प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई पोखरामा गर्‍यो सम्मान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘क्लब एचिभर्स अवार्ड’ कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।

भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा कम्पनीले चेयरम्यान क्लब र सीईओ क्लबमा छनोट भएका अभिकर्तालाई विशेष सम्मान गरेको जनाएको छ । कार्यक्रममा देशभरबाट करिब २०० अभिकर्ता, व्यवस्थापक तथा कम्पनीका पदाधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीकी सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन् । उनले अभिकर्ता पेशालाई सम्मानित र मर्यादित व्यवसायका रूपमा स्थापित गर्न उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा पनि अभिकर्ताको व्यवसाय विस्तारका लागि कम्पनीले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले निरन्तर मेहनत र लगनशीलताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए । उनले टिमवर्कका माध्यमबाट आगामी वर्ष अझ ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त ग रे।

कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । कम्पनीका अनुसार उक्त प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता अभिवृद्धिमा प्रेरणा दिएको छ ।

कार्यक्रममा नेपाली चलचित्रका अभिनेता तथा निर्माता प्रदीप खड्काको विशेष उपस्थिति रहेको थियो । उनले आफ्नो संघर्ष र सफलताको अनुभव सहभागी अभिकर्तासँग साझा गर्दै प्रेरणादायी प्रस्तुति दिएका थिए ।

प्रभु महालक्ष्मी लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र सम्मानका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जनाएको छ ।

Share News