अध्यक्ष ढुङ्गाना र सीईओ साउदलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

  २०७८ भदौ ४ गते १३:०४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पदीय दुरुपयोग गरी अनुचित लाभ लिने पदाधिकारीलाई कानुन अनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरित काम गरेको भन्दै चर्को आलोचना भईरहेका बेला समितिले तत्काल छानवीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो ।

नियमक निकाय आफैंले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानवीन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानवीन भईरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ, उक्त छानवीन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’

बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पूँजी बजारको नियमक निकायलाई पारदर्शी र जवाफदेही बनाउनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । उनले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहूँञ्जेल पूँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए ।

समितिका सदस्य श्यामकुमार श्रेष्ठले पुँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए । उनले पूँजी बजारमा नियमक निकाय आफैले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

मर्यादाविपरित काम गरेका बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गरिन्छ: अर्थमन्त्री

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिमा उपस्थित भएर छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए । उनले नियमन गर्ने संस्थाका प्रतिनिधिका परिवारले नै ठूलो कारोबार गरेको विषय आएपछि बोर्डलाई पत्रचार गरिएको तर चित्तबुझ्दो जवाफ नआएपछि पाँच सदस्यीय छानबिन समिति गठन गरेर छानबिन भइरहेको बताए ।

समितिको बैठकमा सांसदहरुले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका नेप्से प्रमुख चन्द्र सिंह साउद, सेबोन अध्यक्ष भिष्मराज ढुंगाना र सेबोनका सञ्चालक सदस्य चन्द्र ढकाललाई निलम्बन गरेर छानविन गर्न माग गरेका थिए । उनीहरुले पदमा नै राखेर अनुसन्धान अगाडि बढाउँदा पदको दुरुपयोग गरी छानविनलाई प्रभावित बनाउन सक्ने भन्दै उनले निलम्बन गर्न छानविन गर्न माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.