कहाँ पुग्यो बालेनको एक्सप्रेस गाडी ?

प्रधानमन्त्री बालेनको एक्सप्रेस गाडी कहाँ र कसरी गुड्दैछ भन्ने आत्मसमीक्षा गर्न जरुरी छ ।

करिब नौ घण्टाको अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले शुक्रबार र शनिबार सामाजिक सञ्जाल फेसबुकमा दुइटा स्टाटस लेखे । शुक्रबार राति उनले लेखे- ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले स्वाभाविक रूपमा धेरै प्रश्न जन्मायो । आखिर के-का लागि ‘सही समय’ कुरिँदैछ ? किन ‘नआत्तिन’ भनिएको हो ? कसका विरुद्ध ‘एक्लै लड्नुपर्ने’ अवस्था आएको हो ? प्रधानमन्त्रीजस्तो संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिले सार्वजनिक रूपमा यस्तो संकेतपूर्ण अभिव्यक्ति दिँदा त्यसको राजनीतिक र प्रशासनिक अर्थ खोजिनु स्वाभाविक हो । करिब दुई तिहाई जनमतसहित प्रधानमन्त्री बनेका बालेन एक्लो बन्न कसरी विवश बने ? 

त्यसको करिब नौ घण्टा नबित्दै शनिबार बिहान उनले करिब ९०६ शब्दको अर्को स्टाटस लेखे । यसपटक भने उनले बन्द र रूग्ण अवस्थामा रहेका पाँचवटा उद्योगको व्यावसायिक पुनरुत्थान, सुधार र परिवर्तनको प्रक्रियाबारे जानकारी दिए । प्रधानमन्त्री बनेपछि आफ्नो नेतृत्वमा भएका काम र उपलब्धिबारे उनले सामाजिक सञ्जालमार्फत विस्तृत रूपमा सार्वजनिक गरेको यो महत्त्वपूर्ण प्रयास थियो । 

यसलाई केवल फेसबुक स्टाटसका रूपमा हेर्नु पूर्ण हुँदैन । यो सरकारले आफ्नो कामबारे नागरिकलाई बुझाउन खोजेको एउटा राजनीतिक सञ्चार पनि हो । अझ महत्त्वपूर्ण विषय के हो भने पछिल्लो समय सरकारप्रति बढिरहेको आलोचनाबीच प्रधानमन्त्री स्वयंले सरकारको उपलब्धि सार्वजनिक गर्न आवश्यक ठानेका छन् । यसले सरकारभित्र पनि आफ्नो कामको सार्वजनिक धारणा अपेक्षा अनुकूल नरहेको अनुभूति भइरहेको संकेत गर्छ । 

तर, सरकारको मूल्यांकन प्रधानमन्त्रीले आफै सुनाएको उपलब्धिको सूचीबाट मात्र गर्न मिल्छ कि ती उपलब्धिको प्रभाव नागरिकको जीवनमा कति पर्यो भन्ने आधारमा गर्नुपर्छ ? यहीँबाट सरकारको चार महिने समयावधिको वास्तविक प्रश्न सुरु हुन्छ ।

सरकारको आलोचना हुनु र सरकारको विपक्षमा हुनु एउटै कुरा होइन । सरकारको निर्णयमाथि प्रश्न उठाउनु सरकार ढाल्ने अभियान होइन । कुनै नीति गलत भयो भन्नु राजनीतिक शत्रुता होइन । राज्यले गरेको काममा पारदर्शिता खोज्नु असहयोग होइन । बरु लोकतन्त्रको सबैभन्दा सामान्य र स्वस्थ अभ्यास यही हो ।

