संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैंअघि नै सञ्चालनमा

  २०७८ साउन ७ गते ९:४८     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको कारण अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा छलाङ मारिरहेको हुन् ।

उनले कोरोनाकालमै ईटहरीमा एक अर्ब रुपैयाँ लागतमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छन् । भाटभटेनी ग्रुपका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलका अनुसार भाटभटेनी ग्रुपले ईटहरीमा १ अर्ब रुपैयाँको लागतमा नयाँ डिपार्टमेण्टल स्टोर निर्माण गरिरहेको हो ।

‘हामीले कोरोनाकै समयमा ईटहरीमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छौं, जहाँ स्वेदशी र विदेशी सामानहरु पाइन्छन्, यो हालसम्मकै ठूलो क्षमताको आउटलेट हुनेछ, दशैं अगाडि नै सञ्चालनमा तयारी गरिरहेका छौं, उनले विकासन्युजसँग भने ।

ईटहरी मात्रै होइन, पूर्वका सम्पूर्ण ग्राहक र बोर्डर नजिक पर्ने भारतीय ग्राहकलाई लक्षित गरेर हालसम्मकै ठूलो आउटलेट निर्माण गर्न लागिएकाे उनको भनाई छ । उनका अनुसार ईटहरीको भाटभटेनीमा स्वदेशी उत्पादित वस्तु र कतिपय भारतीय प्रडक्टहरु पनि पाइनेछन् ।

यस्तो बन्नेछ ईटहरीको आउटलेट

हालसम्मकै ठूलो क्षमताको ईटहरीको भाटभटेनी ५ तलाको हुनेछ । सो आउटलेटभित्र सिनेमा हलहरु, केफएसी, रेष्टुरेण्ट लगायतका सुविधा भएको भवन हुनेछ । जहाँ ग्राहकहरुले आफुले रोजेको सामान र सुविधा पाउन सक्नेछन् ।

सीओओ पौडेलका अनुसार सो आउटलेटमा ‘चिल्ड्रेन प्ले एरिया’ पनि हनेछ ।

‘केही नयाँ सोचका साथ हामीले ईटहरीको भाटभेटनी आउटलेट बनाएका छौं, जहाँ सबै किसिमका सुविधाहरु ग्राहकले पाउनेछन्, नयाँ स्वाद दिनको लागि ईटहरी आउटलेटले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा गरेका छौं, यो एउटा ट्रायल पनि हो,’ उनले भने ।

निर्माण भइरहेको भाटभटेनी ईटहरी बजारभन्दा ४/५ किलोमिटर टाढा रहेको पौडेलले बताए । उनका अनुसार १ बिघा १५ कठ्ठा जग्गामा सो भवन निर्माण गरिएको हो । गाडी पार्किङको पनि राम्रो व्यवस्था भएको उनको भनाई छ । एउटै भवनमा ग्राहकले धेरै किसिमका सेवा सुविधाहरु पाउन् भन्ने साेच र अवधारणले ईटहरीमा नयाँ भाटभटेनी आउटलेट खोल्ने तयारी भइरहेको उनले बताए ।

७ सय बढीले रोजगारी पाउने

हालसम्मकै ठूलो क्षमताको रुपमा स्थापना हुने ईटहरी आउटलेट मार्फत ७ सयदेखि एक हजार जनाले रोजगारी पाउन सक्नेछन् । हालसम्म देशका विभिन्न ठाउँमा भाटभटेनी डिपार्टमेन्ट खोलेर हजारौंलाई रोजगारी दिँदै आएको भाटभटेनी ग्रुपले ईटहरीको आउटलेट मार्फत पनि १ हजार जनासम्मले रोजगारी पाउनेछन् ।

सीओओ पौडेलले भाटभटेनी ग्रुपले आफ्नो व्यापार व्यवसाय मात्रै हेर्ने नभएर स्थानीयहरुको जीवनस्तर सुधार र उनीहरुको जीवनशैली सहज गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

‘हामीले विजनेस मात्रै हेर्दैनौं, समाजको विकास र उनीहरुको जीवनशैलीमा सुधार गर्नको लागि पनि काम गर्छौं, त्यसैले पनि सबेको रोजाईमा अहिले भाटभटेनी र यसको प्रडक्टहरु परेको छ,’ उनले भने ।

