स्वार्थको अन्त्य

  २०७७ जेठ ५ गते १३:५०     मदन घिमिरे

रोकिएको छ समय,
टक्क अडिएको छ विश्व ।
जसरी अडिन्छ चुम्बकमा टासिएपछि फलाम ।
जसरी रोकिन्छ सबथोक मासिएपछि हुरी ।

संसार जित्न हौसिएकाहरु
अहिले घर-घर भित्रै बसेका छन् ।
मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् ।

 

 

संसार जित्न हौसिएकाहरु
अहिले घर-घर भित्रै बसेका छन् ।
मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् ।


लेखक

 

जीवन बचाउन लागिपरेछन् केहिथान जीवनहरु ।
हर्के, सुन्तली र फुलमाया-
सिमानाबाट आफ्नो देश छिर्न विलाप गरिरहेछन् ।
दिनभर आफ्नै जीवन घोटेर
मुखमा माड पुर्याउने रामे, काँइलो र बसन्तीहरु – पैतालाले गन्तव्य नापिरहेछन् ।

समयले,
एउटा पाठ पढाइरहेछ,
चुनौतीले सधै लखेटिरहन्छ ।
जसरी बलियोले निर्धोलाई अचेटिरहन्छ ।

जसरी पिल्सिन्छ एउटा जिन्दगी-
परदेश हिड्नु अघिको रात,
आज त्यसरी नै पिल्सिएको छ जगत्,
त्यति सानो विषाणुको कारण-
यहाँ लाखौ जिन्दगीहरुको जिन्दगी गयो ।
सायद अब त मान्छेको स्वार्थको अन्त्य भयो ।

टिभीमा समाचार आइरहेको थियो,
तपाइँको असावधानीले कोरोना फैलन सक्छ,
कृपया सचेत हुनुस् ।
त्यसपछि एउटा ब्रान्डको साबुनले

आफ्नो विज्ञापन यसरी बजायो
तपाईको घरमा जुन साबुन छ, त्यसैले हात धुनुस् ।
हिजोसम्म त मेरो मात्रै सर्वश्रेष्ठ भन्थ्यौ,
त्यो अहमता कहाँ गयो ?
हो ! आज मान्छेको स्वार्थको अन्त्य भयो ।।

रुपा-६, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.