नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा !

<p>काठमाडौं । पवित्रा न्यौपाने (नाम परिवर्तित) साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख भएर काम गरिरहेकी थिइन् । ‘संस्था रहे म रहन्छु’ भन्ने भावनाका साथ लगनशील, अनुसाशित र इमानदारीतापूर्वक तोकिएको जिम्मेवारी निर्वाह गर्थिन् । आफ्नो काम अनुसारको पद र सेवा सुविधा पाएकी न्यौपाने उर्जावान र जोसजाँगर चलाएर काम गर्थिन् । तर, नेरूडे लघुवित्त र मिर्मिरे [&hellip;]</p>

काठमाडौं । पवित्रा न्यौपाने (नाम परिवर्तित) साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख भएर काम गरिरहेकी थिइन् । ‘संस्था रहे म रहन्छु’ भन्ने भावनाका साथ लगनशील, अनुसाशित र इमानदारीतापूर्वक तोकिएको जिम्मेवारी निर्वाह गर्थिन् । आफ्नो काम अनुसारको पद र सेवा सुविधा पाएकी न्यौपाने उर्जावान र जोसजाँगर चलाएर काम गर्थिन् ।

तर, नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जरपश्चात् न्यौपानेलाई शाखा प्रमुखबाट हटाइयो । नेरूडे मिर्मिरे लघुवित्त भएपछि अर्काे व्यक्तिलाई शाखा प्रमुख बनाइयो । उनको पद घटुवा मात्रै भएन, खाइपाई आएको सुविधामा समेत कटौति गरियो ।

संस्थाका लागि हरेक समस्या र चुनौतीसँग जुधिरहेकी न्यौपाने बिना गल्ती खाईपाई आएको सुविधा र पद घटाएपछि काम गर्ने मनोबल कमजोर भएकाे बताउँछिन् । आफूभन्दा जुनियर व्यक्तिको मातहत काम गर्नु परेको भन्दै नेरूडे मिर्मिरे लघुवित्तको जनशक्ति व्यवस्थापन विभागलाई पत्र लेख्दै उनले आफ्नो सरूवा काठमाडौं उपत्यकामा गरिदिन अनुरोध गरेकी छिन् ।

‘गत जेठ १ गतेदेखि ते सरुवा गरिदिनुहुन अनुरोध गरी जनशक्ति व्यवस्थापन विभागलाई पत्र लेख्दा, मौखिक रूपमा प्रदेश कार्यालय र क्लष्टर कार्यालयलाई पटकपटक गर्दापनि सुनुवाई नहुँदा काम गर्ने मनोबल कस्तो हुन्छ भन्ने बिना गल्ती सजाय पाउनेले मात्रै महसुस गर्न सक्छ,’ उनले पत्रमा लेखेकी छिन्, ‘कुनै कर्मचारीले सेवामा प्रवेश गरेदेखि घर पायक बस्न पाउने र कसैले नपाउने अन्याय र विभेदपूर्ण व्यवहारलाई सच्याउँदै घरपायक (काठमाण्डौ उपत्यका) सरूवा गरिदिन आग्रह छ ।’

न्यौपानेजस्तै मनोबल खस्किने गरी सरूवा र जिम्मेवारी घटुवा गरेपछि साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरू आन्दोलित छन् । साविक मिर्मिरे लघुवित्तका कटक बहादुर शाहको अध्यक्षतामा गत असार २० गते भक्तपुरमा बसेको बैठकले ९ बुँदे ज्ञापनपत्र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बुझायो । १८ जना उपस्थित उक्त बैठकले लघुवित्तका सीईओलाई ज्ञापनपत्र बुझाउँदै दुई ठुला संस्थाहरू एकआपसमा समान रूपमा सफल मर्जर भएपनि मर्जरपछि कर्मचारीमाथि अन्यायपुर्ण तरिकाले गरिएका सरूवा, अनावश्यक कारबाही र जिम्मेवारी हेरफेरमा भएको सौतेनि व्यवहार तुरून्तै खारेज गर्नुपर्ने, पुर्वदेखि पश्चिमसम्म कुनैपनि कर्मचारीहरूसँग सुमधुर सम्बन्ध नभएको व्यक्तिलाई कर्जा असुलि विभाग प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने माग राखे ।