सरकारको कामबारे आफ्नो धारणा राख्नुअघि एउटा सानो प्रसंग स्मरण गर्न आवश्यक ठानेँ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकको अवधारणामाथि छलफल गर्न पत्रकारहरूलाई बोलाएका थिए । कार्यक्रम सकिएपछि प्रधानमन्त्रीकै सचिवालयका एक सदस्यसँग अनौपचारिक कुराकानी भयो । ती सदस्यको मुख्य गुनासो सरकारका कामबारे पर्याप्त सूचना प्रवाह नभएको र अन्य राजनीतिक दल, नागरिक समाज, पत्रकार र केही कन्टेन्ट क्रियटरबाट भइरहेको आलोचनाप्रति थियो । उनको भनाइको सार थियो– ‘भर्खर नयाँ सरकार बनेको छ । सबै काम अहिले नै हुन्छ भन्ने अपेक्षा गर्नु हुँदैन । मिडिया, नागरिक समाजलगायत सबै बालेन सरकारको विपक्षीजस्तो बनेका छन् ।’

सरकारको आलोचना हुनु र सरकारको विपक्षमा हुनु एउटै कुरा होइन । सरकारको निर्णयमाथि प्रश्न उठाउनु सरकार ढाल्ने अभियान होइन । कुनै नीति गलत भयो भन्नु राजनीतिक शत्रुता होइन । राज्यले गरेको काममा पारदर्शिता खोज्नु असहयोग होइन । बरु लोकतन्त्रको सबैभन्दा सामान्य र स्वस्थ अभ्यास यही हो । जब आलोचनालाई विरोध र प्रश्नलाई षडयन्त्रका रूपमा बुझ्न थालिन्छ, त्यहीँबाट शासनको आत्मसुधार गर्ने क्षमता कमजोर हुन्छ । आलोचनाको आवाज बन्द भएपछि सरकार बलियो भएको होइन, सरकार आफैंले आफ्नो ऐना फुटाएको हो । 

बालेन सरकार गठन भएको चार महिना नाघेको छ । चार महिना कुनै सरकारलाई असफल घोषित गर्ने पर्याप्त अवधि होइन । पाँच वर्षको कार्यकालका अगाडि चार महिना निकै छोटो समय हो । तर, चार महिना त्यति छोटो अवधि पनि होइन, जसबाट सरकारको कार्यशैली, प्राथमिकता र राजनीतिक संस्कार बुझ्ने पर्याप्त समय हो । 

कुनै सरकारको पहिलो सय दिन वा प्रारम्भिक चार–पाँच महिनालाई पूर्ण कार्यसम्पादनको अन्तिम मापदण्ड बनाउन मिल्दैन । तर, यस अवधिमा देखिएको निर्णय क्षमता, विभिन्न संस्था तथा निकायसँगको सम्बन्ध, नियुक्तिको पारदर्शिता, कर्मचारी प्रशासनसँगको व्यवहार, संसद्प्रतिको दृष्टिकोण, निजी क्षेत्रसँगको सम्बन्ध, आर्थिक नीतिको दिशा र नागरिकका समस्याप्रतिको संवेदनशीलताले आगामी वर्षहरू कता जान सक्छन् भन्ने प्रारम्भिक संकेत अवश्य दिन्छ । अंग्रेजीमा एउटा उखान छ- ‘मर्निङ सोज दि डे’ अर्थात् बिहानले दिनको संकेत गर्छ । त्यसैले चार महिनालाई सरकारको अन्तिम फैसला होइन, प्रारम्भिक एक्सरेका रूपमा बुझ्न सकिन्छ । 

संविधानविद् भीमार्जुन आचार्यले शनिबार सामाजिक सञ्जालमा लेखेको एउटा टिप्पणी यस सन्दर्भमा गम्भीर छ । उनले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामबारे प्रश्न गर्न थालेकोप्रति खुशी व्यक्त गर्दै प्रश्न सरकारप्रति मात्र नभई सत्तारूढ सांसदहरूप्रति पनि गम्भीर रहेको बताएका छन् । आफ्नै दलले जन्माएको सरकार संसद्, संविधान, दल र जनताप्रति जवाफदेही नभएको देख्न थालिएको हो भने त्यसलाई सच्याउने राजनीतिक शक्ति सत्तापक्षसँगै रहेको उनको तर्क छ ।

