित बैंकलाई दिने गर्दछ । बैंकमा व्यक्ति तथा विभिन्न सङ्घसंस्था, कम्पनी, संस्थान आदिबाट सङ्कलन हुन आएको रकम चल्ती, मुद्दति तथा निक्षेप खातामा जम्मा भएका हुन्छन् । तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । कर्जा/निक्षेप अनुपात पनि भनिन्छ । राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण कर्जाको माग बढेको छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा थोरै ब्याजदरमा पनि निक्षेप राख्न स्थिति छ । सरकारले जेनजी प्रदर्शनको क्रममा प्रभावित उद्योग र व्यवसायीलाई सहुलियत ऋण तिर्ने समयावधि थप गरेको छ । यसले कर्जा लिएर भुक्तानी गर्नसक्ने अपेक्षा राखिएको छ । सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट प्रदान गर्ने भएको छ । यसले पनि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अर्थशास्त्री राधेश्याम मालाकारले बताए । सरकारले पुनर्निर्माणका लागि पुनर्निर्माण कोष खडा गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरुले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गरिसकेको छ यसले बजारमा कर्जाको माग बढाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । आन्दोलनको कारण भएको तोडफोड र आगजनीबाट भएको क्षति पुनर्निर्माण गर्दा कर्जाको माग बढ्ने व्यवसायीको धारणा छ । पुनःरुत्थानको लागि वित्तीय प्रणालीमा थुप्रिएको रकम उपयोग हुने विश्वास छ । निक्षेप बढ्ने तर कर्जा लगानी नबढ्ने हो भने बैंकहरुको ब्याज खर्चका कारण मुनाफामा कमी आउने तथा सम्बन्धित शेयरधनी पाउने लाभांश पनि प्रभावित हुन जानेछ । रासस
ओएन बायोटेकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार सम्झौतापत्रमा ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे । विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ । कम्पनीका उद्योग क्षेत्रहरू तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा सञ्चालनमा छन् । कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू- पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ । साथै गहुँ, जुनेलो र कोदो प्रयोग गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन उत्पादन तथा आपूर्ति पनि गरिरहेको छ । ताजा च्याउको बजारीकरणसँगै कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको ड्राई मसरुम उत्पादन गरिरहेको छ भने भविष्यमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ । यसका अतिरिक्त, मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने कार्य पनि कम्पनीले गर्दै आएको छ ।
सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो । उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ । साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको बारेमा केन्द्रित थियो । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।