सासु कोषबाट उपचार सुविधा लिनै सकस : तोकिएको अस्पतालमा पालो पाइँदैन, निजीमा गए सुविधा आउँदैन

  २०८० साउन ३० गते १३:४९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा चार वर्षदेखि योगदान गर्दै आएका एक युवा उपचारका लागि गत बिहीबार वीर अस्पताल पुगेका थिए ।

उनी आफ्नो उपचार खर्च सामाजिक सुरक्षा कोषले बेहोर्नेमा ढुक्क थिए । डाक्टरलाई स्वास्थ्य जाँच गराए र पुर्जीमा लेखिएको औषधी किन्न अस्पतालकै फार्मेसीमा गए । तर, डाक्टरले भने अनुसारको औषधि फार्मेसीमा रहेनछ ।

उनले नियमित सेवन गर्नुपर्ने औषधी वीर अस्पतालको फार्मेसीमा नपाएपछि उनले अस्पताल बाहिरको निजी फार्मेसीबाट औषधी किन्नपुर्‍याे।
‘अस्पतालको फार्मेसीमा औषधि रहेनछ, बाहिरको फार्मेसीमा औषधी किन्नु मेरो बाध्यता थियो । तर, औषधीको विल सामाजिक सुुरक्षा कोषबाट भुक्तानी भएन’, ती युवाले समस्या सुनाए ।

सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्ताको उपचारको लागि विभिन्न अस्पतालसँग सम्झौता गरेको छ । तर, ती अस्पतालमा डाक्टरले सिफारिस गरेअनुसारको औषधी भने पाइँदैन ।

सामाजिक सुरक्षा कोषमै आवद्ध अर्का एक युवाले पनि सरकारी अस्पतालको सेवा प्रवाह बारे गुनासो गरे । ‘कोषमा आवद्ध भएको त्रिबि शिक्षण अस्पतालमा मैले नियमित उपचार गर्दै आएको छु, केही समयदेखि मेरो पेटमा समस्या आयो र इन्डोशकोपी गर्नुपर्ने भयो । तर, अस्पतालले एक महिना पछाडिको मिति दियो’, ती युवाले भने, ‘समस्या अहिले छ, एक महिनासम्म बाँच्छु वा बाँच्दिन ठेगान छैन । अस्पतालले दिएको समय कसरी पर्खनु ?’

त्रिबि शिक्षण अस्पतालमा समय लाग्ने भएपछि उनले ग्रान्डी अस्पतालमा गएर भोलिपल्टै उपचार गरेको बताए । ‘टिचिङमा समय नपाएपछि ग्रान्डीमा गएर भोलिपल्टै उपचार गरें । तर, मेरो स्वास्थ्य उपचारमा सामाजिक सुरक्षा कोषबाट हुनुपर्ने भुक्तानीमा समस्या भइरहेको छ’, ती युवाले भने ।

यी दुई प्रतिनिधि उदाहरणले सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य उपचारको सहायता पाउन कति कठिन छ भन्ने देखाउँछ ।

अहिले सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारको खर्च अस्पतालले नै कटाउने र कोषसँग भुक्तानी लिने व्यवस्था मिलाएको छ । तर, यो व्यवस्थामा योगदानकर्ताले भने हैरानी मात्रै भोगिरहेका छन् ।

सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल अस्पतालको फार्मेसीमा औषधी नपाएको, उपचारको समय ढिलो पाउने गरेको जस्ता गुनासो आउन थालेको स्वीकार्छन् ।

कोषबाट स्वास्थ्य उपचारको खर्च दावी गर्न नपाएका योगदानकर्ताले कोषको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

‘वार्षिक १ लाख रुपैयाँ बराबरको उपचार खर्च कोषले बेहोर्ने भनिएको छ । पहिला बिल पेस गरेपछि भुक्तानी हुन्थ्यो । अहिले अस्पतालले नै छुट दिने व्यवस्था गरिएको छ । तर, न त अस्पतालमा भनेको समयमा उपचार हुन्छ न त औषधी नै पाइन्छ’, ती युवाले भने ।

