अपमानको पराकाष्ठा : सासु कोषका योगदानकर्तालाई अस्पतालमा छुट्टै डाक्टर, विशेषज्ञलाई देखाए थप शुल्क

  २०८० भदौ ८ गते ११:०२     विकासन्युज

काठमाडौं । नुवाकोटकी नमिता वाग्ले गत साता उपचारका लागि नयाँ बानेश्वरमा रहेकाे एभरेष्ट अस्पताल पुगिन्। एभरेष्ट अस्पतालले दिने सेवा सुविधा राम्रो भएको भन्ने जानकारी पाएकी उनी कार्यालय जाने बाटोमै अस्पताल हुँदा उपचारका लागि सोही अस्पताल छिरिन् ।

उनले राम्रो भनिएको अस्पताल भित्र गएपछि कोषमा आवद्ध भएका श्रमिकका लागि छुट्टै डाक्टर खटाइएको र अन्य डाक्टरलाई देखाउँदा थप शुल्क लाग्ने जानकारी पाइन् ।

‘म त कोषबाटै उपचार हुने भन्दै अस्पताल गएको थिएँ, तर अस्पतालले हामीजस्ताका लागि डा. प्रकाश महतलाई तोकेको रहेछ, उहाँ बाहेक सम्बन्धित डाक्टरलाई देखाउँदा थप ५ सय शुल्क भुक्तानी गर्नुपर्ने रहेछ’, उनले भनिन, ‘अस्पताल त पुगिहाले यतिकै फर्कनुभन्दा बरु पैसा नै तिरेर उपचार गर्छु भनेर थप शुल्क तिरें ।’

मकवानपुरका एक श्रमिकले मकवानपुर सहकारी अस्पतालले उपचारमा दुःख दिने गरेको बताए । आफ्नो घर नजिकै रहेको अस्पताल कोषमा आवद्ध भएपछि सहज रुपमा उपचार हुने भन्दै खुसी भएका  ती श्रमिकले उपचारका लागि अस्पतालले छुट्टै डाक्टर नै खटाएको देखेपछि चकित भएकाे सुनाए ।

कोषमा आवद्ध श्रमिकको उपचारका लागि छुट्टै डाक्टर तोकेको थाहा पाएपछि उपचार नै नगरी फर्किएको उनले बताए । अब उपचार गरेको पैसा कोषले नै तिर्छ, सहज हुने भयो भन्ने विश्वास थियो, तर ती अस्पतालमा पनि छुट्टै डाक्टर राखेर कोषमा आवद्ध श्रमिकलाई अपहेलना गरेको महसुस भयो,’ ती योगदानकर्ताले निरा हुँदै भने ।

यी त केही प्रतिनिधि पात्र र घटनाहरु मात्रै हुन् । पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका रोजगारदाता (श्रमिक) लाई निजी अस्पतालले समेत विभेद गर्ने गरेका छन् ।

कोषमा आवद्ध भएका निजी अस्पतालले श्रमिकका लागि छुट्टै डाक्टर राख्नेदेखि उपचारमा समेत वेवास्ता गर्ने गरेको श्रमिकहरुले गुनासो गरेका हुन् ।

पछिल्लो समय विभिन्न सरकारी तथा निजी अस्पतालसँग औषधि उपचारका लागि कोषले अस्पतालहरुसँग सम्झौता गर्दै आएको छ । गत फागुनसम्म अस्पतालमा उपचार गरेको बिल अनुसारको भुक्तानी गर्ने गरेको कोषले श्रमिकलाई समस्या भएको भन्दै अस्पतालसँग सिधै सम्झौता गर्ने गरेको थियो ।

तर, सम्झौताको मर्म विपरित कोषमा आवद्ध भएका श्रमिकलाई अनेकन समस्या दिएर अस्पतालले झन दु:ख दिने गरेको गुनासो कोषमा आउने गरेको छ ।