यो टिप्पणीको मूल प्रश्न संसद् वा सांसदको भूमिकाभन्दा ठूलो छ । सरकारलाई प्रश्न गर्ने अधिकार सरकारका समर्थकलाई पनि छ कि छैन ? लोकतन्त्रमा सत्तापक्ष हुनु सरकारको बचाउ गर्ने स्थायी जिम्मेवारी होइन । सरकार गलत हुँदा गलत भन्न सक्नु नै परिपक्व राजनीतिक संस्कार हो । 

बालेन सरकारलाई पुराना सरकारकै मापदण्डमा मात्र मूल्यांकन गर्नु त्यसैले पर्याप्त हुँदैन । उसलाई उसैले निर्माण गरेको अपेक्षाको उचाइबाट मूल्यांकन गर्नुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको ठूलो जनादेश पुराना दलका अनुहारप्रतिको असन्तुष्टिको मात्र परिणाम थिएन । त्यो राजनीतिक शैलीप्रतिको असन्तुष्टि पनि थियो । नागरिकले नयाँ नेता मात्र खोजेका होइनन्, नयाँ शासनशैली खोजेका हुन् । त्यसैले सिंहदरबारमा अनुहार फेरिनु मात्र परिवर्तन होइन । परिवर्तन तब हुन्छ, जब सरकारी कार्यालयमा नागरिकले फरक व्यवहार अनुभव गर्छ । जब सेवाका लागि दलाल खोज्नु पर्दैन । जब उद्योग खोल्न महिनौंसम्म फाइल बोकेर मन्त्रालय-मन्त्रालयमा धाउनु पर्दैन । जब लगानीकर्ताले भोलि नीति परिवर्तन हुन्छ कि हुँदैन भन्ने त्रासमा निर्णय गर्नु पर्दैन । जब पीडितले न्याय पाउन राजनीतिक पहुँच खोज्नु पर्दैन । जब राज्यको शक्ति कमजोरमाथि प्रदर्शन हुँदैन र शक्तिशालीका अगाडि सङ्कुचित हुँदैन । 

बालेन सरकारलाई पुराना सरकारकै मापदण्डमा मात्र मूल्यांकन गर्नु त्यसैले पर्याप्त हुँदैन । उसलाई उसैले निर्माण गरेको अपेक्षाको उचाइबाट मूल्यांकन गर्नुपर्छ । ठूलो जनादेश ठूलो छुट होइन, ठूलो जिम्मेवारी हो । सरकारको उपलब्धि मापन गर्ने सबैभन्दा सजिलो तरिका सरकारले कति निर्णय ग¥यो भन्ने होइन, नागरिकले कति परिवर्तन महसुस गर्यो भन्ने हो । 

नयाँ सरकार बनेपछि महँगीको दबाब कति घट्यो ? ग्यासको अभाव र पेट्रोलियम आपूर्तिमा कति सहजता आयो ? सार्वजनिक यातायात र हवाई भाडाको मनोमानी कति नियन्त्रण भयो ? किसानले समयमा मल पाउने अवस्था कति सुधारियो ? सुकुम्बासी समस्या समाधानका नाममा राज्यले नागरिकको अधिकार र सम्मानलाई कसरी सम्बोधन गरिरहेको छ ? मिटरब्याज पीडितको समस्या समाधान कहाँ पुग्यो ? सहकारीका बचतकर्ताको पैसा फिर्ता हुने ठोस प्रक्रिया कति अगाडि बढ्यो ? लघुवित्त पीडितका समस्या कति समाधान भए ? महिनौंदेखि न्याय माग्दै माइतीघरमा रहेका भुइँमान्छेहरूलाई राज्यले हाँस्दै घर फर्काउन सफल भयो कि भएन ? वर्षौंदेखि माग राख्दै विरोध गर्दै आएका चिकित्सक, शिक्षक, उद्योगी र व्यवसायीको राज्यप्रतिको विश्वास कति बढ्यो ? काठमाडौंमा कोठा भाडामा नपाएको विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी दीपा नेपालीहरूले राज्यबाट कस्तो न्याय पाइन् ?

