जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल

  २०७८ असार १० गते ११:२२     विकासन्युज

गरिबीरहित नेपाल निर्माणको मूल उद्देश्यका सञ्चालनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्दै छ । सञ्चालनमा आएको ३ वर्षको दौरानमा नै संस्थाले सर्वसाधारणलाई भोलि अर्थात असार ११ गतेदेखि आईपीओ बिक्री गर्दैछ । यससँगै बजारमा लगानीकर्ताहरुसंस्थाको वित्तीय अवस्था र आगामी योजनाबारे जान्न उत्सुक रहेका छन् ।

हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल छन् । जीवन विकास समाज (एनजीओ) मा कोषाध्यक्ष तथा निर्देशक समेत रहेका मण्डलले २०७६ साल असार १ गतेदेखि नै लघुवित्तिको कार्यकारी अधिृकतको कार्यभार सम्हाल्दै आएका छन् । लघुवित्तको हाल अवस्था कस्तो छ ? कस्तो योजना बनाईरहेको छ ? यी र यस्तै प्रश्नहरुलाई समेटेर उनै सीईओ मण्डलसँग गरिएको कुराकानी:

जीवन विकास लघुवित्तको वित्तीय अवस्था तथा कारोबार कस्तो छ ?

जीवन विकास लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । शुरुमा जीवन विकास समाज नामक एनजीओ मार्फत नै लघुवित्त कारोबार शुरु गरेका थियौं । त्यसपछि २०६९ साउन २६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको संस्थाले २०७५ फागुन ३ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको हो । त्यसलगत्तै संस्थाले २०७५ फागुन १६ गतेदेखि नै आफ्नो औपचारिक रुपले वित्तीय कारोबार शुरु गरेको हो ।

त्यसपछि सञ्चालनमा आएको डेढ वर्षमै घनकुटाको सल्भ लघुवित्त वित्तीय संस्था र राजविराजको गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्थासँग मर्ज गरेर हामी तीन संस्था एक आपसमा गाभियौं । र, जीवन विकास लघुवित्त वित्तीय संस्थाकै नाममा २०७७ भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो ।

त्यस्तै, वित्तीय कारोबारको कुरा गर्नुपर्दा संस्थाको अधिकृत पूँजी एक अर्ब रुपैयाँ, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पूँजी ४१ करोड ६ लाख रुपैयाँ रहेको छ । २० अर्ब बढीको लोन पोर्टफोलियो रहेको छ भने पौने ८ अर्ब रुपैयाँ बराबरको बचत रहेको छ ।

मोरङ्गमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको १९ जिल्लामा हाल १३८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । करिब ३ लाख सदस्य र करिब २ लाख ग्राहकवर्गहरु यस संस्थामा आवद्ध रहेका छन् । त्यस्तै, ८२५ जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

कोराना भाईरसको महामारीले जीवन विकास लघुवित्तलाई पनि असर गर्यो होला । तसर्थ यो वर्ष जीवन विकास लघुवित्तको परफर्मेन्स कस्तो आंकलन गर्नुभएको छ ?

पक्कै पनि कोरोनाले अन्य क्षेत्रलाई जस्तै लघुवित्त क्षेत्रलाई पनि असर गरेको छ । कोरोनाको कारणले जारी गरिएको निषेधाज्ञामा पनि हाम्रो डिजिटलाइजेशन मार्फत कारोबार भइरहेको छ । फिल्ड तथा समुदायमा गएर काम गर्नको लागि भने असर गरेको नै छ ।

विगतमा हामीले प्रकाशित गरेको वित्तीय विवरण सबैले हेर्नु नै भयो होला । गत चैतसम्म त पहिलो चरणको कोरोना रिकभर भएर सबै पक्षमा राम्रै थियो । फेरि बैशाखदेखि दोश्रो चरणको कोरोना महामारीले गर्दा फिल्ड, केन्द्र लगायत समुदायमा गएर काम गर्नको लागि असर गरेको छ । तर पनि संस्थाको स्थिति राम्रो छ ।

डिजिटलाइजेशन मार्फत कारोबारलाई प्रमोट गरेकाले हामीले यो अवस्थामा धेरै कारोबारहरु डिजिटल्ली गरेका छौं । बैशाख र जेठ दुई महिना संस्थालाई असर गरेपनि यो महिनादेखि व्यवसाय पूर्णरुपमा सञ्चालन भएको छ । र, पनि यो अवस्थामा कर्जाको साँवा व्याज असुल गर्नको लागि केही असर त पर्छ नै । हेरौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत के व्यवस्था गर्छ, लघुवित्त संघले आग्रह गरेको अनुसार उक्त व्याज भुक्तानी असुल गर्ने समय थप गर्यो भने पोहोरको सालजस्तै राम्रै हुन्छ ।

यो अवस्था नै रह्यो भने असारमा प्रोभिजन अलि बढी गर्नुपर्ने हुनाले केही असर पर्ला तर खासै ठूलो असर गर्दैन ।

संस्थाले सेवा प्रदान गर्ने कार्य क्षेत्र कहाँ कहाँ हुन् ? अहिले कति स्थानबाट सेवा दिँदै आएको छ ?

