लकडाउनकै बीचमा कर तिर्न राजस्वको ताकेता, विभाग भन्छः कर कार्यालय वा बैंकसम्म आउने व्यवस्था मिलाउँछौं

  २०७७ जेठ २० गते ११:५२     विकासन्युज

काठमाडौं । अन्तरिक राजस्व विभागले कर तिर्न आउन ताकेता गरेको छ । विभागले सार्वजनिक सुचना प्रकाशित गरी जेठ २५ गतेभित्रमा सबै प्रकारका कर तिर्न ताकेता गरेको हो ।

विभागले जेठ २५ गतेभित्रमा मूल्य अभिबृद्धि कर (भ्याट), अन्तशुल्क, आयकर तथा शिक्षा सेवा शुल्क तिर्न भनेको हो । सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि चैत मसान्तभित्रमा बुझाउनु पर्ने यस्ता करहरु जेठ २५ सम्म तिर्दा हुने व्यवस्था मिलाइएको जानकारी गराएको थियो ।

सरकारले जेठ २५ गतेभित्रमा कर तिर्दा हुने व्यवस्था मिलाएको र सोभन्दा पछि कर तिर्दा जरिवाना तथा हर्जाना लाग्ने भएकोले सोही अनुसारको सार्वजनिक सुचना प्रकाशित गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिए ।

‘सरकारले चैत मसान्तभित्रमा बुझाइसक्नुपर्ने र त्यसपछि पनि बुझाउनु पर्ने कर तिर्ने समय थप गरेर जेठ २५ गतेसम्म पुर्याउने निर्णय गरेको छ, त्यसपछिको लागि समय थप गरिएको छैन, त्यसैले सरकारको निर्णय अनुसार नै हामीले कर तथा कर विवरण बुझाउन सुचना प्रकाशित गरेका हौं,’ महानिर्देशक कुँवरले भने ।

सरकारले लकडाउनको म्याद बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ । लकडाउनको बीचमा सरकारले तोकेको ४४ प्रकारका उद्योग प्रतिष्ठान खुल्ने भनिएको छ भने अतिआवश्यक काम बाहेकमा सर्वसाधारणलाई निवासबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । सरकारले कर तिर्नको लागि हिडडुल गर्न पाउने निर्णय पनि गरेको छैन ।

‘कर तिर्ने भनेको नाफा भएको अवस्थामा हो, नाफा भएन भने सोही अनुसारको विवरण बुझाए हुन्छ, कर विवरण बुझाएर बस्नु भनेको आफ्नै व्यवसायको लागि पनि राम्रो कुरा भएकोले करदातालाई हामीले सोही अनुसारको सुचना प्रवाह गरेका हौं, लकडाउनको कारण कर तिर्नको लागि कर कार्यालय वा बैंकसम्म आउन समस्या भयो भने स्थानीय प्रशासनसँग हामी आवश्यक समन्वय गरेर सहजीकरण गरिदिन्छौं,’ लकडाउनको समयमा करदाताले कर कार्यालय वा बैंकमा कसरी गएर कर तिर्छन् त भन्ने प्रश्नमा महानिर्देशक कुँवरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.