सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’

  २०७७ साउन ११ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकका सञ्चालकहरुलाई बोलाएर बैंक संचालक समितिको अधिकार, जिम्मेवारी, काम, कर्तव्यबारे लामो पाठ पढाएको छ । सनराईज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच विवाद भएपछि राष्ट्र बैंकले आइतबार सञ्चालक समितिलाई छलफलमा बोलाएको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसहितको टोलीले बैंकका सातै जना सञ्चालकलाई राष्ट्र बैंक ऐनले केन्द्रीय बैंकलाई दिएको अधिकार, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई दिएको अधिकार र ताेकेका जिम्मेवारीका बारेमा समेत जानकारी गराएको छ ।

राष्ट्र बैंकले सनराइज बैंकका सञ्चालकसँग मर्जरकाे विषयमा  पनि साेधखाेज गरेकाे छ ।

बैठकमा बैंकका तर्फबाट सातै जना सञ्चालकहरूले आफ्ना विचारहरु राखेका छन् । स्रोतको अनुसार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच केही समझदारी रहेको तर ठूलो विवाद नभएको बताएका छन् । उनले सीईओको स्वभावजन्य कमजाेरीहरु पनि कार्यसम्पादनमा समस्या नभएको बताएका छन् ।

अन्य सञ्चालकहरुले सीइओ पौड्यालले बैंकका सञ्चालकको मानमर्दन हुने गरि गतिविधि गरेको, उद्योगी व्यापारी समूदायको भावनामा चोट पुग्ने खालको विचारहरु सञ्चार माध्ययमा व्यक्त गरेको, सञ्चालक समिति र व्यवस्थापन समूहबीच सहि सञ्चारमा चुकेको आरोप लगाएका छन् ।

छलफलमा एक जना सञ्चालकले सीईओ पौड्यालको तर्फबाट केही गल्ती भएको तर उनले गल्ती स्वीकार गरि गल्तीप्रति सम्बन्धित सञ्चालकहरुको घर घरमा गएर माफी मागेको कुरा पनि उठाएका थिए ।

सनराइज बैंकका एक सञ्चालकका अनुसार राष्ट्र बैंकका अधिकारीहरुले टेकओभर गर्न चेतावनी दिएका छन् । तर छलफलमा सहभागी राष्ट्र बैंकका अधिकारीले टेकओभर गर्ने कुरा नभएको बताए । ‘कस्तो कस्तो अवस्थामा राष्ट्र बैंकले टेकओभर गर्न सक्ने व्यवस्था छ भनेर हामीले जानकारी दिएका छौं । तर टेकओभर गर्ने चेतावनी दिएको भन्ने कुरा सत्य होइन’ ती अधिकारीले भने ।

‘आज हामीले उहाँहरुको कुरा सुन्यौं, बैंकमा राजनीति नगर्नु, निक्षेपको सुरक्षामा ध्यान दिनु भन्यौं । बैंकको स्थायीत्वमा ध्यान दिनु भन्यौं’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

सञ्चालक समितिले सीईओ पौड्यालसँग ६ बुँदे स्पष्टीकरण माग गरेको छ । त्यसको जवाफ दिने समय साउन १२ गते सोमबारसम्म छ ।

‘सोमबार सीईओको स्पष्टीकरण आउँछ । त्यसबारे मंगलबार सञ्चालक समितिमा छलफल हुन्छ । त्यसपछि निर्णय के हुन्छ, अहिले भन्न गाह्रो छ’- बैंकका एक सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने ।


राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.