काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । लाभांश घोषणा गरेर वार्षिक साधारणसभामा एजेण्डा नराखेपछि लघुवित्तलाई कारबाही गर्ने अध्यक्ष हमालले बताएका हुन् ।
विकासन्युजसँग कुरा गर्दै अध्यक्ष हमालले भने, ‘यस विषयमा तुरून्त छानविन हुन्छ, संस्था दोषी देखिएमा कारबाही गर्छाैं ।’
लघुवित्तले गत भदौ ३० गते सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, तीन महिनापछि आज पुस १ गते प्रकाशन गरिएको सूचनामा लाभांशको एजेण्डा बिना नै वार्षिक साधारणसभा आह्वान गरेको हो ।
लघुवित्तको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस २४ गते कोहलपुर बाँकेमा बिहान १० बजे बोलाएको छ । तर, लघुवित्तले २० प्रतिशत लाभांश वितरणको एजेण्डा भने राखेको छैन ।
लघुवित्तका कार्यकारी निर्देशक डा.गोपाल दहितले लाभांशको एजेण्डा हटाएको र आउने वर्ष मात्रै वितरण गर्ने बताए ।
‘लाभांश घोषणा गरेर पनि प्राविधिक कारणले बाँड्न नसक्ने भयौं, मर्जर गर्ने तयारीमा छौं, त्यसैले लाभांशको एजेण्डालाई पछि धकेलेको हो, अहिले मर्जरको अभियान नै चलेको छ, मर्जर सम्पन्न भएपछि बाँड्छौं,’ उनले भने ।
लगानीकर्ता छोटेलाल रौनियार लघुवित्तले वित्तीय ठगी गरेको आरोप लगाउँछन् । सेयर मूल्यमा समेत चलखेल गर्न लघुवित्तले यस्तो गरेको हुन सक्ने उनको बुझाइ छ । उनका अनुसार यसअघि डिप्रोक्स लघुवित्तले पनि लाभांश घोषणा गरेर राष्ट्र बैंकले रोकेको थियो । तर, लाभांश घोषणा गरेर वितरणमा रोक लगाएपछि लगानीकर्ताहरूले अदालत जाने चेतावनी दिएपछि राष्ट्र बैंकले बाँड्न अनुमति दिएको उनको भनाइ छ ।
‘यसअघि डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्याे । तर, मर्जरमा नगएपछि राष्ट्र बैंकले रोकेको थियो, सबै कागजात संकलन गरेर अदालत जाने तयारी गरेको थियौं । तर, अदातलमा गएपछि मुद्दा हार्ने डरले राष्ट्र बैंकले वितरण गर्न अनुमति दियो,’ उनले भने, ‘यस लघुवित्तको लाभांशका लागि सेयरधनीहरू अदालत जानु पर्छ ।’
लाभांश घोषणा गरेपछि सेयरधनीलाई बाँड्नु पर्ने पर्ने उनको तर्क छ । चलखेल गरेर सेयर मूल्य बढाउने र लगानीकर्ता फसाउन खोजेको उनको भनाइ छ । यसमा धितोपत्र बोर्डले पनि एक्सन लिनुपर्ने र अदालत गएर भएपनि लाभांश वितरण गराउन लगाउनु पर्ने उनले बताए ।
लगानीकर्ता माधव खनाल लाभांश घोषणा गरेर वितरण नगर्नु भनेको लगानीकर्तालाई झुक्याउनु र ठगी गरेको सरह नै हुने बताउँछन् । अब लगानीकर्ता एकजुट भएर अदालत जानुको विकल्प नरहेको उनको भनाइ छ ।
‘घोषणा गरेर नबाँड्नु भनेको लगानीकर्तालाई झुक्याउनु र वित्तीय ठगी गरेको सरह नै हो, हिजोका दिनमा दिन्छु भनेर घोषणा गर्ने तर अहिले आएर दिँदैन भन्न मिल्दैन, अब लगानीकर्ता एकजुट भएर अदालत जानुपर्छ,’ उनले भने, ‘लघुवित्तले के कति कारणले घोषणा गरेको लाभांश वितरण नगर्ने हो स्पष्ट पार्नु पर्छ, अदालत गएर मात्रै राहत हुन्छ ।’
युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब