काठमाडौं । हर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले अमेरिकासँग विभिन्न कडा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले शनिबार हर्मुज जलडमरूमध्य खोल्न अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने, यस क्षेत्रबाट अमेरिकी सैन्य फौज फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति तिर्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने बताएका हुन् ।
इरानी सुरक्षा परिषद्ले क्षेत्रीय सहयोगीमाथि अमेरिकाले गर्दै आएका आक्रमण रोक्नुपर्ने तथा इरानमाथि दिइने धम्की अन्त्य गर्नुपर्ने मागसमेत गरेको छ ।
जुन महिनामा अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौताअनुसार प्रतिबन्ध हटाउने समयतालिका र क्षतिपूर्ति योजनालाई अन्तिम सम्झौताको हिस्सा बनाउने तथा रोक्का गरिएका इरानी सम्पत्तिबारे पनि वार्ता गर्ने सहमति भएको थियो ।
अन्तिम सम्झौताका लागि तय गरिएको ६० दिने वार्ताको अवधि अब एक साताभन्दा केही बढी समयमा सकिँदैछ ।
इरानको यस्तो घोषणा अबुधाबीको राष्ट्रिय तेल कम्पनी (एडीएनओसी) ले आफ्ना एउटा पानीजहाजमाथि हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको केही समयपछि आएको हो ।
एडीएनओसीले घटनामा कोही घाइते नभएको र अवस्था नियन्त्रणमा लिइएको जनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि घटनाको कडा शब्दमा निन्दा गर्दै हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एडीएनओसीसँग आबद्ध ट्यांकरलाई लक्षित गरिएको जनाएको छ ।
ओमानसँग पनि सम्झौताको तयारी
यसैबीच, इरानले हर्मुज जलडमरूमध्य व्यवस्थापनका विषयमा ओमानसँग सम्झौता नजिक पुगेको बताएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार दुवै देश जलमार्गमा जहाजको आवागमनसम्बन्धी सम्झौताको नजिक पुगेको बताएका छन् ।
विशेषगरी जहाज आवतजावतका लागि निश्चित मार्ग तोक्ने विषयमा सहमति बन्न लागेको उनको भनाइ छ ।
ओमानले पनि वार्ता सकारात्मक र रचनात्मक वातावरणमा जारी रहेको जनाएको छ । साथै जलडमरूमध्यमा पानीजहाजमाथि भएका आक्रमणको निन्दा गरेको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा इरान र उसका खाडी क्षेत्रका छिमेकी, विशेषगरी ओमान, जलडमरूमध्यबाट सुरक्षित रूपमा जहाज आवतजावत सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेको बताएका छन् ।
उनका अनुसार प्रस्तावित योजनामा जहाज आवतजावतका लागि निश्चित ट्राफिक प्रणाली बनाउने, जलमार्गबाट विस्फोटक पदार्थ हटाउने तथा इरानले व्यापारिक पानीजहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउने विषय समावेश छन् ।
‘हामी विश्वास गर्दैनौं, हामी प्रमाणित गर्छौं,’ भान्सले भने । उनका अनुसार अमेरिकाले इरानलाई उसको भनाइभन्दा पनि व्यवहारका आधारमा मूल्यांकन गर्नेछ ।
हर्मुज बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट
फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु हुनुअघि हर्मुज जलडमरूमध्य खुला र कुनै शुल्क नलाग्ने अन्तर्राष्ट्रिय जलमार्ग थियो । तर इरानले यसको आवागमन प्रभावकारी रूपमा रोक्न सक्ने अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्याएको छ ।
यसका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै मुद्रास्फीति थप चर्किएको र विश्वका विभिन्न मुलुकमा तेल भण्डारको अवस्थालाई लिएर चिन्ता बढेको छ ।