यी प्रश्नको उत्तर प्रधानमन्त्रीको फेसबुक स्टाटसमा खोजेर पाइँदैन । यसको उत्तर नागरिकको अनुभवमा खोज्नुपर्छ । सरकारले उद्योग पुनर्जीवनका पाँचवटा उदाहरण प्रस्तुत गर्नु सकारात्मक कुरा हो । तर, पाँचवटा उद्योग चल्नु र समग्र औद्योगिक वातावरण सुध्रिनु एउटै कुरा होइन । एउटा उद्योगको सफलता समाचार बन्न सक्छ । तर, हजारौं सम्भावित उद्योगीले लगानी गर्ने वातावरण बन्नु नीतिगत सफलता हो । 

अहिले बालेन सरकारको सबैभन्दा ठूलो परीक्षा अर्थतन्त्रमा छ । देश ग्रे-लिष्टमा छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ । ब्याजदर विगतको तुलनामा न्यून छ । लगानीयोग्य स्रोतको अभाव छैन । तर, निजी क्षेत्रमा लगानीको उत्साह कमजोर छ । बैंकमा पैसा भएर पनि व्यवसायी नयाँ ऋण लिन डराइरहेका छन् भने समस्या केवल वित्तीय स्रोतको होइन, आर्थिक विश्वासको हो । 

व्यवसायीले ऋण लिएर उद्योग खोल्नुअघि उसले कर प्रणाली हेर्छ । नियमन हेर्छ । प्रशासनिक झन्झट हेर्छ । बजार हेर्छ । माग हेर्छ । राजनीतिक स्थायित्व हेर्छ । भोलि सरकार फेरिएपछि नीति फेरिन्छ कि फेरिँदैन भनेर हेर्छ । बैंकको ब्याजदर मात्र हेर्दैन । त्यसैले सरकारले निजी क्षेत्रसँग छलफल गरेर समस्या सुन्नु पर्याप्त हुँदैन । संवाद आवश्यक पहिलो पाइँला हो । समाधान त्यसपछिको चरण हो । लगानीकर्तालाई भाषण होइन, पूर्वानुमान गर्न सकिने नीति चाहिन्छ । सरकारले लगानीकर्तालाई ‘हामी तपाईंका साथमा छौँ’ भन्नुभन्दा यस्तो वातावरण बनाइदिनुपर्छ, जहाँ लगानीकर्ताले आफैं भन्न सकोस् कि ‘अब लगानी गर्न सकिन्छ ।’

अर्थतन्त्रको अर्को संवेदनशील पक्ष सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध हो । केन्द्रीय बैंकको स्वायत्तता लोकतन्त्र र वित्तीय स्थायित्वका लागि अपरिहार्य हो । त्यसमा कुनै सम्झौता हुनु हुँदैन । तर, स्वायत्तता भनेको सरकारसँग संवाद नै नगर्ने वा आर्थिक नीतिमा समन्वय नहुने अवस्था पनि होइन । वित्त नीति र मौद्रिक नीति एउटै अर्थतन्त्रका दुई महत्वपूर्ण पाङ्ग्रा हुन् । एउटाले तीव्र गतिमा जाने र अर्कोले विपरीत दिशामा तान्ने हो भने गाडी दुर्घटनामा पर्न सक्छ ।

अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्वनाथ पौडेल फरक-फरक बाटोमा छन् । गभर्नर पौडेल प्रधानमन्त्री बालेनसँग सोझिएका छन् भने अर्थमन्त्रीले कार्यकारी निर्देशकहरुलाई डेपुटी गभर्नरको ललिपप देखाएर अर्थमन्त्रालयमा छलफल मञ्चन गरिरहेका छन् । 