कोषसँग आवद्ध नभएको निजी अस्पतालमा उपचार गर्दा र औषधी किन्दा कोषले भुक्तानी गर्न नमानेको उनीहरुले बताएका छन् ।

निजी क्षेत्रका श्रमिकका लागि भनेर सञ्चालनमा ल्याइएको कोषबाट श्रमिकले नै सहजरुपमा सुविधा नपाएको उनीहरुको गुनासो छ ।

‘निजी अस्पताल र फार्मेसीबाट उपचार लिनुपर्दा सामाजिक सुरक्षा कोषले सुविधा दिएको अनुभूति नै हुँदैन’, सेवाग्राहीहरु भन्छन् ।

सामाजिक सुरक्षा कोषका निर्देशक नेपाल भने डाक्टरको सिफारिस अनुसार निजी फार्मेसीमा किनिएको औषधीको विलमा भने भुक्तानी हुने गरेको दावी गर्छन ।

‘हामीले अस्पतालको फार्मेसीमा सबै प्रकारका औषधिहरु हुनुपर्ने भनेका छाँै, यदी कुनै अस्पतालमा औषधि भेटिएन भने डाक्टरको सिफारिसअनुसार फार्मेसीको बिल हामी लिन्छौं’, उनले भने ।

काठमाडौंमा सञ्चालित सरकारी अस्पतालमा बिरामीको चाप उच्च छ । सामान्य उपचारका लागि जाँदा समेत समयमै उपचार पाउन सकिने अवस्था छैन ।

एक्सरे तथा अल्ट्रा साउण्ड गर्नुपर्ने बिरामीले पनि महिनौ दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता छ ।

तोकिए बमोजिम सेवा नदिए सम्झौता रद्द

अस्पतालसँग भएको सम्झौता अनुसार योगदानकर्ताले उपचार नपाए कोषले सम्झौता रद्द गर्ने बताएको छ ।

‘हामीले औषधी उपचारको खर्च सेम डे रिर्भसमेन्ट (उही दिन भुक्तानी) गर्दै आएका छौँ, सम्झौता अनुसारको सुविधा नदिएर दुःख दिने काम भयो भने हामी तुरुन्तै कारबाहीमा उत्रन्छौँ’, नेपालले भने ।

‘अहिले हामीकहाँ अस्पतालले दुःख दियो भन्दै योगदानकर्ताले गुनासो गर्नुभएको छ, उहाँहरुको गुनासो आउनासाथ मैले सम्बन्धित अस्पतालमा सम्पर्क गरेर सहजीकरण गर्ने गरेको छु’, उनले भने ।

६० अस्पतालसँग सम्झौता

कोषले सातै प्रदेशमा रहेका ६० वटा अस्पतालसँग स्वास्थ्य सेवा प्रवाहका लागि सम्झौता गरेको छ । कोषले सम्झौता गरेका सरकारी तथा निजी लगानीका अस्पतालमध्ये बागमति प्रदेशभित्र २७ वटा अस्पताल कोषमा आवद्ध छन् ।

सुरुवाती चरणमा ६० अस्पतालसँग सम्झौता गरेको कोषले अन्य अस्पतासँग सम्झौता गर्दै जाने बताएको छ । कोषका प्रवक्ता विवेक पन्थीले काठमाडौंमा सञ्चालित निजी क्षेत्रका ठूला अस्पतालसँग सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘हामीले पहिला नै सम्झैता गर्न आउनुस भन्दा उहाँहरु आउनुभएको थिएन, अहिले उहाँहरु आफै आउने तयारीमा हुनुहुन्छ, अबको केही दिनमा नै नाम चलेको ठूला अस्पताल कोषमा आवद्ध हुन्छन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.