जीवित भगवानहरू

  २०७७ जेठ १० गते १९:४५     आँचल तिवारी

सुरक्षित ठाउँहरु असुरक्षित भएका छन्
असुरक्षित ठाउँहरु सुरक्षित भएका छन्
रोवर्ट सरी दौडिरहने मान्छेहरु
दुलही सरी सिंगारिरहने सहरहरु
आजको दैनिकीमा परेका छैनन् ।

सपनाको सहरहरुमा
सपना देख्न छोडिएको छ
मान्छे, मान्छेको भेदभावका ग्रेटवालहरु
एक एक गरी क्षण भरमै ढलेका छन् ।
पैसाले सुख अनि सुखले खुसी
किन्न नसकेर निरीह भएको छ
जोडिएका सम्बन्धहरु तोडिएका छन्
तोडिएका सम्बन्धहरु जोडिएका छन् ।

विज्ञानका अनेकौं चमत्कारहरु
आज टुलुटुलु हेरिरहेका छन्
अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु
आज व्यर्थ व्यर्थ लाग्दै छन्
मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा
आज भगवानहरू एक्लै छन्
मान्छेहरुको स्वर सुनिएको छैन


लेखक

मान्छेलाई एकपटक थचक्कै थचारिदिएको छ
मान्छेको अहंमतालाई सिसा सरी
चकनाचुर पारिदिएको छ
अहंमताका कठोर महलहरु
तासको घर सरी ढलाइदिएको छ
मान्छेले, मान्छे मार्ने कला सिकेको रहेछ
मान्छेले, मान्छे बचाउने कला सिक्न बाँकी रहेछ ।
प्रकृतिको सानो अंश सिक्दैमा मान्छे रमाएको रहेछ
मान्छे मृगतृष्णा सरह टाढा टाढा भागिरहेको रहेछ ।

विज्ञानका अनेकौं चमत्कारहरु
आज टुलुटुलु हेरिरहेका छन्
अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु
आज व्यर्थ व्यर्थ लाग्दै छन्
मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा
आज भगवानहरू एक्लै छन्
मान्छेहरुको स्वर सुनिएको छैन
तर पनि मान्छेहरु यतिबेला
भगवानकै उपासना गरिरहेका छन्
भगवानकै साक्षात्कारमा रमाइरहेका छन् ।
मात्र फरक ठाउँमा अनि फरक परिवेशमा
निर्जीव भगवान होइन जीवित भगवानकाे ।

मान्छेको जीवनसंग नजोडिएको
विज्ञानको के काम ?
मान्छेको जीवनसंग नजोडिएको
अध्यात्मको के काम ?
विज्ञान र अध्यात्मको नयाँ अध्याय
खोज्नु पर्ने भएको छ
सफलताको इतिहास फरक रंगले
लेखिनु पर्ने भएको छ
छापामा नछाउने ती मान्छेहरु
प्रतिमामा नअटाउने ती मान्छेहरु
खोजी खोजी पुज्नु पर्ने भएको छ
मान्छेहरु होइनन्, भगवानहरू हुन् उनीहरु
जीवित भगवानहरू हुन् ।

मान्छेलाई मन मस्तिष्कमा अटाइन्छ
भगवानलाई, जीवित भगवानलाई
आस्था र विश्वासको धरोहरलाई
जीवन र मृत्युको साक्षी र पहरेदारलाई
सिधै मन मुटुमा सजाउनु पर्ने भएको छ
निर्जीव भगवानको खोजमा
अनवरत लम्किने पाइलाहरु
जीवित भगवानहरुका खातिर
रोकिनु पर्ने भएको छ
श्रद्धाका दुई शब्दहरु चढाउँदै
समर्पणका दुई हातले नमन गर्दै
हौसलाका शिखरहरु अनि
आत्मविश्वासका सगरमाथाहरु
उक्लन सहयोगी बन्नु परेको छ
विजयको झन्डा छिटो भन्दा छिटो
गाड्नु परेको छ
विजयको बिगुल छिटो भन्दा छिटो
फुक्नु परेको छ ।

 ख्वप इन्जिनियरिङ कलेज, भक्तपुर ।
aanchal2054@gmail.com