विष्णु पौडेल अर्थमन्त्री बनेपछि गभर्नरको ‘ग्रिन सिग्नल’, व्यवसायी र बैंकर्ससँग बढाउन थाले छलफल

  २०७९ पुष १९ गते १९:२४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि उद्योगी व्यवसायी र बैंकरहरुप्रति गभर्नर महाप्रसाद अधिकारीले लचकता अपनाएका छन् । अर्थतन्त्र सकस अवस्थामा रहेको बेला पनि विभिन्न नीति नियमहरु ल्याएर कडाइ गरिरहेका गभर्नर अधिकारी यस बेला भने उद्योगी व्यवसायीहरुलाई राष्ट्र बैंकमै बोलाएर समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्नतर्फ लागेका हुन् ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग विवादकै कारण पनि उनीहरुबीच ट्युनिङ मिलिरहेको थिएन । त्यसको परिणाम स्वरुप अर्थमन्त्री शर्माले उनलाई बर्खास्त गर्नसम्मको प्रयास गरे । गभर्नर अधिकारीलाई निलम्बन समेत गरियो । पछि सर्वोच्च अदालतले उनको पुनरवहाली गरायो । त्यसको रिस साँध्न अधिकारीले कुनै विषयको वास्ता नगरी काम गरिरहेको र नीति नियम पनि कडाइका साथ कार्यान्वयन गर्नतर्फ अग्रसर भएको आरोप उनीमाथि थियो ।

लामो समयसम्म शर्मा र अधिकारीबिच विवाद कायमै रह्यो । तर, अहिले नयाँ सरकार बनेसँगै पौडेल अर्थमन्त्री बनेका छन् । जसलाई धेरैले पौडेल र अधिकारीको ट्युनिङ मिल्ने अपेक्षा गरेका छन् । पौडेल अर्थमन्त्री बनेकै दिनदेखि सेयर बजार पनि बढिरहेको छ भने कारोबारमा पनि उल्लेख्य सुधार आएको छ ।

अर्थमन्त्री पौडेलले समेत एक महिनाभित्र उद्योगी व्यवसायीका माग पूरा गर्ने प्रतिवद्धता गरिसकेका छन् । निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुसँग छलफल गर्दै उनले निजी क्षेत्रका माग पुरा गर्ने प्रतिबद्धता गरेका हुन् । उनको प्रतिवद्धतापछि गभर्नर अधिकारी पनि उद्योगी व्यवसायी र बैंकर्सहरुसँग नियमित छलफल गरिरहेका छन् ।

सोमबार मात्रै निजी क्षेत्रसँग छलफल गरेका गभर्नर अधिकारीले मंगलबार बैंकर्ससँग पनि छलफल गरेका छन् । अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग छलफल गरेका थिए ।

गभर्नर अधिकारीले मंगलबार पनि चालू पुँजी कर्जा मार्गनिर्देशनका विषयमा बैंकरसँग छलफल गरेको बुझिएको छ । बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा लगायतसँग गभर्नर अधिकारीले छलफल गरेका हुन् ।

एक बैंकका सीईओले चालू पुँजी कर्जा मार्गदर्शनको विषयमा गभर्नर अधिकारीसँग छलफल भएको जानकारी दिए । उनका अनुसार मार्गदर्शनमा कार्यन्वयनका चुनौति र शंसोधन गर्नु पर्ने विषयमा छलफल भएको धारणा राखे ।

बैंकर्स संघको तर्फबाट पहिलो नै लिखित सुझाव पठाइसकेको र सोही विषयमा केन्द्रित भएर छलफल भएको ती बैंकरले बताए । ती बैंकरका अनुसार अहिले नै लागू गर्दा समस्या हुने र संशोधन गरेर लागू गर्नेमा सबै सकारात्मक भएको धारणा राखेको बताए । ‘सैद्धान्तिक रुपमा मार्गदर्शन सही भएपनि तत्कालको लागि सही होइन, यसमा केही विषयहरु संशोधन गर्नु पर्ने हाम्रो धारणा थियो, यसमा गभर्नरज्यू सकारात्मक हुनुहुन्थ्यो,’ ती बैंकरले भने ।

निजी क्षेत्रले सोमबारको छलफलमा पुराना ऋणीको हकमा चालुपूँजी कर्जा मार्गदर्शमा भएको व्यवस्था अनुसार समायोजन गर्न ३ वर्षसम्मको वर्षको समय दिनुपर्ने माग गरेका थिए । मार्गदर्शन संशोधनबारे छलफल समेत गर्न नचाहने गभर्नर अधिकारी पौडेल अर्थमन्त्री बनेपछि भने नियमित छलफलमा व्यस्त हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.