डलर खातामा १८% सम्म ब्याज, नेपालमै बस्नेले पनि खोल्न थाले, नियामक मुकदर्शक

  २०७९ साउन २० गते १६:३९     सन्तोष रोकाया

काठमाडौं । सरकारले गैर आवासीय नेपाली (एनआरएन) हरूलाई डलर खाता खोल्ने सुविधा ल्याए पनि नेपालमै बस्ने नेपालीहरुले पनि डलर खाता खोलिरहेको बुझिएको छ । नेपालमै बस्नेहरुले पनि ब्याज बढी पाउने लोभले डलर खाता खोल्ने गरेको बुझिएको हो । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा आम्दानी नभएकोले डलर खाता खोल्न पाइँदैन ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) २०७८/७९ मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् डलर खाता खोल्ने नीति ल्याएसँगै अहिले अधिकांश वाणिज्य बैंकहरू डलर खाता खोलिरहेका छन् । एनआरएका लागि भनेर ल्याएको डलर खातामा नेपालीहरुको पनि रूची देखिएको छ । विशेष गरेर बढी ब्याज पाइने लोभले मानिसहरुले खाता खोलिरहेको बुझिएको हो ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले डलर खाता अनलाइनबाटै भएको र अनलाइनबाट पनि धेरैले डलर खाता खोलिरहेको बताए । उनका अनुसार कतिपय विदेश जान्छु भनेर पनि बैंकमा डलर खाता खोलिरहेका छन् । ती सीईओका अनुसार डलर खातामा अन्य खाताको तुलनामा बढी ब्याज पाइने भएपछि नेपालमै बसिरहेका हुनेले पनि डलर खाता खोल्न थालेका हुन् ।

‘हामीले अनलाइनबाट पनि खाता खोल्ने सुविधा दिएका छौं, जुन सेवा विदेशमा बसिरहेका नेपालीहरुका लागि हो तर, अहिले नेपालमै बस्नेहरुले पनि डलर खाता खोलिरहेका छन्, बैंकहरुबीच निक्षेप तान्नका लागि प्रतिस्पर्धा चलेको छ, ब्याज बढी पाइने भएपछि नेपालमै हुनेहरुले पनि डलर खाता खोलेको भेटाइरहेका छौं,’ ती सीईओले भने ।

अहिले बैंकहरुबीच डलर खातामा ब्याज बढाउने प्रतिस्पर्धा नै चलेको छ । उसो त बढी ब्याज दियो भने लगानी बढी बैंकहरुको नै पर्ने हो । तर, तरलता अभावको समस्या भइरहेको बेला अन्य बैंक सुस्ताएको अवसर पारेर केही बैंकहरुले उच्च ब्याजमा निक्षेप लिएर कर्जा लगानी गर्ने रणनीति बनाउँदा डलर खातामा मनलाग्दी भइरहेको बुझिएको हो ।

स्रोतका अनुसार बैंकहरुले अहिले १८ प्रतिशतसम्म डलर खातामा ब्याज दिइरहेका छन् । अहिले बैंकहरुले साधारण निक्षेपमा ११.०३ र संस्थागत निक्षेपमा १०.०३ प्रतिशत निक्षेप दिइरहेका छन् । तर, डलर खातामा भने निकायक नेपाल राष्ट्र बैंकले कुनै नीति नबनाउँदा बैंकहरुले डलर खातामा मनोमानी ढंगले ब्याज दिएर निक्षेप बढाउने रणनीति बनाइरहेका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेलले पनि केही बैंकहरुबीच डलर खातामा बढी ब्याज दिने प्रतिस्पर्धा चलेको बताए । उनले पनि १८ प्रतिशतसम्म डलर खातामा ब्याज दिइरहेको सुनिएको धारणा राखे ।

‘मेरो विचारमा ब्याजदर निर्धारणको विषय मार्केटलाई छोड्नु पर्छ, प्राइस मार्केटले निर्धारण गर्ने हो, मार्केटले जुन मूल्य निर्धारण गर्छ त्यही प्राइसमा अगाडि बढ्ने हो, अहिले धेरै बैंकहरुले डलर खातामा १८ प्रतिशत ब्याज पनि दिएका छन्, यो हुनुको कारण त्यसका कुनै सीमा वा नियाकमीय व्यवस्था नभएकै कारण हो, तर डलर डिपोजिटमा १८ प्रतिशत ब्याज भनेको धेरै उच्च हो, डलर डिपोजिटमा १८ प्रतिशत ब्याजदर कुनै पनि देशमा छैन,’ उनले भने ।

उनले पनि कतिपय बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्नैका लागि भएपनि १८ प्रतिशतसम्म दिन बाध्य भएको हुन सक्ने बताए ।