यस्तै विभिन्न व्यक्तिको शैक्षिक योग्यता भारतीय डुप्लीकेट रहेकाले छानबिन गरी कारबाही हुनुपर्ने, केन्द्र व्यवस्थापक र नायव पद खारेज गरी सम्पुर्ण केन्द्र व्यवस्थापक कर्मचारीहरूलाइ कनिष्ठ सहायक पदमा र नायव पदलाई हटाई माथिल्लो पदमा बढुवा गर्नुपर्ने, नियमसंगत हुनुपर्ने कर्मचारी बढुवा तुरून्त गरिनुपर्ने, विभिन्न ठाउँमा मर्ज भएका शाखाहरूका तत्कालीन शाखा प्रमुखलाई सोही शाखामा राखि मनोबल नै खस्किने गरी व्यवस्था गरेकोप्रति ध्यानार्कषण भएको र तुरून्त उहाँहरुको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

वि.सं २०८१ असार १६ गते खराब कर्जा असुलि सम्बन्धि भर्चुअल बैठकमा नायव प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कर्मचारीहरूलाइ असुलिमा प्रेरणा दिनुको साटो सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरूको केन्द्रीय कार्यालयमा फाइलिङ व्यवस्थापन भैरहेको र कारबाही गरिने भनि दिएको धम्कीपुर्ण अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै उनीहरूले राजिनामा माग गरेका छन् । जनशक्ति व्यावस्थापन विभागको सहायक कर्मचारी सुरेश बहादुर खड्कालाई तुरुन्त सो विभागबाट हटाउनुपर्ने र शाखा प्रबन्धक, कलस्टर प्रमुख तथा प्रदेश प्रमुखले विगतमा खाईपाई आएको जिम्मेवारी भत्ता तुरून्त लागू गर्नुपर्ने ज्ञापन पत्र बुझाएका छन् ।

मर्जरमा भएको सहमति पालना भएन

नेरूडे र मिर्मिरे लघुवित्तबीच वि.सं २०७९ पुस ११ गते मर्जरको प्रारम्भिक सम्झौतामा साविक नेरुडेका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बन्ने लघुवित्त कस्तो हुने र के-के गर्ने भन्ने विषयमा अधिकांश सहमति साविक मिर्मिरेका अध्यक्ष बोहरासँग भएका थिए । तर, बोहरा लघुवित्तबाट बाहिरिएपछि ती सहमतिहरूले निरन्तरता पाउन सकेन ।

साविक मिर्मिरेले कनिष्ठ सहायक ‘ख’ (जुनियर असिस्टेन्ट) भनेर १६१ जना फिल्ड  कर्मचारी भर्ना गरेको थियो । उनीहरू लघुवित्तमा आवद्ध भएको केही समयमै मर्जर प्रक्रिया अघि बढ्यो । मर्जरपछि कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति भएको थियो । तर, मर्जरपछि संस्थाबाट हटाउने गरी उनीहरूलाई घटुवा गरेको लघुवित्त स्रोतले बताएको छ ।

‘साविक मिर्मिरेकै माथिल्लो तहका कर्मचारीलाई प्रयोग गरेर मिर्मिरेकै कर्मचारीलाई दबाउने, अनावश्यक सरूवा गर्ने काम भयो, मिर्मिरेका शाखा प्रमुखलाई हटाएर साविक नेरूडेका कर्मचारीलाई शाखा प्रमुख बनाइयो,’ स्रोतले भन्यो, ‘दुवै संस्था बराबर हैसियतमा मर्जर भएपछि सबैलाई समान व्यवहार गर्नुपथ्र्याे तर, कर्मचारीलाई हेर्ने नजर भने परिवर्तन भयो ।’

डीसीईओ बोहरा झण्डै कुटिए

गत असार १६ गते कर्जा असुलि सम्बन्धि भर्चअल बैठकमा लघुवित्तका उच्च व्यवस्थापकसहित देशभरिका शाखा प्रमुख सहभागी थिए । आर्थिक वर्षको अन्तिम महिना भएकाले कर्मचारीहरूलाई कर्जा असुलीमा मोटिभेटका लागि बैठक आह्वान गरिएको थियो । तर, सो बैठकमा लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मिन बहादुर बोहराले कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।

‘खराब कर्जा असुलि सम्बन्धि भर्चुअल बैठक डाकेपछि कर्मचारीहरूलाई उत्प्रेरित गर्नुपर्ने हो तर, डीसीईओ बोहराले कर्मचारीहरूलाई असुलिमा प्रेरणा दिनुको सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरूको केन्द्रीय कार्यालयमा फाइलिङ व्यवस्थापन भईरहेको छ, कारबाही गर्छाैं भनेर धम्कीपुर्ण अभिव्यक्ति दिनुभयो, उहाँले तत्काल राजिनामा दिनुपर्छ,’ कर्मचारीहरूले माग गरेका छन् ।

