काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पटक-पटक उल्लंघन गर्ने चालकहरूमाथि कारबाही प्रक्रियालाई थप कडा बनाएको छ ।
कार्यालयका प्रवक्ता नरेश सुवेदीले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सुरु गरिएको जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै प्रहरीले यो कदम चालेको हो । उक्त दफामा ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ ।
प्रवक्ता सुवेदीले सार्वजनिक सवारीसाधन र एम्बुलेन्स जस्ता संवेदनशील सवारी चलाउने चालकहरूले लागुऔषध (लापसे) वा मादक पदार्थ (मापसे) सेवन गरेको भेटिएमा त्यसलाई झन् गम्भीर रूपमा लिई कारबाहीको दायरामा ल्याइएको बताए ।
‘परम्परागत शैलीभन्दा अगाडि बढेर रचनात्मक र प्रविधिमैत्री ढंगले कानुन कार्यान्वयनमा लागेका छौं,’ उनले विकासन्युजसँग भने, ‘पटक-पटक उल्लंघन गर्दा पनि सजग नहुने चालकलाई सचेत गराउन निलम्बन प्रक्रिया अनिवार्य देखिएको हो ।’
प्रहरीले विगत ३ हप्तादेखि नै यातायात व्यवस्था विभागलाई पत्राचार गरी यो प्रक्रिया सुरु गरिसकेको छ । हालसम्म ३१ जनाको लाइसेन्स निलम्बन भइसकेको र अन्य चालकहरूको पनि अभिलेख (रेकर्ड) कडाइका साथ जाँच भइरहेको छ ।
लाइसेन्स निलम्बन भएको अवधिमा सम्बन्धित चालकले सवारीसाधन चलाउन पाउने छैनन् । यदि निलम्बनको अवस्थामा सवारी चलाएको भेटिएमा कानुनअनुसार थप कारबाही हुने समेत प्रहरीले जनाएको छ ।
हाल यो अभियान उपत्यकामा विशेष रूपमा केन्द्रित भए तापनि उपत्यका बाहिर पनि यस्तो कारबाही प्रक्रिया चलिरहेको सुवेदीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गर्ने सभामुखको सवारीदेखि अगुवा पछुवा गाडीसम्म कारबाहीमा पर्न थालेका छन् ।