हाम्रो केन्द्रीय कार्यालय प्रदेश १ को मोरङ्ग जिल्लास्थित कटहरी गाउँपालिका वडा नं. २ मा रहेको छ । हाल हामीले तीन प्रदेशमा १३८ वटा शाखामार्फत सेवा दिईरहेका छौं । जीवन विकास राष्ट्रिय स्तरको संस्था हो, विस्तारै विस्तारै अन्य प्रदेशमा पनि कार्यक्षेत्र बढाएर सेवा दिने छौं । पूर्वतिरबाटै शुरु भएको यस संस्थाको सेवा सिन्धुली काभ्रेसम्म र यता बारा पर्सासम्म छ । संस्थाले नेपाल अधिराज्यभर कारोबार गर्न पाउँछ, त्यसैले राष्ट्र बैंकको स्वीकृति लिई देशका विभिन्न स्थानमा आवश्यकता अनुसार सेवा विस्तार गर्ने नै छौं ।

अहिले संस्थाको प्रमोटरमा को को हुनुहुन्छ ?

पहिले एउटा संस्था मात्रै हुँदा थोरै संख्यामा थियौं । अहिले तीन वटा संस्था गाभिएपछि सबै मिलाएर करिब ७५÷७६ छौं । त्यसमध्ये प्रमुख भनेको लघुवित्त प्रमोट गर्ने विभिन्न एनजीओहरुको सेयर रहेको छ । यससँगै विभिन्न ३ वटा वित्तीय संस्थाहरु एनआईसी एशिया बैंक, प्रभु क्यापिटल र एसआर हाईड्रो रहेका छन् । जसमध्ये एनआईसी एशिया बैंकको सेयर सल्भ नेपालमा थियो, जुन मर्ज भएपछि आएको हो । संस्थामा व्यक्तिगत र संस्थागत लगानी दुबै रहेको छ ।

असार ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्दै हुनुहुन्छ । यसमा लगानी गर्दा लगानीकर्ता कत्तिको सन्तुष्ट हुनेछन् ?

हामीले आगामी असार ११ गतेदेखि सर्वसाधारणमा सेयर जारी गर्दैछौं । जसमा लगानी गर्ने लगानीकर्ताहरु शतप्रतिशत नै सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ । सञ्चालनमा आएको २ वर्षको अवधि भएपनि विगतमा एनजीओको रुपमा धेरै वर्ष काम गरेको अनुभव रहेको थियो । त्यसैले पनि ग्राहकको बेस पनि राम्रो छ र सँगै संस्थाको हरेक पक्षहरु राम्रो छ । जसमा हामीले प्रकाशित गरेको वित्तीय विवरणबाटै लगानीकर्ताहरु जानकार हुनुहुन्छ ।

त्यसैले म लगानीकर्तालाई के भन्न चाहान्छु भने यसमा ढुक्क भएर लगानी गर्दा हुन्छ, किनभने यसमा जोखिम त्यति छैन । जुन, इक्रा नेपाले प्रमाणित गरिदिएको छ । उक्त रेटिङ्ग गर्दा त्रिपल बी माइनस छ । त्यसैले पनि लगानीकर्तालाई लगानी गर्न कुनै दुविधा नै छैन ।

यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने ?

लगानीकर्ताले दुईतर्फबाट फाइदा लिन सक्नेछन् । एउटा, संस्थामै लगानी गर्ने र त्यसको उचित रिटर्न पाउने हो ।

यो सँगसँगै एउटा यस्तो संस्थामा लगानी गरेका छौं, जुन संस्थाले विपन्न गरिबको लागि काम गरिरहेको छ । जसले समाजको विकास तथा रुपान्तरणको लागि उदाहरणीय कार्य गर्दै आइरहेको छ । त्यसले पनि सोसियल स्याटिस्फ्याक्सन आउँछ र सबैलाई इन्स्पायर पनि गर्छ । किनभने संस्थाको प्रतिष्ठा, संस्थाले गर्ने कामले पनि त्यसको मालिक हुँदा गर्व गर्ने ठाउँ पक्कै हुन्छ । अरु संस्थाभन्दा जीवन विकासको सोसियल क्रियाकलापमा हामी बढी लागेको छौं । हामीले स्वास्थ्य शिक्षा लगायत विभिन्न जनचेतना मूलक विभिन्न अभियानहरु गरिरहेका छौं र गरिरहने छौं ।

हाम्रो गुडविल, ब्राण्ड राम्रो छ । त्यसैले वित्तीय अवस्थामा त कुनै समस्या नै भएन । जसले गर्दा यसमा लगानी गर्ने लगानीकर्ताले हामीले दिने रिटर्न मार्फत राम्रै फाइदा लिन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

यहाँले रिटर्नको कुरा उठाईहाल्नु भयो । अहिले आईपीओ भर्नेले जीवन विकासबाट कहिलेदेखि प्रतिफल पाउँछन् ? र, यति दिन्छौं भन्ने कुनै प्रक्षेपण छ ?

