पुनर्बीमा कम्पनीमा अर्थमन्त्री र नेकपा महासचिव निकट संचालकबीच झगडा, सीईओ ‘काँग्रेसी कर्मचारी’ पेल्दै

  २०७७ साउन १८ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा आन्तरिक विवाद चुलिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा निकट संचालक र नेकपा महासचिव विष्णु पौडेल निकट संचालकबीच झगडा भएको छ ।

झगडा उत्कर्षमा पुगेपछि अर्थमन्त्री डा. खतिवडा निकट संचालक पुरुषोत्तम सुवेदीले पदबाट राजीनामा गरेका छन् । संचालक समितिले कामु अध्यक्षको जिम्मेवारी दिएका सुवेदीले अर्का संचालकसँग विवाद बढेपछि राजीनामा दिएका हुन् ।

कम्पनीको संचालकमा रमेश राणालाई नियुक्त गरिएपछि सुवेदीले राजीनामा दिएका स्रोतले जानकारी दिएको छ । यद्यपि सुवेदीले घरमा बस्नको लागि आफूले राजीनामा दिएको बताए ।

‘घर बस्नको लागि राजीनामा दिएको, म रिटायर्ड मान्छे, यो कम्पनीको संचालक भएपछि समय मिलाउन सकिनँ, त्यसैले राजीनामा गरेको,’ संचालक पदबाट किन राजीनामा दिनुभएको भन्ने विकासन्युजको प्रश्नमा सुवेदीले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

स्रोतले भने अर्का संचालक रमेश राणासँग विवाद बढेपछि सुवेदीले राजीनामा गरेको बताएको छ । राणा नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन् । सुवेदीलाई भने अर्थमन्त्री डा. खतिवडाले विशेष जोडबल गरेर पुनर्बीमा कम्पनीमा संचालक बनाएका थिए ।

राणालाई संचालक समितिको कामु अध्यक्ष बनाउन लागिएपछि सुवेदीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा गरेको बताइएको छ । कामु अध्यक्षकाे जिम्मेवारी पाएकाे सुवेदीले कम्पनीकाे वेवसाइटमा भने अध्यक्ष लेखाएका थिए ।

पुनर्बीमा कम्पनीकाे अध्यक्षमा अनधिकृत नाम लेखाएकाे एक महिना पनि नबित्दै सुवेदीले सञ्चालक पदबाट समेत हात धुनु परेकाे छ । सुवेदीले राजीनामा गरेपछि पुनर्बीमा कम्पनीकाे सञ्चालक समिति फेरी तीन सदस्यीय भएकाे छ ।

पब्लिक कम्पनीमा कम्तिमा ५ जना सञ्चालक हुनु पर्ने नियम छ । सबैभन्दा ठूलाे लगानीकर्ता सरकारले नै कानुनकाे परिपालना नगरेकाेले बीमा समिति, कम्पनी रजिष्ट्रारकाे कार्यालय कानुनकाे परिपालना गराउन चुकेका छन् ।

‘काँग्रेसी कर्मचारी’ पेल्दै सीईओ रायामाझी

संचालक समितिमा देखिएको विवादको रोग कर्मचारीमा पनि सरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले कर्मचारीलाई काँग्रेस र कम्युनिष्ट भन्दै भेदभाव गर्न थालेपछि कर्मचारी बृत्तमा पनि समस्या देखिएको हो ।

कम्पनी स्थापना हुँदा नेपाली काँग्रेसका नेता डा. रामशरण महत अर्थमन्त्री थिए । डा. महतको सिफारिसमा काँग्रेस कार्यकर्तालाई जागिर दिएको भन्दै सीईओ रायामाझीले पूराना कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका स्रोतको दाबी छ ।

‘पुराना कर्मचारी जति काँग्रेसी हुन् रे, होइन भन्ने प्रमाणको लागि नेकपा निकट कर्मचारी संगठनको सदस्यता देखाउनु पर्छ, काँग्रेसी कर्मचारीलाई पेल्नुपर्छ भन्दै सीईओले महत्वपूर्ण जिम्मेवारीबाट हटाउने गर्नुभएको छ,’ स्रोतले भन्यो ।

सीईओ रायमाझी नेकपाकाे कार्यकर्ता हुन् । तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गाेकुल बाँस्काेटाकाे पावर लगाएर उनी पुर्नबीमा कम्पनीमा सीईओ भएका थिए । बीमाकाे सामान्य ज्ञान पनि नभएकाे व्यक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीसँगै उनी पुनर्बीमाको सीईओमा नियुक्त भएपछि यसका प्रवर्द्धक बीमा कम्पनीहरूमा पनि व्यापक असन्तुष्टि देखिएकाे छ ।

सम्बन्धित समाचार

पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.