काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू पुनः आन्दोलित बनेका छन् । आन्दोलित कर्मचारीले राखेका मागहरू सम्बोधन नभएको भन्दै आज (भदौ १४ गते) देखि प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी गरेका हुन् ।
मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाहले कर्मचारीका माग पुरा गर्न तत्काल वार्ताको टेबुलमा बस्न व्यवस्थापन समक्ष माग गरेका छन् । यदि वार्ताको माध्यमबाट मागहरू सम्बोधन नभए भदौ १४ गतेदेखी प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी र भदौ १६ गतेदेखि केन्द्रीय कार्यालय घेराउ तथा धर्ना गर्ने र सशक्त संघर्षका कार्यक्रहरू गर्ने शाहले चेतावनी दिए ।
साथै विरोधका कार्यक्रमका लागी तयारी अवस्थामा रहन कर्मचारीहरूलाई आग्रह गरेका छन् । संघर्षका कार्यक्रमबाट संस्थामा पर्ने क्षतीको जिम्मेवार स्वयम लघुवित्त संस्थाको व्यवस्थापन पक्ष हुनुपर्ने उनको भनाइ छ ।
शाहका अनुसार आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलन गर्नु परेको हो । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको हुँदा आन्दोलन गर्नु परेको उनले बताए ।
गत असार २५ गते कर्मचारी संगठनले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूको गुनासो छ । त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।
मर्जरपछि कर्मचारीमाथि अन्यायपुर्ण तरिकाले गरिएका सरूवा, अनावश्यक कारबाही र जिम्मेवारी हेरफेरमा भएको सौतेनि व्यवहार तुरून्तै खारेज गर्नुपर्ने, पुर्वदेखि पश्चिमसम्म कुनैपनि कर्मचारीहरूसँग सुमधुर सम्बन्ध नभएको व्यक्तिलाई कर्जा असुलि विभाग प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने उनीहरूले माग राखेका थिए ।
यस्तै विभिन्न व्यक्तिको शैक्षिक योग्यता भारतीय डुप्लीकेट रहेकाले छानबिन गरी कारबाही हुनुपर्ने, केन्द्र व्यवस्थापक र नायब पद खारेज गरी सम्पुर्ण केन्द्र व्यवस्थापक कर्मचारीहरूलाइ कनिष्ठ सहायक पदमा र नायव पदलाई हटाई माथिल्लो पदमा बढुवा गर्नुपर्ने, नियमसंगत हुनुपर्ने कर्मचारी बढुवा तुरून्त गरिनुपर्ने, विभिन्न ठाउँमा मर्ज भएका शाखाहरूका तत्कालीन शाखा प्रमुखलाई सोही शाखामा राखि मनोबल नै खस्किने गरी व्यवस्था गरेकोप्रति ध्यानार्कषण भएको र तुरून्त उहाँहरुको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था पर्यवेक्षण विभाग प्रमुख कार्यकारी निर्देशक बिमल राज खनाल नेरूडे मिर्मिरे लघुवित्त संस्थामा भएको कर्मचारी विवाद बारे नजिकबाट नियालिरहेको बताउँछन् । साथै राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण गरेको हुँदा प्रतिवेदन आउन बाँकी रहेको उनले बताए ।
‘हामीले आफ्नोतर्फबाट काम गरिरहेका छौं, राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण २/३ दिन अगाडि सकेर आएको छ, संस्थामा के भइरहेको छ भनेर नजिकबाट हेरिरहेका छौं,’ उनले भने, ‘लघुवित्तमा भइरहेको कर्मचारी विवादको विषय राष्ट्र बैंकको नोटिसमा छ, निरीक्षण टोलीको रिपोर्ट फाइनल भइसकेपछि थाहा भइहाल्छ ।’’
उनका अनुसार कर्मचारी व्यवस्थापन काम सम्बन्धित संस्थाको रहेको उनले बताए । यदि केही समस्या परिहाल्यो भने राष्ट्र बैंकले संस्थाको सञ्चालक समिति र व्यवस्थापनलाई बोलाएर छलफल गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार:
नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प
नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी
नेरूडे मिर्मिरे प्रकरण स् कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने
नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी
नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा !
नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)