दुगडले चौधरीलाई पुर्याए अदालतमा, कसले पाउला एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर ?

  २०७८ पुष २७ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा परेको छ । आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न चाहेका नेपाली व्यवसायिक घराना कानुनी लडाइमा जुटेका हुन् ।

आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न दुई समुह सक्रिय भएर लागेको थियो । सनराइज बैंक संचालक समिति अध्यक्ष मोतिलाल दुगडको समन्वयमा व्यवसायीहरु शेखर गोल्छा, पशुपति मुरारका सहितको समुहले सेयर खरिदको प्रक्रिया अघि बढाइरहेको भनिएको समयमा अर्का व्यवसायी विनोद चौधरीले सेयर खरिद गरिसकेपछि विवाद अदालतसम्म पुगेको हो ।

एनबी बैंकको संस्थापक सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ४२ प्रतिशत सेयर विक्री गर्ने प्रक्रिया अघि बढाएपछि सो सेयर खरिद गर्न नेपाली व्यवसायीले प्रतिस्पर्धा गरेका हुन् । सो सेयर खरिद गर्न सनराइज बैंक संचालक समिति अध्यक्ष दुगडको पहलमा व्यवसायीहरु शेखर गोल्छा, पशुपति मुरारका लगायत हिमालयन रिइन्स्योरेन्स कम्पनीका सेयरधनीहरु संलग्न भएका थिए ।

दुगडको समन्वयमा सो पक्षले सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन् । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत भएको छ । इच्छापत्रको मूल्यका आधारमा आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर सेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । गत अप्रिल २ मा नै इच्छापत्रमा हस्ताक्षर भइसकेको स्रोतको दाबी छ ।

तर, केही समयअघि मात्रै चौधरीले आईएफआईसीसँग एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्ने सम्झौता गरिसकेको स्रोतले जानकारी दियो । चौधरीले पनि प्रतिकित्ता १५७ रुपैयाँमा नै खरिद गर्ने सम्झौता गरेको स्रोतको दाबी छ ।

आफूहरुले गत अप्रिल २ मा नै सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेको र सोको जानकारी नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयमा दिइसकेको तथा सेयर खरिद गर्न आफूहरु तयार रहेकै अवस्थामा चौधरीलाई सेयर विक्री गर्ने आईएफआईसीको निर्णय गैरकानुनी भएको दुगड समुहको दाबी छ ।

‘हामीले सेयर खरिदका लागि अप्रिल २ मै आईएफआईसीसँग सम्झौता गरिसकेका थियौं, यसको एक प्रति राष्ट्र बैंक र अर्थमन्त्रालय पनि दिइसकेका थियौं, हामीले जानकारी दिएर प्रक्रिया अघि बढाइरहेको समयमा एकाएक अर्काे समुहलाई सेयर विक्री गरियो, यो कार्य गैरकानुनी भएकोले हामीले पाटन उच्च अदालतमा पुस २१ गते मुद्दा दायर गरेका थियौं, आज त्यो मुद्दा पेशीमा छ,’ दुगड समुहबाट सेयर खरिद गर्न चाहेका एक व्यवसायीले भने ।

पुस २१ गते दुगड समुहबाट पाटन उच्च अदालतमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट परेको थियो । सो रिटमध्ये एउटामा निषेधाज्ञा माग गरिएको छ भने अर्काेमा परमादेश माग गरिएको छ ।

यी दुबै रिट आज पाटन उच्च अदालतमा न्यायाधीशहरु नृपध्वज निरौला र नारायणप्रसाद पौडेलको संयुक्त बेन्चमा परेको छ । रिट निवेदकले चौधरीसँगको सेयर खरिद विक्रीको सम्झौता खारेज गरी आफूहरुसँग भएको सम्झौता अनुसार सेयर खरिद विक्री हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार

एनबी बैंकमा ६ अर्बको डिलः दुगड, गोल्छा र मुरारकाको ‘इन्ट्री’ प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.