स्रोतका अनुसार ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालयमा उपस्थित भएका कर्मचारीहरूलाई पनः डीसीईओ बोहराले अभद्र व्यवहार गरेपछि कर्मचारीहरू झण्डै कुट्ने अवस्थामा पुगेका थिए । कर्मचारीहरूको डरले डीसीईओ बोहरा एक साता कार्यालय नै उपस्थित नभएको लघुवित्त स्रोतको दाबी छ ।

‘केन्द्रीय कार्यालयमा मिन बहादुर बोहरालाई कर्मचारीहरूले झण्डै कुटेका थिए । कर्मचारीलाई मोटिभेट गर्नुपर्नेमा उल्टै डिमोटिभेट गरेपछि कर्मचारीले कुट्न लागेका थिए । तर, उनी भागेपछि कुटिनबाट जोगिएका हुन्, उनी ६/७ दिनसम्म गायब भएर डरले केन्द्रीय कार्यालयमा जान नै छाडे,’ स्रोतले भन्यो । 

माग कार्यान्वयन नभएपछि ११ बुँदे ध्यानाकर्षण

असार २० गते पेस गरेको मागहरूमा संस्थाले कुनै चासो नदिएपछि मिर्मिरे लघुवित्त कर्मचारी संगठनले पुनः असार २५ गते ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष रोशन बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा ११ बुँदे माग राख्दै सीईओलाई पत्र दिइएको छ ।

साविक मिर्मिरे लघुवित्तको कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा सुविधा सम्बन्धि कार्यविधि अनुसार आईपाई आएको सेवा सुविधा कटौति र मर्जरको मर्मविपरित काम भएकाले तत्काल काम गर्ने वातावरण गर्नुपर्ने माग गरेका छन् ।

कर्मचारी सेवा विनियमावली नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार हुनुपर्ने, सबै सुविधाहरू उपलब्ध गराउनु पर्ने, कर्मचारीले पाउने कर्जा पाउनुपर्ने, जीवन बीमाको सम्पूर्ण बिमा शुल्क संस्थाले नै बेहोर्नुपर्ने, दैनिक ज्यालादारी (फिल्ड सहायक, कार्यालय सहयोगी) कर्मचारीहरूलाई स्थायी नियुक्ति गर्नुपर्ने, नायब अधिकृत र नायव प्रबन्धक पद खारेज गरी उक्त पदमा कार्यरत कर्मचारीलाई माथिल्लो पदमा समायोजन गर्नुपर्ने, दुर्गम भत्ता यथाशिघ्र कर्मचारीलाई उपलब्ध गराउनुपर्ने, सरूवा नीति बनाई अविलम्ब कार्यन्वयन गर्नुपर्ने, एउटै शाखा, प्रदेश, कलष्टरमा लामो समयदेखि कार्यरत तथा एउटै जिल्लामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई पायक पर्ने शाखा वा जिल्लामा सरूवा व्यवस्थापन गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

यस्तै गृह जिल्लाभन्दा ७ सय किलोमिटर टाढाको कार्यालयमा कार्यरत कर्मचारीलाई प्रोत्साहन स्वरूप आउट स्टेसन भत्तालाई निरन्तरता दिनुपर्ने, कर्मचारी व्यवस्थापनमा गरेको लापरबाहीले कर्मचारीहरू माझ द्वन्द सिर्जना गरेकाले सही व्यवस्थापन हुनुपर्ने लगायतका माग छन् ।

खड्का र कुँवरले कुम्ल्याए सदस्यता शुल्क

साविक मिर्मिरे लघुवित अन्तर्गत गठन भएको कर्मचारी संगठन मिर्मिरेले कर्मचारीको हितमा हुने गरी भूमिका निर्वाह नगरेको, सदस्यता शुल्क र सहयोगमार्फत् संकलन गरेको रकम सार्वजनिक गर्न माग गरेका छन् । संगठनको रकम तीन/चार जनाले आफूलाई फाइदा हुने गतिविधिमा खर्च गर्ने गरेको आरोप उनीहरूको छ ।

‘सुरेश बहादुर खड्का र दिपक कुँवरको निर्देशनमा संगठन चलिरहेको आभास हुन्छ, देशभरिका कर्मचारीलाई सरूवा गर्ने, घटुवा गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिनुहुन्छ,’ लघुवित्तका एक कर्मचारीले भने, ‘हालसम्म संकलन भएको सदस्यता शुल्क र सहयोगमार्फत (प्रतिव्यक्ति ५ सयदेखि ४ हजार रुपैयाँसम्म) संकलन गरेको रकमको हरहिसाब सार्वजनिक गर्नुपर्छ ।’

Share News