सरकारले राष्ट्र बैंकलाई राजनीतिक दबाबमा राख्नु हुँदैन । तर, राष्ट्र बैंकले पनि सरकारसँगको संस्थागत समन्वयलाई असहज मान्नु हुँदैन । अर्थतन्त्रलाई अहिले सबैभन्दा बढी आवश्यक कुरा यही हो । संस्थागत स्वतन्त्रतासहितको नीतिगत समन्वय । तर, अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्वनाथ पौडेल फरक-फरक बाटोमा छन् । गभर्नर पौडेल प्रधानमन्त्री बालेनसँग सोझिएका छन् भने अर्थमन्त्रीले कार्यकारी निर्देशकहरुलाई डेपुटी गभर्नरको ललिपप देखाएर अर्थमन्त्रालयमा छलफल मञ्चन गरिरहेका छन् । 

अहिले सेयर बजार पनि अधोगतिमा छ । उसो त सेयर बजार सरकारको लोकप्रियताको थर्मोमिटर होइन । सेयर बजार घट्यो भन्दैमा सरकार असफल भयो भन्न मिल्दैन । नेप्से कुनै सरकारको लोकप्रियता नाप्ने यन्त्र पनि होइन । तर, बजारमा देखिएको निराशालाई बेवास्ता गर्नु पनि जायज हुँदैन । बजारले वर्तमानभन्दा भविष्यको अपेक्षालाई मूल्यांकन गर्छ । लगानीकर्ताले भविष्यमा अवसर देखे बजारमा जोखिम लिन तयार हुन्छ । अनिश्चितता देखे पैसा सुरक्षित राख्छ । त्यसैले बजारको लगातार कमजोर मनोविज्ञानलाई सरकारले आर्थिक अपेक्षाको एउटा संकेतका रूपमा बुझ्नुपर्छ । 

बालेन सरकारको अर्को ठूलो परीक्षा सुशासन हो । भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्छ । कानुन उल्लंघन गर्नेहरूलाई कारबाही हुनुपर्छ । अतिक्रमण हटाउनुपर्छ । राज्यको अधिकार स्थापित हुनुपर्छ । यसमा कुनै द्विविधा छैन । तर, राज्यको शक्ति प्रयोगको शैली पनि लोकतान्त्रिक हुनुपर्छ । राज्य शक्तिशाली हुनु र राज्य कठोर हुनु एउटै कुरा होइन । 

कानुन कार्यान्वयनमा दृढता चाहिन्छ, तर प्रतिशोध होइन । अनुशासन चाहिन्छ, तर अपमान होइन । कारबाही चाहिन्छ, तर प्रक्रिया पनि चाहिन्छ । गृहमन्त्री सुधन गुरुङले नियुक्त हुँदाका सुरुवाती दिनमा सामाजिक सञ्जालमा ‘१, २, ३’ भन्दै सार्वजनिक गरेका अभिव्यक्तिहरू अहिले सरकारका लागि उल्टै प्रतिप्रश्न बनेका छन् । सत्ता सञ्चालन सामाजिक सञ्जालको प्रदर्शन होइन । गृहमन्त्रीको जिम्मेवारी कुनै व्यक्तिलाई थुन्ने वा निकाल्ने संख्यात्मक घोषणा गर्नु होइन । कानुनको शासन स्थापित गर्नु हो ।

अहिले सरकार थुन्छ, अदालतले निकाल्छ भन्ने धारणा बलियो हुँदै गएको छ भने सरकारले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कुनै व्यक्ति पक्राउ पर्नु नै सरकारको सफलता होइन । कानुनसम्मत अनुसन्धान, प्रमाणमा आधारित अभियोजन र न्यायिक प्रक्रियाबाट दोष प्रमाणित हुनु राज्यको वास्तविक सफलता हो । 

