सुरु भयो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, मासिक ५ सय बचत गर्ने पनि सहभागी हुन पाउने

  २०७७ भदौ २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सबै नेपालीलाई पेन्सन दिने गरी नागरिक लगानी कोषले नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । मासिक ५ सय रुपैयाँ मात्रै जम्मा गरेर पनि यो कार्यक्रममा सहभागी हुन पाइनेछ ।

मासिक ५ सय रुपैयाँ बचत गर्न सक्ने सबै नेपालीलाई सहभागी गराउन मिल्नेगरी ‘नागरिक पेन्सन योजना’ कार्यान्वयनमा ल्याइएको कोषका डेपुटी एजुकेटिभ डाइरेक्टर डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए ।

‘अहिलेसम्म कोषले सबै नेपालीलाई समेट्ने त्यस्तो विशेष योजना वा कार्यक्रम संचालनमा ल्याएको थिएन, नागरिकको सामाजिक सुरक्षामा सबैभन्दा प्रभावकारी हुने नागरिक पेन्सन योजना सुरु भएको छ, मासिक ५ सय रुपैयाँ मात्रै बचत गर्न सक्ने स्वरोजगार, गृहिणी तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु पनि यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ,’ डा. कट्टेलले विकासन्युजसँग भने ।

कोषले पहिलो चरणमा एकैपटक २५ सय जनालाई सहभागी गराउने योजना बनाएको छ । त्यसका लागि कुनै संस्थासँग कुराकानी भइरहेको र सो संस्थामा कार्यरत सबै कर्मचारीलाई नागरिक पेन्सन योजनामा सहभागी गराउन लागिएको पनि उनले जानकारी दिए ।

डब्बल पेन्सन पनि पाइने

नागरिक पेन्सन योजनामा सहभागी हुनको लागि थप कुनै प्रतिबन्ध वा बन्देज छैन । नेपाल सरकारबाट नियमित पेन्सन खाने, सामाजिक सुरक्षा कोषमा सहभागी वा अन्य कुनै पनि प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकाहरु पनि यो नागरिक पेन्सन योजनामा सहभागी हुन पाउने डा. कट्टेलले जानकारी दिए ।

‘सरकारी कर्मचारीदेखि आफ्नै खेतबारीमा काम गर्ने किसानसम्म यो कार्यक्रममा सहभागी हुन पाउँछन्, सानो सानो व्यवसाय गरेर आम्दानी गर्नेहरुले पनि आफ्नो बचत अनुसारको पेन्सन योजनामा सहभागी हुन पाइन्छ, सरकारी पेन्सन वा सरकारले नै संचालन गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट पेन्सन आउने गरेको छ भने पनि यो कार्यक्रममा सहभागी भएर पेन्सन लिन पाइन्छ,’ डा. कट्टेलले भने ।

कसरी सहभागी हुने ?

कोषले बनाएको नागरिक पेन्सन योजनाको कार्यविधि अनुसार यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवाशीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

कति रकम जम्मा गर्नुपर्छ ?

यो कार्यक्रम आफ्नै बचतबाट पेन्सन पाउने कार्यक्रम हो । आफूले जम्मा गरेको रकम लगानीबाट प्राप्त हुने प्रतिफल समेत जोडेर कोषले पेन्सन दिनेछ ।

यो कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिकरुपमा रकम बुझाउन सकिनेछ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।

सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनुपर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ ।

बीचमा छोड्न पाइन्छ ?

नागरिक पेन्सन योजनामा सहभागी भएपछि पनि कुनै कारणबस निरन्तरता दिन नसकिने अवस्था आएमा बीचमै छोड्न पाइने व्यवस्था गरिएको छ ।

बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्ने छ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम कोषले एकमुष्ठ भुक्तानी गर्नेछ ।

कहिले पाइन्छ पेन्सन ?

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । तर, कुनै बचतकर्ताले १५ वर्षको बचत नगर्दै ६० वर्ष उमेर पुरा भएको रहेछ भने त्यस्तो बचतकर्ताले निजले कोषमा जम्मा गरेको रकम र त्यसको व्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी हुने बचतकर्ता ६० वर्ष पुरा भए पछि पेन्सन पाउन योग्य हुने छन् ।

कति पाइन्छ पेन्सन ?

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।

पति वा पत्नीले जीवनभर पाउने, दुबै मरेपछि हकवालालाई

पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन ।

बचतकर्ताको पेन्सन शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ ।

कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको व्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने डा. कट्टेलले जानकारी दिए ।

नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन ।

०.५ प्रतिशत शुल्क कोषले लिने

कोषले योजना संचालन गरी न्यासधारी (ट्रष्टी) को रुपमा लगानी प्रवन्ध सेवा प्रदान गरेबापत कूल योजना कोष रकमको प्रत्येक आर्थिक वर्षमा ०.५ (शुन्य दशमलव पाँच) प्रतिशत वा कुल आयको ५ प्रतिशत जुन घटि हुन्छ सो रकम कोषले सेवा शुल्क वापत कट्टि गरी लिनेछ ।

कसरी जम्मा गर्ने रकम ?

सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन ।

कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने हुन्छ ।

रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन ।

कति पाइन्छ व्याज र प्रतिफल ?

