‘हकप्रद जारी गर्नुस् कि बोनस सेयर दिनुस्, चुक्ता पुँजी साढे २ अर्ब हुनै पर्छ’

  २०७८ पुष २६ गते १३:३६     विकासन्युज

काठमाडौं । पुस २३ गते होटल र्याडिशनमा नेपाल बीमक संघको वार्षिक साधारणसभा थियो । साधारणसभाले चंकी क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो । औपचारिक काम नियमित रुपमा सम्पन्न भए ।

त्यसपछि शुरु भयो सध्याकालिन भोज । त्यो पनि नियमितता कै एक भाग थियो ।

अनौपचारिक र फरक के भयो भने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजरमण पौड्याल, संघका अध्यक्ष चंकी, निवर्तमान अध्यक्ष दीपप्रकाश पाण्डे, उपाध्यक्ष विरेन्द्र बैद्यवार, महासचिव अशोक खड्का, कोषाध्यक्ष यूगेश भक्त वादे श्रेष्ठसहित धेरै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु साउण्ड टेवलमा बसे । खाने, पिउने, हासिमजाक गर्ने, मनका तितोमिठा कुरा पोख्ने चरणमा सबै प्रवेश गरे ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको व्यक्तिगत स्वभाव अलि कडा भएकोले पनि होला, पूर्व गृहसचिवको छायाँ परेर पनि होला, सबै कम्पनीमाथि डण्डा चलाउने अधिकार लिएको पदाधिकारी भएकोले पनि होला, अध्यक्ष सिलवालप्रति बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु केही डराएको छनक अनुहारमा देखिन्थ्यो । बीमा क्षेत्रले सम्मान गर्नै पर्ने पदाधिकारीका सामू प्रमुख कार्यकारी अधिकृतहरु सम्मानपूर्वक नरम ढंगले प्रस्तुत भएको पनि हुन सक्छन ।

औपचारिक कार्यक्रम साँझ ७ बजे सकिसकेको थियो । अध्यक्ष सिलवाललाई राती साढे नौ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानु रहेछ । उनले पौनै ८ बजतिर भने ‘नौ बजेसम्म यहि बस्छु, तपाईका कुरा पनि सुन्छु, मेरा कुरा पनि भन्छु ।’

गफगाफको विषय बीमा क्षेत्रकै विभिन्न आयाममा केन्द्रीत हुने नै भयो । बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुबाट भएको गल्ती कमजोरीहरुप्रति खुलेर असन्तोष व्यक्त गरे । बीमा कम्पनीहरुले पनि मौका मिलाएर बीमा समितिका गल्ती कमजोरी कोट्याए । बीमा विज्ञ केबी बस्नेतका सायरी तथा चोटिला, पेचिला किस्सा व्यङ्ग्यले बेलाबेलामा ठाउँ पायो ।

‘म कुनै पनि कम्पनीलाई छोड्ने वाला छैन, गलत गर्नेहरु कारवाहीमा पर्छन्, जुनसुकै शक्ति लगाएर रोक्न खोजे पनि गलत गर्नेहरु कारवाहीमा पर्छन्’ अध्यक्ष सिलवालले होटलमा खाना खादै गर्दा पनि कम्पनीहरुलाई सचेत पार्न छोडेनन् ।

बीमा समितिले पहिलो चरणमा कम्पनीहरुका गल्ती कमजोरी औल्याइदिएको, सुधारको लागि सुझाव र निर्देशन दिएको बताउँदै दोस्रो चरणमा सुधार नगर्ने माथि कारवाही थालिएको उनले बताए ।

‘केही कम्पनीमाथि कारवाही गर्ने निर्णयमा आजै सहि गरेको छु, आईतबार तपाईंहरुको कार्यालयमा पत्र आउँछ,’ अध्यक्ष सिलवाल भन्दै थिए ।