सरकारका आलोचनाबीच एउटा सकारात्मक परिवर्तनलाई भने नजरअन्दाज गर्न हुँदैन । विद्यार्थीको परीक्षाको नतिजा सार्वजनिक गर्ने समय घट्नु । विगतमा महिनौं लाग्ने परीक्षाको नतिजा तुलनात्मक रूपमा छिटो सार्वजनिक हुन थालेको छ । राज्यको सेवा प्रवाह सुधारको अर्थ यही हो । नागरिकले एउटै कामका लागि कम समय कुर्नुपरोस् । यद्यपि यसमा पनि प्रश्नविहीन अवस्था छैन । छिटो नतिजा आउनु मात्र पर्याप्त होइन । निष्पक्षता, त्रुटीरहित र विश्वसनीयता पनि उत्तिकै चाहिन्छ । 

बालेन सरकारको अहिलेको सबैभन्दा ठूलो राजनीतिक कमजोरी उपलब्धिको कमीभन्दा पनि आलोचनाप्रतिको संवेदनशीलता देखिन्छ ।

सरकारले यस्ता साना देखिने तर नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सुधारलाई प्राथमिकता दिनुपर्छ । ठूलो परिवर्तन धेरैपटक यस्तै साना प्रशासनिक सुधारबाट सुरु हुन्छ । बालेन सरकारको अहिलेको सबैभन्दा ठूलो राजनीतिक कमजोरी उपलब्धिको कमीभन्दा पनि आलोचनाप्रतिको संवेदनशीलता देखिन्छ । ‘राम्रा कामको प्रशंसा भएन, आलोचना मात्र भयो’ भन्ने गुनासो सरकारमा हुनु स्वाभाविक हुन सक्छ । तर, सरकारले एउटा कुरा बुझ्नुपर्छ कि सत्तामा आएपछि प्रशंसा कम आलोचना बढी हुन्छ । किनकी उ समग्र देशवासीको अभिभावक हो । परिवारका सदस्यले हेर्ने भनेकै घरको मुलीलाई हो । 

सरकारले राम्रो काम गर्यो भने प्रशंसा हुन्छ । गलत गर्यो भने आलोचना हुन्छ । नागरिकले सरकारलाई धन्यवाद दिनका लागि होइन, आफ्नो जीवन सुधारका लागि मत दिएका हुन् । अझ ठूलो जनादेश पाएको सरकारले बढी आलोचना सहनुपर्छ । किनकि जनताको अपेक्षा पनि बढी हुन्छ । मिडिया, नागरिक समाज, सामाजिक सञ्जालका कन्टेन्ट क्रियटर, विपक्षी दल वा सर्वसाधारणले सरकारका निर्णयमाथि प्रश्न उठाउनु लोकतन्त्रको कमजोरी होइन । यही प्रश्न गर्ने अधिकारले लोकतन्त्रलाई जीवन्त बनाउँछ ।

सरकारले आलोचनालाई शत्रु ठान्न थाल्यो भने सत्ताको वरिपरि प्रशंसकहरूको घेरा बन्छ । प्रशंसकको घेरा बढ्दै जाँदा वास्तविक सूचना घट्छ । वास्तविक सूचना घटेपछि निर्णय गलत हुन थाल्छ । गलत निर्णयलाई सही ठहराउने संस्कृति विकसित हुन्छ । अन्ततः सरकार आफैंले आफ्नै कमजोरी देख्न छोड्छ । र, हाल केपी शर्मा ओलीको हुन्छ । अहिले धेरैले बालेन पनि ओलीको लाइनमा हिँडेको आरोप लागिरहेको छ । त्यसैले आलोचना सरकारको दुश्मन होइन । सुधारको निःशुल्क परामर्शदाता हो ।

