कोरोना बीमा दाबी माग गर्दै आउन थाल्यो नक्कली रिपोर्ट, निजी ल्यावको पीसीआर नपत्याउनुः समिति

  २०७७ भदौ १९ गते १२:४९     नविन पाेखरेल

काठमाडौं । बीमा समितिले निजी ल्यावमा परीक्षण गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार गरेको छ ।

विश्वभर फैलिरहको कोरोना महामारी (कोभिड–१९) को बीमा नेपालमा मात्रै छ । तर सो बीमा दाबी भुक्तानी गर्दा लाग्ने पीसीआर परीक्षण रिपोर्टको विश्वसनीयतामा बीमा कम्पनीहरु शंका गरिरहेका थिए ।

बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्दा पीसीआर रिपोर्टमा पोजेटिभ देखिनएकै आधारमा दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, निजी ल्यावबाट नक्कली पीसीआर रिपोर्ट ल्याउने क्रम बढेको गुनासो आएको भन्दै समितिले यस्तो रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार नै गरेको छ ।

नक्कली पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी आउन थालेको कम्पनीहरुले गुनासो गरेपछि समितिले निजी ल्यावको रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न पत्राचार गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘दाबी भुक्तानीको लागि नक्कली पीसीआर रिपोर्ट आउन थाले भन्ने गुनासो कम्पनीहरुबाट आउन थाल्यो, संक्रमिलाई केही आर्थिक राहत मिलोस भनेर राज्यको समेत लगानीमा सुरु भएको यो कार्यक्रमलाई दुरुपयोग नहोस भनेर निजी ल्यावको रिपोर्टका आधारमा भुक्तानी नगर्नु भनेर कम्पनीहरुलाई पत्राचार गरेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

सरकारले संक्रमित बढ्दै गएपछि सरकारी ल्यावले मात्रै परीक्षण गर्न नसक्ने भन्दै शुल्क तोकेर निजी ल्यावलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । तर, राज्यले अनुमति दिएका ल्यावको रिपोर्टलाई आधार मानेर कोरोना बीमा दाबी भुक्तानी नगर्न समितिले पत्राचार गरेको छ ।

कोरोना बीमा गर्दा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ भने कोरोना संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ आउने वित्तिकै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.