सेयर साम्राज्यवादको साधन होइन, सेयर कर्जामा ४/१२ को नीतिप्रति म कन्भिन्स छैनः उपाध्यक्ष पौडेल

  २०७८ मंसिर २७ गते १०:३०     डा. विश्व पाैडेल

मलाई धेरै जनाले किन सेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ । तपाईंहरु सवैको जवाफ दिन नसके पनि जानकारीको लागि केही कुरा राख्न चाहन्छु ।

(क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी गभर्नर महाप्रसाद अधिकारीजीसँगको पहिलो भेटमा मैले सरकार अस्थिरताको पक्षमा छैन, राष्ट्र बैंकको कोर म्याण्डेट पनि आर्थिक स्थिरता राख्नु नै हो भन्ने मेरो विश्वास छ भनेको थिएँ ।

व्याजदर तथा पुँजी बजारमा पनि स्थिरता नै रहोस भन्ने मेरो चाहना छ । मैले सम्माननीय प्रधानमंत्रीज्यूसँग पनि यसैबाट देशको र जनताको राम्रो हुन्छ भनेको थिएँ । मौद्रिक नीतिहरुमा सरकारले हस्तक्षेप नगर्ने हाम्रो परम्परा हो । मैले ४–१२ र सीसीडी रेसियो खारेजी गर्ने नियम आएपछि दोश्रो (सीसीडी रेसियो खारेजी गर्ने) मा म अझै कन्भिन्स छैन भन्ने कुरा सरोकारवालाहरु (गभर्नर, अर्थमन्त्री) सँग राखेको पनि छु ।

सेयर बजारमा साना लगानीकर्ताहरुको ऋणमा पहुँच पुगोस, एकातिर केही मानिसले बैंकको पैसा सेयर बजारमा लगेर करोडौं अरबौं कमाउने र अर्काेतिर साना लगानिकर्ताहरु भने ठगिने स्थिति नआओस भन्नेमा मेरो जोड छ । ४–१२ को नीति आएपछि कति साधारण लगानिकर्ताले ऋण पाए, उक्त नीति कत्तिको प्रभावशाली भयो भन्नेवारेमा हामी अझै तथ्यांकको प्रतिक्षामा छौं । तर, आफ्नो व्यक्तिगत सहमति वा असहमति जे भएपनि राष्ट्र बैंक लामो अनुभव भएको संस्था भएकोले त्यहाँका साथीहरुको जजमेन्टलाई बेनिफिट अफ डाउट दिनुपर्छ भन्ने मेरो सोचाइ भने छ ।

(ख) सेयर बजार मानिसको सम्पत्ति डाइभर्सीफाई गर्ने एक माध्यम हो । यसले तपाईंको सम्पत्तिको कुल मुल्यको आर्थिक स्थिरता ल्याउन मद्दत गर्छ । उदाहरणको लागि तपाईसँग रु २० लाख छ । तपाईंले त्यसलाई बैंकमा राख्नु भयो भने १२ प्रतिशत मुद्दती व्याजदर हुँदा महिनाको लगभग रु २०,००० पाउनुहुन्छ । तर, बैंकको व्याजदर घटेर ६ प्रतिशत भयो भने तपाईंको महिनाको आम्दानी रु १०,००० मा झर्छ । तर, यदि तपाईंले रु १० लाख बैंकमा र रु १० लाख सेयरमा राख्नुभएको छ भने बैंकको व्याजदर घट्दा बेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन ।

केही मानिसले सम्पत्ति वर्षमै दुई तीन गुना गरेपनि सेयर बजार मूलतः सम्पत्तिको मुल्यको स्थिरताको लागि प्रयोग भयो भने राम्रो हुन्छ । त्यसवाहेक जग्गामा लगानी गर्दा तपाईंलाई कुनै बेला रु ५ हजार चाहियो भने जग्गा नै बेच्नुपर्ने हुनसक्छ । जबकि सेयर बजारबाट ५ हजार बराबरको सेयर बेचे पनि हुन्छ । यस्ता विभिन्न कारणले सेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो । यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो ।

(ग) राष्ट्र बैंक र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वहरुलाई मेरो सल्लाह सधैं पुँजी वजारको बारेमा कम बोल्ने र व्याजदर सकेसम्म स्थिर बनाउन कोशीस गर्ने गर्नुहोस भन्ने नै छ । धेरै जनताको पैसा लगानी भएको क्षेत्रको वारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरुको सम्पत्तिप्रति हाम्रो गैरजिम्मेवारीपन मात्र देखाउँछ ।

(घ) बजारमा धेरै खालका मान्छे छन । आफू अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्छन् । यस्तो अवस्थामा साना लगानीकर्तालाई बचाउनु जरुरी छ । नेपाली काँग्रेसको एउटा नीति छः समग्र समृद्धि बढाउने र असमानता घटाऊने । यो २००८ सालको नेपालको प्रथम बजेट मै लेखिएको नीति हो । मैले योजना आयोगको उपाध्यक्षको हैसियतमा बेलावेलामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो अर्थतन्त्रको स्थितिको वारेमा पनि रिपोर्ट गर्नेगर्छु । हाम्रा हरेक नीतिनियमले जस्तै पुँजी वजारले पनि समग्र समृद्धि बढाउने र धनी र गरीवबीचको असमानता घटाऊने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सरकार त्यसैले पुँजीवजारमा रहेका लाखौंं साना लगानिकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस्, उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधि त्यहाँ होस्, साना साना ऋणहरुमा उनीहरुको पहुँच पुग्नसक्ने स्थिति होस भन्नेमा नै लाग्ने छ भन्ने कुरामा म विश्वास पनि दिलाउन चाहन्छु ।

(ङ) अन्तमा, २ वर्षको कोभिडको मन्दीको बेलामा आयात कम भएको थियो र अहिले केही बढेको छ । वाणिज्य वैंकहरुले अनुशासित भएर ऋण प्रवाह गर्नुपर्छ र उनीहरु सरकारको पुँजीगत खर्चको ट्रेण्ड हेरेर पनि चल्नुपर्छ । अब यत्रो वर्षको तथ्यांक हेर्ने हो भने सरकारले कुन कुन महिनामा कति खर्च गर्छ भन्ने कुरा बैंकहरुको लागि नौलो नहुनुपर्ने हो । पैसा धेरै हुँदा एक महिनापछि के हुन्छ भनेर आँकलन नगरी जथाभावी ऋण प्रवाह गर्ने हो भने एक महिनापछि समस्या आउनु स्वाभाविक हो । मलाई के विश्वास छ भने राष्ट्र बैंक, बैंकहरु र अर्थ मन्त्रालय मिलेर छिट्टै नै अहिलेका अप्ठेराहरु पार लगाउने छन् ।

(राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्य डा. विश्व पौडेलले सामाजिक संजाल मार्फत राखेको धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.