उनका अनुसार हालसम्म ६ हजार बढीले भाटभटेनी मार्फत रोजगारी पाएका छन् । भाटभटेनी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि धेरै काम गरेको उनको भनाई छ ।

चालु आवमै थप ५ स्टाेर खोल्ने तयारी

भाटभटेनी ग्रुपले चालु आर्थिक वर्षभित्रै काठमाडौंका दुई ठाउँमा भाटभटेनीका थप डिपार्टमेन्टल स्टाेरहरु खोल्ने भएको छ । सीओओ पौडेलका अनुसार काठमाडौं उपत्यकाको टोखा र सानागाउँमा चालु आवभित्रै नयाँ डिपार्टमेन्टलहरु सञ्चालनमा आउनेछन् ।

यस्तै, काठमाडौं उपत्यका बाहिर पनि भाटभटेनीका थप डिपार्टमेन्टलहरु निर्माण भइरहेका छन् । ती आउटलेटहरुलाई पनि चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी भाटभटेनी ग्रुपको छ । भाटभटेनी ग्रुपका सञ्चालक गुरुङले विभिन्न ठाउँका डिपार्टमेन्टलहरु शिलन्यास पनि गरिसकेका छन् ।

उपत्यका बाहिरका हेटौंडा, धनगढी र विरगञ्जमाा पनि चालु आवभित्रै नयाँ डिपार्टमेन्ट सञ्चालनमा आउने बताइएको छ । हाल अहिले देशभर भाटभटेनीका १८ वटा स्टोर सञ्चालनमा छन् ।

दैनिक उपभोग्य वस्तुदेखि ग्राहकले खोजका सबै सामानहरु एकै ठाउँमा पाइने भएकोले पनि भाटभटेनीको लोकप्रियता बढ्दो छ ।

टंगालबाट सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकाभित्र बौद्ध, भक्तपुर, कोटेश्वर, महाराजगञ्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजु र सातदोबाटोमा सञ्चालनमा छन् । यस्तै, उपत्यकाबाहिर धरान, बुटवल, भैरहवा, पोखरा, चितवन, विराटनगर र नेपालगञ्जमा सञ्चालनमा छन् ।

गत आवमा २२ अर्बको कारोबार

भाटभटेनी ग्रुपले गत आर्थिक वर्ष २०७७/७८ मा देशभरका १८ वटा स्टोरहरु मार्फत २२ अर्ब रुपैयाँ बराबरकाे कारोबार गरेको छ । सीओओ पौडेलका अनुसार भ्याट बाहेक भने १९ अर्ब रुपैयाँ कारोबार भएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा पनि यति कारोबार गर्नु राम्रो नै भएको उनकाे भनाई छ ।

‘कोरोना महामारीका धेरै व्यापार व्यवसाय ठप्प रहे तर, हामीले निरन्तर रुपमा सेवा दिइरह्यौं, हामीले सेवा रोकेको भए सेवाग्राहीरुलाई ठूलो मर्का हुन्थ्यो, कालोबजारी ह्वात्तै बढ्थ्यो तर, कालोबजारी रोक्नको लागि पनि हामीले उल्लेख्य भूमिका खेल्यौं,’ सीओओ पौडेलले भने ।

बजारमा सामानको अभाव हुन नदिनको लागि भाटभटेनी ग्रुपले उल्लेखनीय भूमीका खेलेको उनको भनाई छ । कोरोनाले व्यापारमा अन्य वर्षहरुको तुलनामा केही असर पारे पनि त्यति धेरै असर भने नपरेको उनले बताए ।

‘गत आवमा हामीले लक्ष्य राखेको हाराहारीमै पुग्यौं, ४/५ प्रतिशतले केही कमि देखियो, चालु आवमा गत आवको तुलनामा २० प्रतिशत ग्रोथ गर्ने लक्ष्य राखेका छौं, त्यो लक्ष्य भेटाउन नयाँ खुल्ने स्टोरहरुले पनि भूमिका खेल्नेछन्,’ उनले भने ।

भाटभटेनी ग्रुपले सधैँ सेवाग्राहीको आवश्यकता र मागलाई ध्यानमा राखेर काम गरिहरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.