बालेन सरकार सामाजिक सञ्जालको शक्तिबाट जन्मिएको राजनीतिक शक्तिसमेत हो । तर, शासन फेसबुकको टाइमलाइनबाट चल्दैन । फेसबुक पोस्टले उद्योग पुनर्जीवनको कथा भन्न सक्छ । तर, उद्योगीलाई लगानी गर्न प्रेरित गर्ने नीति चाहिन्छ । स्टाटसले भ्रष्टाचारविरुद्ध कठोरताको सन्देश दिन सक्छ । तर, त्यसलाई प्रमाण, अनुसन्धान र न्यायिक प्रक्रियाले पुष्टि गर्नुपर्छ । प्रधानमन्त्रीको अभिव्यक्तिले आशा जगाउन सक्छ । तर, नागरिकको भान्सामा महँगी घटेपछि मात्र त्यो आशा विश्वासमा रूपान्तरण हुन्छ । 

सरकारले अब आफ्नो राजनीतिक सञ्चारको केन्द्र ‘हामीले के ग¥यौं’ बाट ‘नागरिकको जीवनमा के बदलियो’तर्फ सार्नुपर्छ । यही नै हो सुशासनको वास्तविक परीक्षा । चार महिना सरकारलाई असफल घोषित गर्ने समय होइन । तर, चार महिनालाई ‘हामी नयाँ छौं, समय दिनुस्’ भनेर सबै प्रश्नबाट उम्कने ढाल बनाउन पनि मिल्दैन । सरकारले अहिलेसम्म गरेका कामलाई दुइटा तराजुमा जोख्नुपर्छ–पहिलो, सरकारले के ग¥यो ? दोस्रो, त्यसको परिणाम नागरिकले के पाए ?

प्रधानमन्त्री बालेनले भनेको एक्सप्रेस गाडी कहाँ र कसरी गुड्दैछ भन्ने आत्मसमीक्षा गर्न जरुरी छ । हामी कामना- गरौं बालेन सरकारको एक्सप्रेस गाडी कुनै कतै भीरमा नखसोस्, कुच्चिएको गाडीलाई ट्रकले बोकेर वर्कसपमा लिनु नपरोस् ।

पहिलो प्रश्नको उत्तर सरकारले आफैं दिन सक्छ । दोस्रो प्रश्नको उत्तर नागरिकले दिने हो । र लोकतन्त्रमा अन्तिम उत्तर नागरिककै हुन्छ । बालेन सरकारको सबैभन्दा ठूलो चुनौती विपक्षी दल होइन । आलोचक र पत्रकार पनि होइनन् । नागरिक समाज पनि होइन । सामाजिक सञ्जालका कन्टेन्ट क्रियटर पनि होइनन् । उसको सबैभन्दा ठूलो चुनौती उसले आफै निर्माण गरेको जनअपेक्षा हो । यही अपेक्षाले उसलाई सिंहदरबार पु¥याएको हो । अब यही अपेक्षाले उसको मूल्यांकन गर्नेछ ।

परिवर्तन भनेको पुराना मान्छेसँग झगडा गर्नु होइन । पुरानो संरचनालाई गाली गर्नु पनि होइन । परिवर्तन भनेको नागरिकले राज्यसँगको सम्बन्धमा वास्तविक फरक अनुभव गर्नु हो । सरकारले ठूलो जनादेश पाएको छ । अब त्यसलाई ठूलो आवाजमा होइन, ठूलो परिणाममा ढाल्न सक्नुपर्छ । चार महिनाले बालेन सरकारको अन्तिम फैसला गरेको छैन । तर, यो चार महिनाले बालेन सरकारको ऐना भने देखाइसकेको छ । प्रधानमन्त्री बालेनले भनेको एक्सप्रेस गाडी कहाँ र कसरी गुड्दैछ भन्ने आत्मसमीक्षा गर्न जरुरी छ । हामी कामना- गरौं बालेन सरकारको एक्सप्रेस गाडी कुनै कतै भीरमा नखसोस्, कुच्चिएको गाडीलाई ट्रकले बोकेर वर्कसपमा लिनु नपरोस् ।

Share News