एनबी बैंकमा ६ अर्बको डिलः दुगड, गोल्छा र मुरारकाको ‘इन्ट्री’ प्रयास

  २०७८ मंसिर २६ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको प्रमोटर सेयर खरिद प्रक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाको ‘इन्ट्री’ भएको छ ।

आईएफआईसीको स्वामित्वमा रहेको एनबी बैंकको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि गोल्छा र मुरारका सहित हिमालयन रिइन्स्योरेन्स कम्पनीका करिब २ दर्जन प्रमोटर सहभागी भएका छन् । गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष हुन भने मुरारका सो कम्पनीको प्रमोटर छन् ।

गोल्छा र मुरारकालाई एनबी बैंकमा रहेको आईएफआईसीको सेयर खरिदको प्रबन्ध भने सनराइज बैंकको संचालक समिति अध्यक्ष मोतिलाल दुगडले मिलाइदिएका हुन् ।

स्रोतका अनुसार सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन् । सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत भएको छ । इच्छापत्रको मूल्यका आधारमा आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर सेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । गत अप्रिल २ मा नै इच्छापत्रमा हस्ताक्षर भइसकेको स्रोतको दाबी छ ।

दुगडलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाले साथ दिएका छन् । एनबी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद गर्नको लागि गोल्छा र मुरारकाको टीम पनि तयार रहेको स्रोतले जानकारी दियो ।

आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर भएको र सोअनुसार नै सेयर खरिद विक्रीको लागि सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंक र एनबी बैंकमा दुगडले पत्राचार गरिसकेका स्रोतले जानकारी दियो ।

एनबीकै प्रमोटर विपक्षमा

एनबी बैंकमा रहेको आईएफआईसीको प्रमोटर सेयर खरिदका लागि एनबी समूहले तत्परता देखाएको थियो । तर, नेपाल राष्ट्र बैंकले ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा एनबी समूह आईएफआईसीको सेयर हिस्सा खरिद गर्नका लागि ‘अयोग्य’ देखिएको थियो । एनबी बैंकमा एनबी समुहको ८ प्रतिशत प्रमोटर सेयर छ ।

एनबी समूह आफूले सेयर किन्न नपाएपछि सकेसम्म आफू अनुकूल लगानीकर्ता भित्र्याउन चाहन्छ । यो समूह विनोद चौधरीको हातमा आईएफआईसीको सेयर पर्न नदिन सक्रिय रुपमा लागेको छ । एनबी बैंकमा रहेको आईएफआईसीको सेयर खरिद गर्नका लागि विनोद चौधरीले पनि चासो देखाएको समाचारहरु सार्वजनिक भएका थिए ।

तर एनबी बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु आईएफआईसीको सेयर विनोद चौधरीले किनिदिउन र नविल बैंकमा मर्ज गर्न पाइयोस् भन्ने चाहन्छन् ।

‘नविल बैंकको विजनेश राम्रो छ, नाफा राम्रो छ, सुशासन राम्रो छ, ब्राण्ड इमेज राम्रो छ, नविलसँग मर्ज हुँदा हाम्रो लगानी बढी सुरक्षित हुन्छ, त्यसले बढी प्रतिफल दिन्छ,’ एनबी बैंकका एक संचालकले भने ।

चौधरीले नै आईएफआईसीको सेयर खरिद गरिदेओस भन्ने समूहले गत साता मात्रै बंगलादेश पुगेर आईएफआईसीको नेतृत्वसँग छलफल समेत गरेको छ । सो छलफलमा सेयर बिक्रीपछि पनि संस्थाको हितलाई ध्यान दिन आईएफआईसीलाई अनुरोध गरिएको स्रोतले बतायो ।

उक्त समूह दुगड ग्रुपले आईएफआईसीको सेयर किन्न लागेको र सनराईजसँग आफूहरुलाई मर्जमा लैजान लागेकोमा असन्तुष्ट देखिएको छ । ‘हामी बहुमत सेयरधनी सनराईजसँगको मर्जको पक्षमा छैनौं, बंगालीको सेयर उनीहरुले किने भने पनि मर्ज सफल हुँदैन,’ ती संचालकले भने ।

एनबी समूह पनि आईएफआईसीको सेयर बिक्री प्रक्रियामा अवरोध गर्दै अन्तिममा आफै किन्न कसरतमा छ ।

‘आईएफआईसीले संस्थापक समूहलाई सेयर बिक्री गर्न सूचना जारी गरेको ३ महिना नाघिसक्यो । ३ महिनाभित्र उसले सर्बसाधारणलाई सेयर बिक्री गर्न सूचना दिन सकेन । अब फेरि संस्थापक समूहलाई नै बिक्री गर्ने सूचना उसले जारी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ,’ ती संचालकले भने ।

आईएफआईसीले एनबी बैंकको सेयर मूल्य प्रतिकित्ता ४६० नाघेको बेलामा बिक्रीको प्रयास गरेको थियो । अहिले प्रतिकित्ता ३३० रुपैयाँको हाराहारीमा मूल्य झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.