अर्थमन्त्रालयका कारण श्रमिकलाई ५ करोड नोक्सान

  २०७८ माघ १४ गते ११:१६     विकासन्युज

काठमाडौं । आफूलाई श्रमजीवी वर्गको पार्टी भनाउने नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माकै कारण श्रमिकले करिब ५ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ ।

सरकारले श्रमिकको लागि सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम आफैले दिन्छु भनेर लामो समयसम्म नदिएका कारण व्याज वापत सो बराबरको रकम नोक्सानी भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा गत जेठ र असार महिनाको रोजगारदाता तथा योगदानकर्ता (कामदार, कर्मचारी तथा श्रमिक) को तर्फबाट सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम दिने घोषणा गरेको थियो ।

गत जेठ १५ मा अध्यादेश मार्फत आएको बजेटमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका थिए । वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि बजेटको सो व्यवस्थालाई निरन्तरता दिएका थिए ।

बजेटको व्यवस्था अनुसार गत जेठ र असार महिनाको लागि रोजगारदाता र योगदानकर्ताले कोषमा जम्मा गर्नुपर्ने १ अर्ब ५० करोड रुपैयाँ अर्थमन्त्रालयले कोषलाई दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म पनि अर्थमन्त्रालयले सो रकम नदिएको कोषले बताएको छ ।

सरकारले कोषलाई रकम उपलब्ध नगराएको कारण योगदानकर्ताको खातामा अहिले पनि कुल जम्मा गरेको रकममा २ महिनाको रकम देखिँदैन । सरकारले रोजगारदातालाई पनि आफैले रकम दिने भन्दै गत जेठ र असार महिनाको लागि रकम जम्मा नगर्न भनेको थियो । कोषमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी तलबको ३१ प्रतिशत रकम प्रत्येक महिना जम्मा गर्नुपर्छ ।

कोषका अनुसार जेठ र असार महिनाको रोजगारदाता र योगदानकर्ताको गरी १ अर्ब ५० करोड रुपैयाँ सरकारले दिनुपर्ने हुन्छ । कोषले जम्मा भएको रकममा ६.५ प्रतिशत व्याज दिने भनेको छ । यसरी हेर्दा अर्थमन्त्रालयले समयमै कोषलाई रकम नदिएका कारण ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँको व्याज (६.५ प्रतिशतका दरले) रकम वापत श्रमिकलाई ४ करोड ८७ लाख ५० हजार (करिब ५ करोड) रुपैयाँ नोक्सानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.