१० रुपैयाँ ७१ पैसाले घट्यो बैंकहरुको वितरणयोग्य प्रतिसेयर आम्दानी, कति भयो आरओई ?

  २०७७ जेठ ७ गते ११:३३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७६/०७७ को तेस्रो त्रैमासमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा  घटेको छ । संचालनमा रहेका सबै बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा २ रूपैयाँ ३७ पैसाले घटेकाे हाे ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण चालु आवकाे चैत मसान्तमा उनीहरुको बेसिक प्रतिसेयर आम्दानी २२.३४ रुपैयाँ छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी २४.७१ रुपैयाँ थियो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकांशको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर बढाउने बैंकमा सेञ्चुरी, एभरेष्ट, हिमालयन, मेगा र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् ।

प्रतिसेयर आम्दानीका हिसाबले सबैभन्दा अगाडि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । सर्वसाधारण सेयर जारी नगरेको यो बैंककाे प्रतिसेयर आम्दानी ४४.९६ रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.८५ रुपैयाँले घटी हो । अघिल्लो आवको चैत मसान्तमा बैंकको प्रतिसेयर आम्दानी ५१.८१ रुपैयाँ रहेको थियो ।

यस्तै, नबिल बैंक ४१ रुपैयाँ, एभरेष्ट बैंक ३७, एनआईसी एसिया बैंककाे ३४, हिमालयन बैंक ३२ र स्ट्यान्डर्ड चार्टर्ड बैंक ३० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । बाँकी अरु बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा तल छ । सबैभन्दा कम सिभिल बैंकको ६ रुपैयाँ रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरूकाे वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १०.७१ रुपैयाँले घटेको छ । गत आवको चैत मसान्तसम्ममा १६.५८ रुपैयाँ रहेको बैंकहरूको औषत वितरणयोग्य प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँमा सीमित भएकाे छ ।

जसमध्ये नबिल बैंकको सबैभन्दा बढी वितरणयोग्य प्रतिसेयर आम्दानी छ । नविल बैंकको चालु आवको चैत मसान्तसम्ममा २७.६७ रुपैयाँ वितरणयोग्य प्रतिसेयर आम्दानी रहेको छ । जुन गत आवको सोही अवधिमा ३४.३९ रुपैयाँ थियो ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकहरुको रिटर्न अन इक्विटी(आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । एक वर्षको अवधिमा बैंकहरुबाट लगानीकर्ताले पाउने प्रतिफल, आरओई घटेर १३.७६ रुपैयाँमा झरेको छ । जुन गत आवको सोही अवधिमा १५.६३ रुपैयाँ रहेको थियो ।

जसमध्ये एनआईसी एशिया बैंकको आरओई सबैभन्दा बढी अर्थात २३.९२ रुपैयाँ रहेको छ । सबैभन्दा घटी सिभिल बैंकको ५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.