राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

  २०७७ साउन १० गते ११:३८     विकासन्युज

 

काठमाडौं । सनराईज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच विवाद भएको छ । ५ महिना लामो विवाद उत्कर्षमा पुगेपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग राजीनामा मागेको छ ।

सञ्चालक समितिले सहमतिको आधारमा राजीनामा गर्न प्रमुख कार्यकारी अधिकृत पौड्याललाई सुझाव दिएको थियो । सञ्चालक समितिले सीईओ पौड्याललाई कार्यकाल पूरा हुनु अघि नै छोड्दा नियमअनुसार पाउने सुविधा लिएर राजीनामा गर्न भनेको थियो ।

तर पौड्यालले राजीनामा दिन अस्वीकार गरेपछि सञ्चालक समितिले उनीसँग ६ बुँदे स्पष्टिकरण सोधेको छ । ‘विहीबार स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण बुझाउन ५ दिनेको समय दिइएको छ । सोमबारसम्म स्पष्टीकरण पेस गर्नुपर्ने छ’ स्रोतले भन्यो ।

स्रोतका अनुसार सञ्चालक समितिको पूर्ण बैठकमा पौड्याललाई बोलाएर विवादका विषयमा छलफल भएको थियो । छलफलमा पौड्याल निकै आक्रामक ढंगले प्रस्तुत भएका थिए । त्यसपछि उनीलाई राजीनामा गर्न सबैले सुझाव दिए ।

तर पौड्यालले राजीनामा गर्न अस्वीकार गरे । उनले आफूलाई हटाउने निर्णय लिएमा नेपाल राष्ट्र बैंकको सहयोग लिने र अदालतसम्म जाने चुनौति दिए । त्यसपछि उनी सञ्चालक समितिको बैठकबाट बाहिरिए ।

पौड्यालले बाेर्डलाई चुनौति दिएपछि सञ्चालक समितिको बैठकले सर्वसहमतिमा प्रमुख कार्यकारी अधिकृतसँग प्रष्टीकरण लिने निर्णय लिएको स्राेतले बतायाे । ‘सञ्चालक समितिको निर्णयसहित अध्यक्ष मोतिलाल दुगडको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको छ । स्पष्टकरणको पत्र बुझ्न नमानेपछि विहीबार नै पौड्याललाई इमेल गरिएको छ । इमेल गरेको विषय पौड्यालको मोवाइलमा एसएमएस गरेर जानकारी दिइएको छ’ स्रोतले बतायो ।

‘सोमबारसम्म सीईओ पौड्यालले कि स्पष्टीकरण दिनुहुन्छ कि राजीनामा दिनुहुन्छ’ स्रोतले भन्यो ।

बाेर्डले साेधेकाे प्रष्टीकरणकाे सामना कसरी गर्ने भनेर शुक्रबार दिनभर पाैड्यालले आफ्ना सहयाेगिहरूसँग छलफल गरेका छन् । ‘शुक्रबार बैंकमा आउनु भएकाे थियाे । तर बैंकका नियमित बैठकहरूमा उहाँ सहभागि हुनु भएन’ स्राेतले भन्याे ।

प्रकियाको विषयमा सबै कुरा खुलस्त बताए पनि विवादको विषय भने स्रोतले खुलाउन चाहेन । ‘विवादका विषय धैरै छन्, मुख्य विषयहरु स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ’ स्रोतले भन्यो ।

‘कुरो मिलेन । उहाँले राजीनामा दिनु भयो भने राम्रो । राजीनामा दिनु भएन भने बर्खास्त गर्नुपूर्व सफाईकाे मौका त दिनुपर्यो नि’ स्रोतले भन्याे । पौड्याल एक वर्षअघि सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

बैंकहरुमा यस्तो विवाद भएपछि पीडित पक्ष नेपाल राष्ट्र बैंकमा गुहार माग्ने जाने प्रचलन छ । तर शुक्रबारसम्म यो विवाद राष्ट्र बैंकमा नपुगेको कार्यकारी निर्देशन देवकुमार ढकालले बताए । ‘विवादका विषय सुन्नमा आएको छ तर आधिकारिक रुपमा कुनै पनि पक्ष राष्ट्र बैंक आएको छैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.