वृद्धभत्ता खारेज गरौं, मान्छेलाई गरिब हुनबाट जोगाऔं- डा विश्वास गौचन

  २०७९ असार १४ गते १५:५७     विकासन्युज

काठमाडौं । अर्थविद डा विश्वास गौचनले वृद्धभत्ता खारेज गर्नुपर्ने बताएका छन् । सरकारले वृद्धभत्ता पाउनेको उमेर सीमा ७० वर्षबाट घटाएर ६८ वर्ष बनाएकोमा असन्तोष जनाउँदै उक्त भत्ता खारेजी नै गर्नु हितकर भएको तर्क गरेका छन् ।

आगामी साउनदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर सीमा ६८ वर्ष बनाउने कार्यक्रम सहित सरकारको बार्षिक बजेटलाई प्रतिनिधिसभाले अनुमोदन गरिसकेको छ । चुनाव लक्षित यो कार्यक्रमको जनस्तर र राजनीतिक तहमा तारिफ हुँदै आएको छ । तर अर्थविदहरुले यसको आलोचना गर्न थालेका छन् ।

नयाँ व्यवस्थासँगै सरकारले वार्षिक करिव ७२ अर्ब रुपैयाँ वृद्धभत्ताको लागि बाँड्नुपर्छ । यो भनेको वृद्धभत्ताको लागि सरकारले मासिक ६ अर्ब रुपैयाँ खर्च गर्नु हो । ‘५ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन सकिन्छ । एक अर्ब त्यसको सञ्चालनमा खर्च गरौं । वृद्धवृद्धाको सम्पूर्ण उपचार निःशुल्क गर्न सकिन्छ’ गौचनले भने ।

‘मध्यमस्तरको परिवारमा एक जना गम्भीर विरामी परेमा वा लामो समय उपचार गर्नु पर्ने अवस्थामा त्यो परिवार गरिब बन्छ । यस्ता बिरामीको उपचार सरकारले निःशुल्क गर्ने हो भने ऊ गरिबीको चक्रमा फस्नबाट बच्छ’ डा गौचनले भने- ‘सरकारले दिने मासिक ४ हजार रुपैयाँले गम्भीर बिरामीको उपचार सम्भव हुँदैन ।’

धनी वा मध्यम आय भएको परिवारको आमा बुवालाई वृद्धभत्ता आवश्यक नभएकाे र सरकारले उनीहरुलाई वृद्धभत्ता वितरण गर्नु लोक कल्याणकारी काम पनि नभएको उनको तर्क छ ।

आमा बुबालाई पाल्नु नेपालीहरुको संस्कार भएकोले यस्तो संस्कारलाई प्रोत्साहित हुने सरकारको नीति हुनुपर्ने उनले बताए । ‘नेपालीको राम्रो संस्कार भनेको बाबुआमालाई छोराछोरीले पाल्ने हो, यो हाम्रो जिम्मेवारी पनि हो, त्यो संस्कारलाई निरन्तरता दिउँ’ उनले भने, ‘सरकारको लगानी युवाको क्षमता विकास र उत्पादन वृद्धिमा सघाउ पुग्ने क्षेत्रमा गराैं ‘

अर्थशास्त्रमा विद्यावारिधि गरेका गौचन हाल आईआईडीएसको कार्यकारी निर्देशक छन् । यूएनडीपीमा १० वर्ष काम गरेका गौचनले साउथ सुडानमा वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत भएर समेत काम गरेका थिए ।

2 comments on "वृद्धभत्ता खारेज गरौं, मान्छेलाई गरिब हुनबाट जोगाऔं- डा विश्वास गौचन"

  • प्रशन्ना says:

    सारै तल्लो स्तरको सोच भएको मान्छे रहेछछन। कम्तिमा गाउ गाउ दुर्गम गाउमा गएर सोध वृद्द भत्ताले के काम गरेको छ . यस्ता मान्छेपनि नेपालमा छन ताजुव लाग्छ ।

  • धर्मरत्न शाक्य says:

    याे धनि मान्छे भयेर नाजायज रुपमा कमायेकाे तन्न पैसा भयेर भनेकाे हाेला,गरिबिहरु काे जिवन धान्न कस्ताे कष्टकर भयाे हाेला,याे मुलासाग ले के थाहाहाेला,गरिबिहरुकाे जिवनयापन गर्न कति कष्टकर छ भनि,चाेर,गधा भाट्टे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.