कर तिर्न कर कार्यालय जानै नपर्ने, ट्राफिक जरिवाना पनि मोबाइल बाटै

<p>काठमाडौं । सानो सानो परिमाणको कर तिर्न पनि कर कार्यालयहरुमा घण्टौं लाइनमा लाग्नुपर्ने समस्या अब हट्ने भएको छ । बैंकमा नगद जम्मा गरेको भौचर कर कार्यालयहरुमा पेश गर्नुपर्ने अहिलेको परिपाटी परिवर्तन गरेर विद्युतीय भुक्तानीलाई मान्यता दिन लागिएको हो । महालेखा नियन्त्रकको कार्यालयले विद्युतीय भुक्तानीलाई मान्यता दिने गरी निर्देशिका बनाएर अर्थमन्त्रालयमा पेश गरेको छ । सो [&hellip;]</p>

काठमाडौं । सानो सानो परिमाणको कर तिर्न पनि कर कार्यालयहरुमा घण्टौं लाइनमा लाग्नुपर्ने समस्या अब हट्ने भएको छ । बैंकमा नगद जम्मा गरेको भौचर कर कार्यालयहरुमा पेश गर्नुपर्ने अहिलेको परिपाटी परिवर्तन गरेर विद्युतीय भुक्तानीलाई मान्यता दिन लागिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले विद्युतीय भुक्तानीलाई मान्यता दिने गरी निर्देशिका बनाएर अर्थमन्त्रालयमा पेश गरेको छ । सो निर्देशिका मन्त्रिपरिषदबाट पारित भएपछि आफ्नो मोबाइल वा अन्य भुक्तानी वालेटबाट सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका रकम तिर्न सकिनेछ ।

सानो परिमाणको कर तिर्न पनि बैंकमा गएर रकम जम्मा पार्नुपर्ने र त्यसको भौचर सम्बन्धित कर कार्यालय पेश गर्नुपर्ने व्यवस्था झन्झटिलो भएकोले करदातालाई सहजता प्रदान गर्न विद्युीय भुक्तानी प्रक्रिया अपनाउन लागिएको महालेखा निन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले जानकारी दिए ।

‘कर तिर्ने अहिलेको परिपाटीप्रति धेरैले गुनासो गरेका छन्, करदाताले कर तिर्नको लागि बैंक वा कर कार्यालय जानै नपर्ने गरी प्रविधिको प्रयोग गर्न लागिएको छ, हामीले बनाएको व्यवस्थाले कानुनी मान्यता पाएर आएपछि मोबाइलबाटै वा अन्य डिजिटल वालेटबाट कर तिर्न पाइन्छ,’ सहमहालेखा नियन्त्रक शिवाकोटीले भने ।

सो निर्देशिका स्वीकृत भएर कार्यान्वयनमा आएसँगै सरकारी निकायहरुलाई तिर्नु बुझाउनु पर्ने सबै प्रकार कर रकम बुझाउन सकिने शिवाकोटीले जानकारी दिए । यस्तो व्यवस्थाले सानो परिमाणमा कर तिर्ने करदातालाई सहज हुने उनको भनाइ छ ।

‘कसैलाई ३ हजार वा ५ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ, त्यस्ता व्यक्तिलाई बैंक हुँदै कर कार्यालयमा जाँदा धेरै खर्च लाग्ने गरेको छ, यो वाध्यता हटाएर करदातालाई सहजीकरण गर्नको लागि आफ्नो मोबाइलबाटै, भुक्तानी सेवा प्रदायक वा डिजिटल वालेटबाट कर तिर्न सकिने अवस्था बनाउन लागिएको हो,’ सहमहालेखा नियन्त्रक शिवाकोटीले थपे ।

महालेखाले आन्तरिक राजस्व विभागसँग समन्वय गरेर यस्तो प्रविधि कार्यान्वयमा ल्याउन लागेको हो । यो प्रविधि कार्यान्वयनमा आएपछि कर दाताले कर तिर्नुपर्ने सरकारी कार्यालयको खाता रहेको बैंकमा तोकिए अनुसारको रकम जम्मा गर्नेछन् । यसरी रकम जम्मा गरेपछि सो मोबाइल वा कम्प्युटरमा आउने निस्साका आधारमा कर कार्यालयहरुबाट कर तिरेको प्रमाण पाइनेछ ।

यस्तो व्यवस्थापछि ट्राफिक प्रहरीले सवारी चालकलाई गरेको कारबाहीको राजस्व तिर्न पनि मिल्नेछ । यस्तै, महालेखाले कर तिरेको जानकारी करदाताको मोबाइल नम्बरमा एसएमएस गरेर पठाउने तयारी पनि गरेको छ । यस्तो एसएमएसपछि आफूले कर तिरेको जानकारी प्राप्त हुनेछ ।

Share News