अर्थमन्त्री शर्मा भन्छन्ः मौद्रिक नीति मैले रोकेको होइन

  २०७८ साउन १४ गते १७:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति रोक्नमा आफ्नो भूमीका नरहेको बताएका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले मौद्रिक नीति सार्वजनिक गर्न आफुले नरोकेको बताएका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्नमा आफ्नो मन्त्रालयबाट कुनै रोक नलगाइएको उनको भनाई छ । मौद्रिक नीति अर्थमन्त्रालयले रोक्यो भन्ने समाचारमा पनि कुनै सत्यता नभएको उनको भनाई छ ।

‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मैले रोक्नुस् भनेर निर्देशन दिएको छैन,’ उनले भने ।

शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पारे । वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको पनि बताए ।

‘आम नागरिकलाई अप्ठेरो हुनु भएन, यसबाहेक मैले केही सुझाव दिएको छैन, रोकेको त हुँदै होइन, नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो, गभर्नरलाई मैले ‘तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु,  उनले भने ।

मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्ति सहज वातारणलाई सहज बनाइदिन माग आएको उनले बताए ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहादा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गरे । केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए ।

मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन् । नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.