यस योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा व्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रदान गरिने कोषको भनाइ छ ।

योजना अन्तर्गत प्राप्त रकमको लगानीबाट भएको आम्दानीमा व्यवस्थापन शुल्क र आय आर्जन गर्दा लागेको वास्तविक खर्चहरु सोधभर्ना स्वरुप कट्टी गरी बाँकी रकममा १० प्रतिशत जोखिम लगानी जगेडा कोष, ५ प्रतिशत प्रतिफल समिकरण कोष र १० प्रतिशत सुरक्षा कोषलाई रकम छुट्याई बाँकी रकम सम्बन्धित सहभागीहरुलाई समानुपातिक हिसावले प्रतिफल बाँडिनेछ ।

सुरक्षा कोषमा रकम नभएको अवस्थामा भुक्तानी दिनु पर्दा वास्तविक खर्च शिर्षकमा खर्च लेखी भुक्तानी पाइनेछ ।

ऋण पाइन्छ ?

कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्नेछ । यसरी प्रदान गरिने सापटी रकमको प्रतिशत संचालक समितिले समय समयमा तोकिदिए बमोजिम हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

तर, बचतकर्ता योजनामा सहभागी भएको अवधि ५ वर्ष पुरा नभई त्यस्तो सापटी सुबिधा पाइदैन । र, एकपटक सापटी लिएको १ वर्ष पूूरा नभई पुनः अर्को सापटी पनि पाइदैन ।

बचतकर्तालाई प्रदान गरिने सापटी रकमको व्याजदर हिसाब गर्दा सहभागी बचतकर्तालाई निजले जम्मा गरेको रकममा प्रदान गरिने व्याज दरभन्दा १.५ ( एक दशमलव पाँच ) प्रतिशतसम्म प्रिमियम थप गरी व्याजदर कायम गरिने छ । त्यसरी सापटीमा लिने व्याजदरको निर्धारण समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

सहभागी बचतकर्ताले आफूले लिएको सापटी रकमको साँवा तथा व्याज रकम तोकिएको बैंक खातामा जम्मा गरी कोषलाई जानकारी गराउन सक्नेछन् ।

मृत्यू संस्कार खर्च १० हजार

जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई १० हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइने कोषले जानकारी दियो ।

यस्तै, बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने व्यवस्था पनि मिलाइने डा. कट्टेलले जानकारी दिए ।

21 comments on "सुरु भयो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, मासिक ५ सय बचत गर्ने पनि सहभागी हुन पाउने"

  • बसन्त कुमार महर्जन says:

    कहां र कसरीलिनने

  • Yo ATI uttam bisaya ho ayaslai chado Banda chado Lagu garnu parxa

  • Shreedhar says:

    धेरै धेरै राम्रो योजना यसको लागि कहाँ सम्पर्क गर्नु पर्छ होला । कृपया जानकारी दिनु होला धन्यवाद।

  • बासुदेव जि सि says:

    अति राम्रो । स्थानिय तह मार्फत ग्रामीण तहसम्म यो योजना पुर्याइयोस ।

  • Kamal khadka says:

    Yes ko lagi kun thau ma samparka garnu parxa hola

  • Durga Prasad Paudel says:

    यो योजना ठ्याक्कै कहिलेदेखि लागू होला सर?

  • Jeetendra Paswan says:

    एकदम राम्रो ,जतिसक्दो छिटो कार्यान्वयन गर्नु पर्छ ।

  • Indra dhungel says:

    Good.tara kasari sahavagi hune ho tyo pani jankari dinu hola.ani sthaniya taha bata yo subidha dinu paryo.

  • Sabina bastola says:

    Ma pani echxuk xu yesko lagi kaha contact garnu parla

  • सुर्य कुमार राई says:

    धेरै राम्रो लागो सर कहाँ कसरी सम्पर्क गर्ने होला ? जानकरी पाउन पाए हुने थियो?

  • अर्जुन श्रेष्ठ says:

    यो योजना कहिलेदेखि लागू हुन्छ होला हामिले कसरी जानकारी पाउने हो

  • Dipendra Pun Magar says:

    I am also interested for this work where should I contact

  • bijay tamang says:

    huna ta ramro ho. tara yadi 15 yeras deposit garna na saketa pani sarkar le samajik suracha kosh le ajivan 60 dekhi automaticali pensan dinu par x yu ta bima company jasto bhyu ajha sasaktA ra sahaj lyUnu paryu yas ma

  • भक्त बहादुर गुरुङ says:

    साह्रै राम्राे येाजना रहेछ।यस्काे जानकारिकाेलागि काहा सम्पर्क गर्ने हाेला?

  • परशुराम बिडारी says:

    अति राम्रो योजना गर्नु लाग्नु भा छ। खुशी लाग्यो । अब यसको लागी काहा,कसरी,को? संग समपर्क राख्ने ।जानकारी पाउन पाए अझै
    राम्रो हुने थियो । सर । धन्यबाद।।।

  • Jit singjali says:

    Sir kahile samma lagoo hoa

  • Om bahadur thapa says:

    Ramro lagyo thik xa ma poni sahabhagi hunu paryo

  • Santosh karki says:

    Very good i am intrested

  • शोभित लाल यादव says:

    सहज र सरल सबैले बुझने होस रामो हुनछ

  • Man bdr ale says:

    Man paryo

  • Ambika says:

    Ramro kamko suruwat

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.