काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) एकीकृत कारोबार सुरु गरेपश्चात् नयाँ सञ्चालक समिति गठन भएको छ । मर्जपछि बनेको ‘पोखरा फाइनान्स लिमिटेड’ को सञ्चालक समितिले पूर्णता पाएको हो ।
फाइनान्सको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन् ।
यस्तै, सञ्चालक समितिमा सुदिप घिमिरे, प्रतिक गुरुङ्ग, पद्मोदय प्रालीको तर्फबाट दिनेश कुमार वर्तोला, दुर्गा थापा, तिल बहादुर गुरुङ्ग र याम बहादुर सुर्खाली चयन भएका छन् ।
मर्जरपश्चात् फाइनान्सको चुक्ता पुँजी वृद्धि भएको छ भने शाखा सञ्जाल र व्यवसायको आकार पनि विस्तार भएको छ । पोखरा फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको छ ।
कम्पनी सचिवमा विनोदराज पौडेल नियुक्त
यसैगरी, सञ्चालक समितिको सोही बैठकले संस्थाको कम्पनी सचिवमा विनोदराज पौडेललाई नियुक्त गरेको छ ।
पौडेल हाल पोखरा फाइनान्स लिमिटेडको नायब महाप्रबन्धक पदमा कार्यरत छन् । उनलाई कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी दिइएको हो ।
फाइनान्सले मर्जरपश्चात् सञ्चालक समिति गठन र कम्पनी सचिव नियुक्ति सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरूलाई गराइसकेको छ ।
नेपाल राष्ट्र बैंकको मर्जर र एक्विजिसन नीतिलाई आत्मसाथ गर्दै यी दुई फाइनान्स कम्पनीहरू एक आपसमा गाभिएका हुन् । मर्जरपश्चात् संस्थाको वित्तीय अवस्था सुदृढ हुने र सेवाग्राहीलाई थप परिष्कृत बैंकिङ सेवा प्रदान गर्न सहज हुने विश्वास लिइएको छ ।