अर्थमन्त्रीको शक्तिले सनराईज बैंकको बोर्ड विभाजित, सीईओको स्पष्टीकरण थन्कियो

  २०७७ साउन १३ गते १८:३९     विकासन्युज

काठमाडौं । बैंकहरुले केही निश्चित क्षेत्रका हाइप्रोफाइल पर्सनहरुलाई कर्जा दिन आनाकानी गर्छन् । राजनीतिक नेता, सरकारी उच्च तहमा रहेका कर्मचारी, उच्च तहमा पुगेको सेना, प्रहरी, ख्याती कमाएको वकिल, पत्रकारलाई बैंकहरुले कर्जा दिन नहुने वर्गको सूचिमा राख्ने गर्छन् । किनकी धेरै ठाउँमा पहुँच भएको र धेरै प्रभाव छोड्ने व्यक्तिहरुले कर्जा नतिरेमा बैंकहरुले उनीहरुमाथि कारवाही चलाउन सक्दैन । कारवाही गरिहाले पनि हाइप्रोफाइल पर्सनहरुले बैंकलाई अप्ठ्यारोमा पारिदिने जोखिम हुन्छ ।

कर्जा दिने मामलामा मात्र हाेइन, जागिर दिने मामलामा पनि बैंकले उच्च तहमा पुगेका व्यक्तिका आफन्तलाई जागिर दिँदा पनि बैंकलाई थ्रेट हुने जाेखिम देखिएकाे छ । सनराईज बैंकमा यस्तै नयाँ नजिर स्थापित हुँदैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको छोरा तिलकराज खतिवडालाई दुई तह पदोन्नति गरेर नियुक्ति दिएकाे एक वर्ष पनि नबित्दै सनराईज बैंकले ठूलो थ्रेट महसुस गरेकाे छ ।

आइटी प्रमुख  तिलकराज खतिवडा र उनका पिता अर्थमन्त्री डा युवराज खतिवडाको प्रभावले सनराईज बैंकको संचालक समितिमा विभाजन आएको छ । एक साताअघि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग स्पष्टीकरण लिनेबारे सर्बसहमतिमा निर्णय गरेको बैंक सञ्चालक समिति उनको प्रष्टीकरण पत्र पढ्न नपाउँदै विवाजित भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले सोमबार कम्पनी सचिव इश्वर कुमार पाठकलाई स्पष्टीकरण बुझाएका छन् । उनले अध्यक्ष मोतिलाल दुगडलाई सोमबार नै जानकारी गराएका छन् ।

प्रमुख कार्यकारी अधिकृतले दिएको स्पष्टिकरणबारे छलफल गर्न मंगलबार सञ्चालक समितिको बैठक बस्ने समझदारी गत बिहीबार बसेको सञ्चालक समितिकाे बैठकमा भएको थियो । तर मंगलबार सञ्चालक समितिको बैठक बसेन ।

‘सिंहदरबारबाट फोन आएको छ । केही सञ्चालकहरु सीईओ माथिको कारवाही रोकौं भन्न थाल्नु भएको छ । मत विभाजित भएकोले होला, अध्यक्षले बैठक राख्नु भएन’ एक जना सञ्चालकले विकासन्युजलाई भने । अध्यक्ष मोतिलाल दुगडले सीईओको स्पष्टीकरण थन्क्याउने र पाैड्याललाई निरन्तरता दिने लाइनमा बोर्डको सदस्यहरुसँग छलफल शुरु गरेको उनले बताए ।

‘हाम्रो लगानी बैंकमा मात्र छैन । सिंहदरवारसँग टक्कर लिँदा आफ्ना अरू व्यवसायहरु जोगाउन पनि गाह्रो हुन्छ । सबैलाई डर छ नि’ उनले भने ।

‘बैंक सञ्चालक समितिले सर्बसहमतिका आधारमा सीईओसँग स्पष्टीकरण लिने निर्णय गरेको थियो । त्यस विषयलाई राष्ट्र बैंकमा पुर्याइयो । बोर्डको निर्णयप्रति राष्ट्र बैंकले सबै सञ्चालकलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको छ । अर्थमन्त्रालयबाट अध्यक्ष र सञ्चालकलाई फोन गराइएको छ’ उनले असन्तोष जनाउँदै भने- ‘म त बैंकको सञ्चालक पदबाट राजीनामा दिने मुडमा छु । बेक्कारको तनाव भयो ।’


छोराको जागिरका टिकाउनको लागि अर्थमन्त्री युवराज खतिवडाले शक्तिको दुरुपयोग गरेकाे बैंकका असन्तुष्ट सञ्चालकहरुको आरोप छ । ‘बैंकको प्रमुख कार्यकारीले गलत काम गरेपछि सञ्चालक समितिले सर्बसहमतिमा स्पष्टीकरण माग्दा राष्ट्र बैंकले हामीसँग स्पष्टीकरण लिने ?’ राष्ट्र बैंकको भूमिका प्रति पनि असन्तोष जनाउँदै उनले भने- ‘यी सबै अर्थमन्त्रीको आदेशमा भएका काम हुन् ।’

सञ्चालकका अनुसार जनक शर्मा पौड्यालले प्रमुख कार्यकारी अधिकृत पद छोड्दा अर्थमन्त्री खतिवडाको पुत्र तिलकराज खतिवडाको जागिर धरापमा पर्ने थियो । पौड्याल सीईओमा नियुक्त हुँदा तिलक तत्कालिन जनता बैंकमा असिस्टेन्ट म्यानेजर थिए । पौड्यालले तिलकलाई दुई तह बढुवा गरेर सनराईज बैंकमा भित्र्याएका थिए । हाल उनलाई आईटी डिपार्टमेन्ट हेडको जिम्मेवारी दिइएको छ ।

तिलकराज खतिवडाले पिताको शक्ति शो गरेर आफ्ना गतिविधि चलाउँने गरेको भन्दै उनको बारेमा सार्वजनिक रुपमै पटक पटक आलोचना हुँदै आएको छ । यसअघि उनी बस्ने सनसिटी अपार्टमेन्टकाे चुनावमा पिताकाे शक्ति शाे गरेकाे भन्दै उनी विवादमा परेकाे थिए । अहिले जागिर खाएकाे बैंककाे सञ्चालक समितिमाथि थ्रेट गरेकाे आराेप उनीमाथि लागेकाे छ ।

सम्बन्धित सामाग्री


सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’

राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.