श्रमिकको सहजका लागि अस्पतालसँग सम्झौता गरिएको भन्दै कोषका सहप्रवक्ता रोहित रेग्मी उपचारमा असहयोग गर्ने अस्पतालहरुसँगको सम्झौता खारेज गर्ने बताउँछन् ।

‘हामीकहाँ मकवानपुरको एक अस्पतालले उपचारमा असहयोग गर्याे भनेर हामीकहाँ लिखित रुपमै उजुरी परेको थियो, हामीले तत्काल उक्त अस्पतालसँग स्पष्टीकरण नै सोधिसकेका छौँ’, उनले भने, ‘उक्त अस्पतालले पुनः उपचारमा असहयोग गरेको गुनासो हामीकहाँ आए तत्काल सम्झौता खारेज गछौँ ।’

उनले मकवानपुर बाहेक अन्य अस्पतालको विषयमा अहिलेसम्म खासै गुनासो नआएको बताए । ‘अस्पतालले रकम भुक्तानी गरेर भनेर हामीकहाँ केही गुनासो आउँछ, हामीले हेर्दा उहाँहरुले नियमित रुपमा योगदान रकम भुक्तानी नगर्दा त्यस्तो समस्या भएको पाइएको छ, उपचारमै असहयोग गर्याे भनेर अहिलेसम्म कुनै गुनासो छैन्,’ उनले भने ।

उनले श्रमिककै सहजका लागि अस्पतालहरुसँग उपचारका लागि कोषले सम्झौता गरेको भन्दै दु:ख दिने अस्पताललाई कारवाही हुने बताए ।
कोषले हालसम्म उपचारका लागि देशभरका ६० वटा सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेको छ ।

किन राखियो डा. महतलाई ?

एभरेष्ट अस्पतालले कोषमा आवद्ध योगदानकर्ताका लागि भन्दै राखेको डाक्टरको विषयमा हामीले बुझेका छौं । यस विषयमा अस्पतालले पनि छुट्टै डाक्टर राखेकाे बताएकाे छ । अस्पतालका प्रशासन सहायत राजेश पौडेलले कोषमा आवद्ध श्रमिकका लागि छुट्टै डाक्टर राखिएको जानकारी दिए ।  अन्य डाक्टरलाई देखाउँदा थप शुल्क तिर्नु पर्ने विषय पनि उनले स्वीकार गरे ।  डा. महतलाई राख्नुको कारण भने उनले खुलाएनन् ।

उनका अनुसार कोषमा आवद्ध हुनेहरुका लागि अस्पतालले डा. प्रकाश महतलाई जिम्मेवारी दिएको हाे । एमबिबिएस डाक्टर महतले आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विरामी हेर्ने गरेका छन् । तर, अस्पताल जानुभन्दा अगाडि फोन सम्पर्क गरेर जानकारी गराउनुपर्ने समेत अस्पतालले जनाएको छ ।

जुन कोषमा आवद्ध योगदानकर्ताका लागि दुःखको विषय हो । यस विषयमा कोषले भने जानकारी नभएको बताएको छ ।

कोषका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  केवल प्रसाद भण्डारीले अस्पतालले श्रमिकलाई दु:ख दिएको विषय आफूलाई कुनै जानकारी नभएको बताए ।

‘कोषले गरेका कामहरुमध्ये अस्पतालले दिने सेवासुविधा राम्रो भएको मलाई रिपोटिङ आएको छ, तर उपचारका लागि छुट्टै डाक्टरको व्यवस्था गर्ने, अस्पतालको फार्मेसीमा औषधी नपाउने तथाा डाक्टरले नै असहयोग गर्ने कुरा मैले भर्खर थाहा पाएँ’, उनले भने, ‘यो विषयमा के रैछ म तत्काल बुझेर कारवाहीका लागी निर्देशन दिन्छु ।’

उनले सम्झौता विपरित सेवासुविधा दिने सरकारी तथा निजी अस्पतललाई तत्काल कारवाही हुने भन्दै श्रमिकले दुःख पाउन नहुने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.