जीवन विकासमा लगानी गर्ने लगानीकर्ताले लगानी गरेको पहिलो वर्षदेखि नै प्रतिफल पाउने सूनिश्चिता छ । विगतदेखि नाफामा गइरहेको संस्था भएकाले पनि त्यसमा कुनै समस्या छैन ।

अर्को, रिटर्न कति दिनुहुन्छ भन्ने प्रश्नमा अहिले यति नै दिन्छौं भनेर म भन्न सक्दिन । किनभने प्रतिफलको विषयमा निर्णय गर्ने सञ्चालक समितिले हो । साथै, सेयर बजारमा प्रभाव पार्ने विषयमा नबोल्दा नै उचित होला । पहिले एनजीओ भएर काम गरेको संस्था भएको हुनाले पनि यो विषयमा हामी सर्तक नै छौं ।

साथै, हाम्रो वित्तीय विवरण हेर्दा सबैले थाहा पाइसक्नु भयो होला । हामी रिटर्न दिन सक्ने क्षमतामा नै छौं । विगतका वर्षमा निरन्तर नाफा कमाएको संस्थाले पछिल्लो त्रैमासमा ५६ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । म यत्ति भन्न चाहान्छु, रिटर्नमा अन्य लघुवित्त सरह नै जानेछौं, तर यति उति दिन्छौं भनेर अहिलै भन्न मिल्दैन ।

आईपीओ पश्चात् योजना के छ ?

आईपीओ बिक्री गरिसकेपछि हामीलाई पूँजी प्रयाप्तता (क्यापिटल एडिक्वेसी) मा सहयोग पुग्छ । उक्त सेयर बिक्री पश्चात कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको रकम संकलन हुन्छ । जुन रकम विभिन्न क्षेत्रमा लगानी गर्ने छौं । जसमध्ये सबैभन्दा बढी कृषि, पशुपालन, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा १९ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी गर्ने छौं । त्यससँगै, भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ११ लाख र वाणिज्य बैंक लगायत अन्य वित्तीय संस्थामा २६ लाख रुपैयाँ लगानी गर्ने छौं ।

पछिल्लो समयमा लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । हुन त जीवन विकासले हालै दुई संस्था गाभेर कारोबार शुरु गरिसकेको छ । र, पनि यस विषयमा यहाँको कस्तो छ धारणा ?

जीवन विकासले हालै एउटा मात्रै तीन संस्था एक आपसमा गाभिएर संयुक्त रुपमा कारोबार सञ्चालन गरिरहेको छ । मर्ज भई एकीकृत कारोबार शुरु गरेको एक वर्ष पनि बितेको छैन । त्यसैले पनि हामी तत्काल मर्जमा गईहाल्दैनौं ।

कुनै संस्था इच्छुक भए, मिले भने मर्जमा नजाने पनि होइन । हुन त यो विषयमा केही संस्थाहरु ओपन नै छन् । प्रस्ताव नआएका होइनन्, आईरहेका नै छन् । हेरौं, अबको स्थिति के हुन्छ । मार्केट कता जान्छ । मर्जरमा गईहाले पनि तत्काल होइन, अब अर्को वर्षदेखि मात्रै जान्छौं होला ।

अन्त्यमा, लगानीकर्तालाई के भन्न चाहानुहुन्छ ?

लगानीकर्तामा के आग्रह गर्न चाहान्छु भने, संस्थाको रियल फिगर बुझ्नुहोस्, त्यसपछि मात्रै संस्थाको सेयरमा आकर्षित हुनुहोस् । कुनै पनि क्षेत्रमा लगानी गर्दा बुझेर लगानी गर्नु । संस्थाको वित्तीय अवस्थासँगै अन्य विवरणहरु, फिल्डमा भएका कार्यक्रम, सेवाको गुणस्तर लगायतका विभिन्न विषय बुझ्न जरुरी हुन्छ । लघुवित्तले लगानी गरेको पोर्टफोलियो करिब ९० प्रतिशत त फिल्डमा हुन्छ । त्यसैले, त्यसको क्वालिटी के कस्तो छ ? सबै बुझ्न आवश्यक छ ।

जीवन विकास लघुवित्तको हकमा यी सबै क्षेत्रमा राम्रै छ । जुन अहिलेका लगानीकर्ता बुझ्नु भएकै छ र लगानी गर्न उत्साहित नै हुनुहुन्छ । मलाई लाग्छ यो आईपीओमा राम्रै आवेदन पर्छ । सबैलाई संस्थाको अवस्था बुझेर ढुक्क भएर लगानी गर्न आग्रह गर्छु । अब पर्ने नपर्ने सिष्टमको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.