जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव

  २०७८ असार ११ गते ९:३९     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।

जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सेयर निष्कान गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८ फागुन १६ गतेसम्म हुने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ ।

लगानीकर्तालाई सीईओकाे आग्रह

‘लगानीकर्तामा के आग्रह गर्न चाहान्छु भने, संस्थाको रियल फिगर बुझ्नुहोस्, त्यसपछि मात्रै संस्थाको सेयरमा आकर्षित हुनुहोस्, कुनै पनि क्षेत्रमा लगानी गर्दा बुझेर लगानी गर्नु, संस्थाको वित्तीय अवस्थासँगै अन्य विवरणहरु, फिल्डमा भएका कार्यक्रम, सेवाको गुणस्तर लगायतका विभिन्न विषय बुझ्न जरुरी हुन्छ, लघुवित्तले लगानी गरेको पोर्टफोलियो करिब ९० प्रतिशत त फिल्डमा हुन्छ, त्यसैले, त्यसको क्वालिटी के कस्तो छ ? सबै बुझ्न आवश्यक छ’, सीईओ सञ्जयकुमार मण्डलले बताए ।

‘जीवन विकास लघुवित्तको हकमा यी सबै क्षेत्रमा राम्रै छ । जुन अहिलेका लगानीकर्ता बुझ्नु भएकै छ र लगानी गर्न उत्साहित नै हुनुहुन्छ । मलाई लाग्छ यो आईपीओमा राम्रै आवेदन पर्छ । सबैलाई संस्थाको अवस्था बुझेर ढुक्क भएर लगानी गर्न आग्रह गर्छु । अब पर्ने नपर्ने सिष्टमको कुरा हो’, उनले विकासन्युजसँग भने ।

‘जीवन विकासमा लगानी गर्ने लगानीकर्ताले लगानी गरेको पहिलो वर्षदेखि नै प्रतिफल पाउने सूनिश्चिता छ, विगतदेखि नाफामा गइरहेको संस्था भएकाले पनि त्यसमा कुनै समस्या छैन, रिटर्न दिन सक्ने क्षमतामा नै छौं, विगतका वर्षमा निरन्तर नाफा कमाएको संस्थाले पछिल्लो त्रैमासमा ५६ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं, म यत्ति भन्न चाहान्छु, रिटर्नमा अन्य लघुवित्त सरह नै जानेछौं, तर यति उति दिन्छौं भनेर अहिलै भन्न मिल्दैन, किनभने प्रतिफलको विषयमा निर्णय गर्ने सञ्चालक समितिले हो’, प्रतिफलबारे थप प्रष्ट पार्दै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.