घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष

<p>काठमाडौं । भियतनामी इलेक्ट्रिक सवारीसधान (ईभी) निर्माता भिनफास्टले बिहीबार सन् २०२४ मा लगभग ९७ हजार गाडी डेलिभर गरेको घोषणा गर्‍यो, जुन २०२३ को तुलनामा तीन गुणा बढी हो । तर, बिक्री मुख्य रूपमा भियतनामको घरेलु बजारमै सीमित रह्यो । वैश्विक बिक्री दोब्बर पार्ने लक्ष्य भिनफास्टले यो वर्ष अन्तर्राष्ट्रिय बिक्री कम्तीमा दोब्बर पार्ने लक्ष्य राखेको छ [&hellip;]</p>

काठमाडौं । भियतनामी इलेक्ट्रिक सवारीसधान (ईभी) निर्माता भिनफास्टले बिहीबार सन् २०२४ मा लगभग ९७ हजार गाडी डेलिभर गरेको घोषणा गर्‍यो, जुन २०२३ को तुलनामा तीन गुणा बढी हो । तर, बिक्री मुख्य रूपमा भियतनामको घरेलु बजारमै सीमित रह्यो ।

वैश्विक बिक्री दोब्बर पार्ने लक्ष्य

भिनफास्टले यो वर्ष अन्तर्राष्ट्रिय बिक्री कम्तीमा दोब्बर पार्ने लक्ष्य राखेको छ । २०२४ को अन्तिम त्रैमासिकमा ५३ हजारभन्दा बढी गाडी बिक्री भए, जुन वार्षिक बिक्रीको आधाभन्दा बढी हो ।

कम्पनीले २०२४ को लागि ८० हजार गाडी बिक्री गर्ने संशोधित लक्ष्य तोकेको थियो, जुन पार गर्दै बिक्री ९७ हजार एकाइ पुगेको हो । पहिले कम्पनीले १ लाख गाडी बेच्ने योजना बनाएको थियो ।

भिनफास्टकी अध्यक्ष थुई लेले भनिन्, ‘भिनफास्टको २०२४ को परिणामले अपेक्षाभन्दा राम्रो नतिजा देखाएको छ । यसले बजारमा उतारचढाव र म्याक्रोइकोनोमिक अस्थिरताको बावजुद लचिलापन देखाएको छ ।’

आक्रामक तर खर्चिलो रणनीति

स्टार्टअप कम्पनीले भियतनाममा आक्रामक तर खर्चिलो विस्तार रणनीति अगाडि बढाएको छ । भियतनाममा लगभग १० करोड मानिसहरू बसोबास गर्छन् । अन्तिम त्रैमासिकमा सस्तो र सानो मोडेल सुरु गरेपछि बिक्रीमा ठूलो उछाल आएको थियो ।

तर उपलब्ध नवीनतम तथ्यांकअनुसार कम्पनीले गत वर्षको पहिलो तीन त्रैमासिकमा लगभग २ अर्ब डलर घाटा बेहोरेको छ, जुन २०२३ मा २.४ अर्ब डलर घाटापछि आएको हो । यसले यसको मूल कम्पनी भियतनामी कन्ग्लोमरेट भिङग्रुपमा दबाब बढाएको छ ।

कार निर्माता कम्पनीले विदेशमा पनि विस्तार गर्न चाहेको छ तर अहिलेसम्म विदेशी खरिदारहरूलाई आकर्षित गर्न संघर्ष गरिरहेको छ ।

भिनफास्टले जनवरीमा एक बयान जारी गरेर भनेको थियो कि गत वर्ष यसले भियतनाममा ८७ हजारभन्दा बढी कारहरू बेचेको छ । यसको मतलब विदेशमा मात्र १० हजार कार बिक्री भएको हो, जुन कुल बिक्रीको लगभग १० प्रतिशत हो ।

गत वर्ष कम्पनीले अमेरिकामा एक कारखाना स्थापना गर्ने योजना स्थगित गरेको थियो । अहिले कम्पनीले एसियाली बजार विशेष गरी भारत र इन्डोनेसियातर्फ झुकाव देखाएको छ, जहाँ यसले दुई असेम्ब्ली कारखानाहरू स्थापना गर्ने योजना बनाएको छ ।

भारतमा राम्रो बिक्री हुने अनुमान

इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा भिनफास्टले पहिलो पटक भारतमा आफ्नो कारहरू प्रस्तुत गरेको थियो ।

भिनफास्टले दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ सेभेन र भीएफ सिक्स लन्च गरेको हो । कम्पनीले यी गाडीहरू २०२५ को अन्त्यसम्ममा भारतमा बिक्रीको लागि उपलब्ध हुने बताएको थियो । यी भारतमा भिनफास्टका पहिलो गाडीहरू हुनेछन् । कम्पनीले भारतमा बनेका विद्युतीय सवारीसाधनहरू पश्चिम एसिया र अफ्रिकामा पनि बेच्न चाहन्छ ।

एक्स्पोमा भिनफास्टप्रति धेरैको आकर्षण देखिएकाले भारतमा राम्रो बिक्री हुने अनुमान गरिएको छ ।

भिनफास्टले बजारअनुसारको बिक्री विवरण प्रदान गरेको छैन ।

आफूसम्बन्धित कम्पनीमा बढी बिक्री

२०२३ मा भियतनाममा यसको बिक्रीको बढी भाग यसका मालिक फाम न्हाट भुङ्गसँग सम्बन्धित कम्पनीहरूलाई भएको थियो, जसमा इलेक्ट्रिक ट्याक्सी सञ्चालक ग्रिन एसएम वा जीएसएम पनि समावेश छ ।

गत वर्षको घरेलु खरीदारहरूको पूर्ण विवरण उपलब्ध छैन, तर त्रैमासिक आयअनुसार कुल वितरणको लगभग २० प्रतिशत भिनफास्टका सम्बन्धित पक्षहरूलाई गएको थियो ।

कम्पनीले २४ अप्रिलमा वार्षिक परिणाम जारी गर्ने अपेक्षा गरिएको छ ।

सान्दर्भिक सामग्री :

ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो

निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?

मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

Share News