अध्यक्ष सिलवालले यसो भन्दै गर्दा बीमा कम्पनीका सीईओहरुले ‘आज रमाइलो गरौं, कारवाहीको कुरा छोडौं’ भनेर वातावरण सामान्यीकरण गर्ने प्रयास गर्दै थिए ।

‘बीमा क्षेत्रमा हार्दिकता छ, मेलमिलाप छ, समस्याहरुको समाधान बीमा कम्पनी र बीमा समिति मिलेर गर्दै आएका छन्, यो हाम्रो इतिहारदेखिको अभ्यास हो, यसलाई निरन्तरता दिनुपर्छ, कमि कमजोरी सुधारेर जाउँ,’ करिव ६ दशक बीमा क्षेत्रमा विताएका बीमाविज्ञ केबी बस्नेत भन्दै थिए ।

‘कानुनको पालना तपाईंहरुले गर्नैपर्छ, चैतसम्म साधारणसभा नगर्ने कम्पनीको लाइसेन्स नविकरण हामी गर्दैनौं,’ अध्यक्ष सिलवालले चेतावनी दिन छोडेनन् ।

अनि कम्पनीका सीईओहरुबीच चल्यो कानेखुशी । आ-आफ्ना कम्पनीको लेखापरीक्षणको पछिल्लो अवस्थादेखि वासलात स्वीकृतको लागि बीमा समितिमा पठाएको विषयसम्म । अधिकांश बीमा कम्पनीहरुले चैत मसान्तभित्र वार्षिक साधारणसभा गर्न सकिरहेका छैनन् ।

‘तपाईहरु सहरमा बस्नुभयो, गाउँमा खोइ बीमा सेवा ? कृषि बीमाको हिस्सा ५ प्रतिशत खोई ? तपाईहरु गाउँ नजाने भए म नयाँ कम्पनीलाई लाइसेन्स दिन्छु, ‘तपाईहरु पुँजी बढाएर २ अर्ब ५० करोड बनाउनुहोस्, सकिदैन भने मर्जमा जानुहोस्,’ अध्यक्ष सिलवाल निर्देशन दिन रोकिने मुडमा देखिएनन् ।

कृषि तथा लघुबीमा, नयाँ लाइसेन्स, पुँजी वृद्धि बीमा कम्पनीहरुलाई लागि टाउको दुखाईको विषय बनेका छन् । तर, अध्यक्ष सिललालले पटक पटक यहि कुरा दोहोर्याउँदै आएका छन् । बीमा कम्पनीहरु नयाँ लाइसेन्स वितरणको विरोध गर्दै आएका छन् । बीमक संघ पनि नयाँ कम्पनीलाई लाइसेन्स दिन हुन्न भन्ने पक्षमा छ । अहिले नै बीमा कम्पनीहरुको संख्या बढी भएकोले थप कम्पनीलाई लाइसेन्स दिनु गलत हुने बीमाविज्ञ बस्नेतले बताए ।

केही बीमा कम्पनीहरुले आफूविरुद्ध झूटो प्रचार गरेको भन्दै त्यसबाट आफू विचलित नहुने अध्यक्ष सिलवाल बताउँदै थिए ।

‘सबै बीमा कम्पनीका सीईओलाई मेरो कार्यकक्ष सधैं खुला छ, तपाईहरु कसैलाई पनि मैले नभेटी फर्काएको छैन, तपाईहरुको कुरा सुनेको छु, मिल्नेसम्म सहयोग गर्दै आएको छु तर, मेरो विरुद्ध, बीमा समितिको विरुद्ध लाग्नेलाई म छोड्दिन,’ अध्यक्ष सिलवाल सीईओहरुलाई भनिरहेका थिए ।

अध्यक्ष सिलवाल यसरी पढ्कदा एक जना सीईओले साइड टक गरे- अब त अतिभयो । त्यसैबीच अर्का सीईओले भने- अब विषय परिवर्तन गरौं ।

केबी बस्नेत बोले- कोरोना बीमा ल्याएर गल्ति भयो, यसअघि बीमा क्षेत्र बैंकिङ भन्दा राम्रो थियो ।’