राष्ट्र बैंक भन्छ : बढी ब्याज दिए बैंककै कष्ट बढछ

बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक भने डलर खातामा दिएको उच्च ब्याजप्रति बेखवर जस्तै बनेको छ । नेपाल राष्ट्र बैंकमा यस विषयमा गुनासो गएपनि राष्ट्र बैंकले कुनै चासो नदेखाएको बुझिएको छ । निक्षेपको ब्याजदर बढेमा त्यसको ‘कष्ट ट्रान्सफर’ स्वतः ऋणीमा जान्छ । निक्षेपकर्ताको ब्याजदर जति बढी भयो त्यति नै ब्याज ऋणीको पनि बढ्छ ।

राष्ट्र बैंकको नीति अनुसार निक्षेप र कर्जाबिचको ब्याजअन्तर (स्प्रेडदर) ४.४ प्रतिशत हुनु पर्छ । अहिले नेपाल राष्ट्र बैंकले बैंकहरुले बैंकहरुले मासिक १० प्रतिशत घटबढ गर्न पाउने व्यवस्था पनि गरेको छ । तर, राष्ट्र बैंकले डलर खाताकै विषयमा भने कुनै नीतिगत व्यवस्था गरेको छैन ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल ब्याजदर सम्बन्धि व्यवस्था नै डलर खातामा लागू हुने बताउँछन् । उनका अनुसार राष्ट्र बैंकले अहिले डलर खातामा दिन सकिने ब्याज सम्बन्धि हालसम्म कुनै नीतिगत व्यवस्था गरेको छैन ।

उनले नेपालमा रहेकोले डलर खाता भने खोल्न सक्ने बताए । तर, त्यसका लागि डलर आम्दानीको स्रोत आवश्यक पर्छ । ‘विदेशी मुद्रा आजर्नको स्रोत छ भने डलर खाता खोल्न पाइन्छ, यदि डलर आम्दानीको स्रोत छैन भने खोल्न पाइँदैन, बैंकले उपलब्ध गराउने डलर कार्ड, डलर क्रेडिट कार्डमार्फत् पनि उनीहरुले खर्च गर्न पाउँछन् तर, नेपालीहरुले डलर खाता खोलेर डलर एक्सचेञ्जको रिक्स लिन चाहँदैनन्,’ उनले भने ।

उनका अनुसार डलर खातामा एक्सचेञ्ज रेटको जोखिम बढी छ । त्यसैले पनि धेरै नेपालीहरुले सो खाता खोल्न सक्दैनन् । ‘डलरमा एक्सचेञ्ज रेटको जोखिम पनि छ, डलरको एक्सचेञ्ज रेट हिजोको दिनमा १२५ थियो भने एक साता पछि १३० पनि पुग्न सक्छ, १२० मा पनि झर्न सक्छ, यो एउटा रिक्स हो, त्यो रिक्स लिन चाहने र डलर आम्दानीको स्रोत हुनेले खोल्न पाउने भए तर एक्सचेञ्ज रेट रिक्स लिन नचाहनेले यो खाता खोल्दैनन्,’ उनले भने ।

उनले डलर खाताको ब्याज भने बैंकले निर्धारण गर्ने धारणा राखे । ‘डलर खाताको ब्याज नेपाली मुद्रामा दिएको ब्याजदरभन्दा धेरै तलमाथि हुन सक्दैन, थोरै तलमाथि भएपनि धेरै हुँदैन, बढी ब्याज दिनु भनेको बैंकको कष्ट नै बढ्नु हो, बैंकहरुले त्यो विषय पनि राम्रोसँग बुझेका छन्,’ पोखरेलले भने ।

पछिल्लो समय विदेशी मुद्राको सञ्चितिमा कमि आएसँगै सरकारले डलर खातालाई प्रोत्साहन गरिरहेको छ । अहिले अधिकांश बैंकहरूले अनलाइन खाता खोल्न मिल्ने व्यवस्था लागू गरेका छन् ।

खाता खोल्नको लागि अनलाइन आवेदन दिइसकेपछि उल्लेखित विवरण प्रमाणिकरण गरेर बैंकको नियम अनुसारको निश्चित समयमा खातावालाको खाता नम्बर र अन्य विवरण बैंकले पठाउँछन् । गैर आवासीय नेपालीले न्युनतम पाँच हजार डलर रकम राखी डलर खाता खोल्न पाउने व्यवस्था छ ।

One comment on "डलर खातामा १८% सम्म ब्याज, नेपालमै बस्नेले पनि खोल्न थाले, नियामक मुकदर्शक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.