सिनेमा निर्माणमा पनि गोल्छा समूह, प्रिज्मा एड्भटाइजिङसँग मिलेर ‘परान’ सिनेमा बनाउने

<p>काठमाडौं । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो । चर्चित हास्यटेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले [&hellip;]</p>

काठमाडौं । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ ।

बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।

चर्चित हास्यटेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्नेछन् भने यो उनको डेब्यु निर्देशन पनि हुनेछ ।

‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलवा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताइएको छ ।

त्यस्तै, सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।

फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायाङ्कन काठमाडौं तथा धनकुटामा हुने बताइएको छ ।

सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफू उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्लाजिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा दिक्क लागेको बताउँदै त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसङ्ग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताए ।

त्यसैगरी, रन्जीत आचार्यले सन् २०१७ मै सिनेमामा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरानमा नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताए ।

कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लका साथमा उद्योगपति पशुपति मुरारका, सौरभ ज्योति, विदुषी राणा, भास्कर राज राजकर्णिकार, सांसद असीम शाह, क्यूएफएक्सका निर्देशकद्वय नकीम उद्दीन र भास्कर ढुंगाना लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

बाइस्कोप सिनेमा प्रा.लिको पहिलो प्रस्तुति ‘परान’ लाई शिवराम श्रेष्ठले छायाङ्कन गर्नेछन् भने सुप्रिम पराजुलीको रंग संयोजन रहने बताइएको छ ।

Share News