खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?

  २०७७ माघ ८ गते १५:५१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मर्जरका लागि भएको पर्दाभित्रको ‘होमवर्क’ खुल्ला हुने चरणमा पुगेको छ । बैंकको २३औं वार्षिक साधारणसभा भोलि (माघ ९ गते) हुने भएकोले सो साधारणसभामा पर्दा खुल्ने अपेक्षा सेयरधनीले गरेका छन् ।

एनसीसी बैंक संचालक समिति स्रोतले पनि मर्जर तथा एक्वीजीसनका लागि अहिलेसम्म भएको आन्तरिक गृहकार्य चाढै सार्वजनिक हुने र परिणामुखी हुने दाबी गर्यो ।

‘बैंकको २३औं वार्षिक साधारणसभा भोलि हुँदैछ, कुन बैंकसँग मर्ज गर्ने भन्ने लामो समयको कौतुहल सम्भवतः भोलि नै मेटिन्छ होला,’ बैंक संचालक समिति स्रोतले विकासन्युजसँग भन्यो ।

स्रोतहरुले भने एनसीसी र नबिल बैंक मर्ज हुने सम्भावना अधिक रहेको दाबी गरेका छन् । नबिल बैंकले वार्षिक साधारणसभाले उपयुक्त बैंक वित्तीय संस्थासँग मर्जरमा जानको लागि गर्नुपर्ने आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गरिसकेको छ । यस्तै, एनसीसी बैंकको वार्षिक साधारणसभाबाट पनि सोही प्रकारको निर्णय हुँदैछ । यद्यपि, यस्तो निर्णय अहिले प्रायः सबै बैंक वित्तीय संस्थाले आफ्नो साधारणसभाबाट गर्ने गराउने गरेका छन् ।

एनसीसी र नबिल दुबै बैंक संचालक समिति स्रोतहरुले भने यी दुई बैंक एकापसमा मर्ज हुने सम्भावना अधिक रहेको दाबी गरेका छन् । अहिलेसम्म दुबै बैंकले गोप्य रुपमा विभिन्न चरणमा छलफल गरिसकेको स्रोतहरुको दाबी छ ।

एनसीसी बैंक स्रोतले भने हिजो (माघ ७ गते) नबिल बैंक र एनसीसी बैंकबीचको स्वाप रेसियो पनि तय भएको दाबी गर्यो ।

‘नबिलसँग मर्जरमा जादा स्वाप रेसियो कति हुने भन्ने पनि तय भइसकेको छ, बाँकी कुरा छिट्टै सार्वजनिक हुँदैछ,’ एनसीसी बैंक स्रोतले भन्यो ।

केही समयअघिसम्म नविल बैंकले एनसीसीलाई ३० स्वाप रेसियोमा मर्ज हुन प्रस्ताव गरेको बताइएको छ । तर, एनसीसी बैंकले भने ४० प्रतिशत स्वाप रेसियो हुनुपर्ने माग गरेको स्रोतको दाबी छ । अहिले एनसीसी र नबिलबीचमा स्वाप रेसियोमा कुरा मिलेको बताइए पनि कति रुपैयाँमा कुरा मिल्यो भन्ने स्रोतहरुले खुलाएनन् ।

नबिल बैंकले मर्जरको लागि एनसीसी बैंक नै छनोट गर्नुका पछि खास कारण रहेको स्रोतको दाबी छ । अहिले नबिल बैंकलाई एनआइसी एसिया बैंकले जितिसकेको छ । यस्तै, ग्लोबल आईएमई बैंकले पनि आफूलाई पछि पार्ने डर नबिलको छ । यी दुबै बैंकले शाखा सञ्जालको फाइदाले गर्दा आफूलाई अघि बढाउन सके भन्ने विश्लेषण नबिल बैंकको छ ।

ग्लोबल आईएमई बैंकको काठमाडौं उपत्यकामा ५९ र उपत्यका बाहिर २०५ गरी २ सय ६४ शाखा छन् । यस्तै, एनआईसी एसिया बैंकको ३३३ वटा शाखा कार्यालय छन् ।

नबिल बैंकको शाखा संख्या ११९ छ भने एनसीसी बैंकको शाखा संख्या १२७ छ । नबिल आफैले शाखा खोलेर यी दुई बैंकको हाराहारीमा पुग्न समय लाग्ने विश्लेषण गर्दै उसले एनसीसीलाई आखाँ लगाएको स्रोतको दाबी छ । यस्तै, एनसीसी बैंकसँग भएको अचल सम्पत्ति पनि नबिलको लागि अर्काे आकर्षण देखिएको छ ।

अहिले दोस्रो बजारमा नबिल बैंकको सेयर प्रतिकित्ता ११ सय १० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने एनसीसी बैंकको सेयर प्रतिकित्ता ३ सय ३० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । आज नबिल बैंकको सेयर प्रतिकित्ता १४ रुपैयाँले घटेको छ भने एनसीसी बैंकको प्रतिकित्ता २ रुपैयाँले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.