शुक्रबार तेलको मूल्यसमेत बढेको थियो । हर्मुज जलडमरूमध्यमा स्वतन्त्र रूपमा जहाज आवतजावत गर्न दिने सम्बन्धमा ट्रम्प प्रशासनले सम्झौताको संकेत गरेपछि लगानीकर्ताहरू त्यसको प्रतीक्षामा थिए ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ता सरदार मोहबीले भने होर्मुज खोल्ने विषय इरानले तय गर्ने विशेष संयन्त्र र सर्तमा निर्भर रहेको बताएका छन् । उनका अनुसार यसको इरान-ओमान वार्तासँग सम्बन्ध छैन ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार सीएनबीसीसँग होर्मुजमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने सम्झौता बुधबारसम्म हुन सक्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले पनि सम्झौता नजिक पुगेको संकेत गरेका थिए ।
तर हालसम्म त्यस्तो कुनै सम्झौता घोषणा भएको छैन ।
व्यापारसम्बन्धी गुप्तचर संस्था केप्लरका अनुसार शुक्रबार हर्मुज जलडमरूमध्यमार्फत हुने पानीजहाज आवागमन अघिल्लो दिनको तुलनामा ३३ प्रतिशतले घटेको थियो । तीमध्ये अधिकांश पानीजहाजले इरानतर्फको मार्ग प्रयोग गरिरहेका थिए ।
मिडिया रिपोर्टअनुसार इरान र ओमानले जलडमरूमध्यबाट जहाज आवतजावत गर्ने मार्ग निर्धारण गर्न सम्झौताको तयारी गरिरहेका छन् । प्रस्तावअनुसार भित्रिने पानीजहाजले इरानी जलक्षेत्र र बाहिरिने पानीजहाजले ओमानी जलक्षेत्र प्रयोग गर्नेछन् ।
तर इरानी सरकारी सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेको मस्यौदा योजनामा हर्मुजमार्फत हुने आवागमनमा थप प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । सरकारी सञ्चारमाध्यम फार्सका अनुसार उक्त योजनामाथि इरानी संसद्ले समीक्षा गरिरहेको छ ।
मस्यौदाअनुसार अमेरिकी र इजरायली पानीजहाजलाई हर्मुज जलडमरूमध्यबाट पार हुन प्रतिबन्ध लगाइनेछ । इरानलाई क्षति पुर्याएका अन्य देशका पानीजहाजलाई पनि क्षतिपूर्ति नतिरेसम्म जलडमरूमध्यबाट पार हुन नदिने प्रस्ताव गरिएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ८३.५५ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि करिब १ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.१८ डलरमा पुगेको छ । यद्यपि, साप्ताहिक आधारमा भने दुवैको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
अमेरिका–इरान तनाव अझै चर्किँदै
जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि केही समय युद्धविरामजस्तो अवस्था बने पनि त्यसपछि दुवै पक्षबीच लगातार आक्रमण र जवाफी आक्रमण हुँदै आएका छन् ।
इरानले आफ्ना केही खाडी छिमेकीलाई समेत क्षेप्यास्त्र र ड्रोनमार्फत निशाना बनाएको छ ।
बिहीबार इरानका प्रमुख वार्ताकारले अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ‘नाटकपूर्ण कूटनीति’ गरेको आरोप लगाएका थिए । वासिङ्टन र तेहरानबीच महिनौंदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको भनिएको वार्ताबारे दुवै पक्षले फरक-फरक दाबी गरिरहेका छन् ।
इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई लक्षित गर्दै लेखेका थिए, ‘ठूलो आक्रमण आउँदैछ... पर्खनूहोस्, उनीहरू वार्ता गर्न चाहन्छन् । यही हो नाटकपूर्ण कूटनीति ।’
यसअघि ट्रम्पले प्रस्तावित आक्रमण रोक्दै तेहरानसँग सम्झौताको रूपरेखा तय भइसकेको दाबी गरेका थिए । तर इरानी अधिकारीहरूले यस्तो दाबी अस्वीकार गर्दै आफूहरूबीच कुनै वार्ता नभएको बताएका थिए ।
यसैबीच खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र महत्त्वपूर्ण समुद्री मार्गहरू पुनः जोखिममा परेसँगै अमेरिका-इरान द्वन्द्वको प्रभाव पूरै क्षेत्रमा फैलिँदै गएको छ ।