राष्ट्र बैंक भन्छः मौद्रिक नीति तयार पारेर बसेका छौं, अर्थले हुन्छ भन्ने वित्तिकै सार्वजनिक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तयार पारेर राखिएको बताएको छ । अर्थमन्त्री जनार्दशन शर्माको हस्तपक्षेपका कारण मौद्रिक नीति रोकिएको भएपनि मन्त्रालयले सार्वजनिक गर्न दिने वित्तिकै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । आफूहरुले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी अवस्थामा राखेको मौद्रिक नीति अर्थमन्त्री शर्माको ‘आग्रह’ बमोजिम केही [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तयार पारेर राखिएको बताएको छ । अर्थमन्त्री जनार्दशन शर्माको हस्तपक्षेपका कारण मौद्रिक नीति रोकिएको भएपनि मन्त्रालयले सार्वजनिक गर्न दिने वित्तिकै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

आफूहरुले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी अवस्थामा राखेको मौद्रिक नीति अर्थमन्त्री शर्माको ‘आग्रह’ बमोजिम केही समय रोकिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

‘मौद्रिक नीति तयार पार्नको लागि गर्नुपर्ने सबै गृहकार्य असार मसान्तअघि नै सएिको थियो, अर्थमन्त्रालयसँग पनि छलफल भएकै हो तर, यही बीचमा सरकार परिवर्तन भएको र अध्यादेश मार्फत आएको बजेटमा केही परिमार्जन गर्नुपर्ने हुन्छ, त्यसैले मौद्रिक नीति केही पछि ल्याउनु राम्रो होला भनेर अर्थमन्त्रीज्यूले आग्रह गर्नुभएपछि ढिला भएको हो, नीति तयारी अवस्थामा छ, अर्थमन्त्रालयले ल्याउदा हुन्छ भन्ने वित्तिकै सार्वजनिक गरिन्छ,’ ती अधिकारीले भने ।

राष्ट्र बैंकका संचालक परिवर्तन भएकोले नयाँ संचालकलाई फेरि मौद्रिक नीतिको ब्रिफिङ गर्नुपर्ने अवस्था आएको पनि ती अधिकारीले बताए । सरकारले अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सरुवा गरी महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अर्थसचिव बनाएको छ । अर्थसचिव नेपाल राष्ट्र बैंकको पदेन संचालक रहने व्यवस्था छ ।

अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्ने भनेपनि के कस्तो परिमार्जन गरिने भन्ने जानकारी अझै नदिएका राष्ट्र बैंकका ती अधिकारीको भनाई छ ।

‘बजेट अध्यादेशमा परिमार्जन गर्ने हो भने पनि के के कुरामा परिमार्जन गर्ने हो सो अनुसार मौद्रिक नीति ल्याउन मिल्छ, अहिले मौद्रिक नीति ल्याएर पनि बजेट आएपछि बजेट अनुरुप हुने गरी असोज मसान्तमा संशोधन गर्न नमिल्ने कुरा होइन, मौद्रिक नीति रोक्दा अर्थमन्त्रीज्यूलाई राष्ट्र बैंकमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप मात्रै लागेको छ, रोकेर फाइदा हुने केही पनि देखिदैन,’ ती अधिकारीले थपे ।

यद्यपि अर्थमन्त्री शर्माले केही दिन अघि आर्थिक पत्रकारहरुको एउटा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिसँगको भेटमा आफूले मौद्रिक नीति नरोकेको दाबी गरेका थिए । तर, उनले अर्थमन्त्री बन्ने वित्तिकै गरेको पत्रकार सम्मेलनमा आफूहले मन्त्रालयका सबै महाशाखाहरुसँग छलफल गरिरहेको र सो छलफलपछि मात्रै मौद्रिक नीति आउने बताएका थिए ।

आर्थिक क्षेत्रसँग सम्बन्धित वित्त तथा व्यवसायीहरुले मौद्रिक नीति ल्याउन ढिला गर्नु नहुने बताइरहेका छन् । नेपाल राष्ट्र बैंककै पूर्व गभर्नरहरु डा. तिलक रावल, विजयनाथ भट्टराई, डा. चिरन्जिवी नेपाल लगायतले पनि मौद्रिक नीति ल्याउन ढिला गर्न नहुने र राष्ट्र बैंकको स्वायत्ततामा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नहुने धारणा सार्वजनिक गरिरहेका छन् ।

सम्बन्धित समाचार

अर्थमन्त्री शर्मा भन्छन्ः मौद्रिक नीति मैले रोकेको होइन

मौद्रिक नीतिको ढिलाईप्रति पूर्वगभर्नरहरु र अर्थशास्त्रीको असन्तुष्टी, स्वायत्तता उपयोग गर्न सुझाव

Share News