संघका निवर्तमान अध्यक्ष दीपप्रकाश पाण्डेले कुरा काटे- होइन, बैंकभन्दा बीमा पछाडि छ । बैंकका कर्मचारीको तलब सुविधा पनि राम्रो छ । बोनस पनि राम्रो छ । पुँजी पनि ठूलो छ । बिजनेश पनि राम्रो छ । प्रतिफल पनि राम्रो छ । सेयर मूल्य मात्र बैंकको भन्दा बीमाको बढी हो ।’

अध्यक्ष सिलवालले फेरि कुरा राखे । कुरा होइन प्रश्न थियो । भने- तपाईंहरुले के राम्रो गर्नुभयो र सय रुपैयाँको सेयरको मूल्य २ हजार रुपैयाँ पुगेको ? मैले बुझ्न सकिनँ ।

‘हजुरले पुँजी वृद्धि गर्नुपर्छ भनिबक्सेको छ, बोनस सेयर र हकप्रद सेयर आउँछ भनेर मूल्य बढेको हो नि हजुर’ एक सीईओले जवाफ फर्काए ।

‘दिनु न त बोनस र हकप्रद सेयर, हामीले त रोकेका छैनौं, कसरी हुन्छ पुँजी वृद्धि गर्नुपर्यो’ अध्यक्षले सिलवालले आफ्नो ‘बटमलाइन’ सुनाए ।

हकप्रद सेयर निकालेर पुँजी वृद्धि गरे पनि र नयाँ कम्पनी खोले पनि त्यो उस्तै हुने बीमाविज्ञ बस्नेतले टिप्पणी गरे । बजार नै सानो भएको बस्नेतको तर्क थियो ।

‘मेरै कार्यकालमा बीमाको पहुँच ७० प्रतिशत पुर्याउन सकिन्छ, प्रदेश-२ सरकारले बीमामा २ अर्ब खर्च गर्छु भनेको छ, तपाईंहरु जानु न राजधानी बाहिर’ अध्यक्षले भने । बजार विस्तार हुँदा कम्पनीहरुको पुँजी वृद्धि गर्न सकिनेमा सबै सहमत देखिए ।

‘अध्यक्षज्यू जति प्रष्ट हुनुहुन्छ म पनि त्यति नै प्रष्ट छु, राम्रो काम गर्दा साथ दिन्छौं, गलत भयो भने विरोध हुन्छ,’ संघका अध्यक्ष क्षेत्री बीचमै बोले । अध्यक्ष क्षेत्री पनि हक्की स्वभावकै छन् । त्यसैले उनले पनि आफ्नै पारामा कुरा राखे ।

बीमा समितिका अध्यक्ष कडा स्वाभावका भएकोले बीमक संघले पनि नडराई बोल्न सक्ने नेतृत्व चयन गरेको धेरैको बुझाई छ ।

बस्ने कुर्सी-टेबुल र छलफलको तरिका अनौपचारिक देखिन्थ्यो । बेला पनि खानपिनको थियो । तर, विषय गम्भीर । बीमा क्षेत्रको नियामक र बीमा कम्पनीहरु बीच दरारको संकेत अनुभूत गर्न सकिने ठाउँ थियो । दुबै पक्षको यहि पारा जारी रहने हो भने बीमा समिति र बीमा कम्पनीहरुबीच धुब्रिकरण बढ्ने देखिन्छ । त्यसले नयाँ उथलपुथल ल्याउने संकेत गरेको अनुमान धेरैले गरेको देखियो ।

हिमालयन रिइन्स्योरेन्सलाई लाइसेन्स दिने बीमा समितिको निर्णय र नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेपछि मात्र विदेशमा पुनर्बीमा गर्न मिल्ने गरी बीमा समितिले जारी गरेको निर्देशनप्रति बीमा कम्पनीहरुले असन्तोष व्यक्त गर्दै आएका छन् । फेरी नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने अध्यक्षको भनाईले पनि बीमा क्षेत्रलाई बेचैन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.